भर्खरै :

पाइपलाइन ओछ्याउन अझै सात किमि बाँकी

–वीरेन्द्र कर्ण
वीरगञ्ज, २५ चैत । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटर भित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा दुई किलोमिटर पाइप गाडने काम सम्पन्न भइसकेको छ ।
तीव्र गतिमा बाँकी काम भइरहेकाले सो काम चाँडै सकिएर जमीनमुनि पाइप गाड्ने काम सम्पन्न भएपछि भारतबाट पेट्रोल ल्याउने काम सुरु हुने परियोजनाका इन्जिनियर शरदकुमार पौडयालले बताउनुभयो । बढीमा तीन महिनाभित्र काम सम्पन्न भई भारत विहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
सो क्षेत्रमा ६ हजार ५६३ रुख काटने काम तीव्रगतिमा भइरहेको छ । गत माघ ३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार निकुञ्जभित्रका रुख काट्ने काम सुरु भएको छ । सो रुख काटेबापत नेपाल सरकारले निकुञ्जलाई रु. एक करोड ९५ लाख तिर्नुपर्ने छ ।
उता भारतको मोतिहारीदेखि रक्सौल नाकासम्म ३३ दशमलव ७ किलोमिटर भू–भागको काम सम्पन्न भइसकेको भारतीय आयल कर्पोरेशनले जनाएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणको लागि भारत सरकारले ३५० करोड भारतीय लगानी गरेको बताइएको छ ।
जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माईल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालनमा आएपछि भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *