भर्खरै :

असिना पानीले बालीमा क्षतिः कृषकहरू मर्कामा

भक्तपुर, २ वैशाख । चाँगुनारायण नपा वडा नं ९ साखकर्मी टोलका धनबहादुर साखकर्मीले तीन रोपनीमा लगाएको आलु खेतबाट अघिल्लो वर्षझैँ यो साल पनि कम्तीमा एक सय बोरा आलु उत्पादन हुनेमा ढुक्क हुनुहुन्थ्यो । १५–२० दिनमा उहाँ आलु उखेल्ने सोचमा हुनुहुन्थ्यो । तर, नयाँ वर्षको दिन दिउँसो परेको अविरल वर्षा र असिनाले उहाँको सपना नराम्ररी तुहाइदिएको छ । झण्डै साढे एक घण्टा एकनास दर्केर पानी र असिना पर्दा साखकर्मीको आलुबारीका आलीमा आलुका बोट सबै नष्ट भए । माटोमुनिका आलु आलीका माथिमाथि देखिए । खेत नजिकैको कुलोले थाम्न नसकिने गरी भेल बग्दा आलुबारी पूरै डुब्यो । साखकर्मीको र वरपरका सबै खेत माटोले पुरिए ।
“फसल लिन ठिक्क परेको समयमा यसरी खेती नष्ट हुँदा मुखमा परेको गाँस खोसिएजस्तो भएको छ ।”, साखकर्मीले भन्नुभयो ।
ऋण गरेर लगाएको बाली यसरी प्राकृतिक विपत्तिका कारण नष्ट हुँदा किसान निराश भएका छन् ।
“एक सय बोरा आलु फल्ने खेतमा अब पच्चीस बोरा पनि आलु लिन नपाइने भयो ।”, उहाँले दुखेसो पोख्नुभयो ।
धनबहादुर साखकर्मीको दुःखभन्दा कम छैन इन्द्र साखकर्मीको दुःख । उहाँले पनि चार रोपनी खेतमा गहुँ र आलु रोप्नुभएको थियो । न आलु खेत रह्यो न गहुँबारी नै ।
वैशाख १ गते दिउँसो २ः४५ देखि चाँगुनारायण नपाका ताथली, सुडाल र बागेश्वरी तथा सुर्यविनायक नपाको चितपोलमा भएको वर्षा र असिनाका कारण धेरै किसानहरूले लगाएका अन्नबाली र नगदेबाली नष्ट भएका छन् । विशेषतः खोला र कुलो नजिक लगाइएको आलु, ब्रोकाउली, बन्दा, गहुँ लगभग नष्ट भएको छ । उखेल्ने बेलामा आलुबारी पूरै पानीमा डुब्दा आलु कुहिने सम्भावना बढी हुन्छ ।
साखकर्मी टोलकै विनोद गिरी पनि आफ्नो आलुबारीमा सप्रेको आलुका बोट देख्दा खुसी हुनुहुन्थ्यो । तर, आइतबारको वर्षाले उहाँको बारी पनि पूर्णरूपमा नष्ट भएको छ । माटोमुनिको आलु बगाएर धेरै तलसम्म पु¥याएको थियो । सोमबार बिहान गिरी बचेका आलु जम्मा गर्नमा व्यस्त हुनुहुन्थ्यो ।
असिनाले चुटेर गहुँका बोट झुकेका थिए । पानी र असिनाले चुटिएका लसुन, जौका बोटको पनि बेहाल थियो ।
ताथली, सौडोलका जीतबहादुर थुयाजू सोमबार बिहानैदेखि आफ्ना छोरा मोहन थुयाजूको साथ लिएर जलमग्न आलु खेतमा आलुका दाना खोज्दै, बटुल्दै थिए । खोला खेतैखेत बगेपछि अन्य कृषि उत्पादन पनि नष्टप्रायः भएका छन् ।
इँटा मजदुरको कहर
लगातारको वर्षाका कारण इँटा उद्योगका मजदुरहरू पनि उत्तिकै समस्यामा परेका छन् । काभ्रे भकुण्डेबाट भक्तपुरमा इँटा पार्ने कामको लागि आएकी सम्झना तामाङले वर्षाको समस्याका कारण गएको माघ महिनादेखि नै राम्ररी काममा लाग्न नसकेको बताउनुभयो ।
२२–२३ वर्षदेखि इँटा पार्ने काम गर्दै आउनुभएकी उहाँँलगायत इँटा पार्ने मजदुरहरू अब घर फर्किने तयारी गर्दै हुनुहुन्छ । “अघि पछि वैशाखको अन्त्यसम्म इँटा पाथ्र्यो । यो वर्ष अब घर फर्किनुपर्ने भएको छ ।”, सम्झनाले भन्नुभयो ।
राम्ररी काम गर्दा वर्षमा साढे चार लाखदेखि पाँच लाखसम्म इँटा उत्पादन गर्ने गरेका मजदुरहरूले यो वर्ष वर्षाकै कारण त्यत्ति सङ्ख्यामा उत्पादन गर्नसकेका छैनन् ।
“पूरा समय काम गर्दा वर्षको एकदेखि डेढ लाखसम्म जोगाएर लाने गथ्र्यौं । तर यो वर्ष त खान–बस्न ठिक्कैमात्र भएको छ । बचत गर्न सकिएला जस्तो छैन ।”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *