भर्खरै :

अवसरवादी नेताहरु सिद्धान्तनिष्ठ हुँदैनन्

–गौरव प्रधान
कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनभित्र सुधारवादी र संशोधनवादीहरू देखापर्नु अस्वाभाविक होइन । साम्राज्यवादी र विस्तारवादीहरूको सहयोग र साथ बोकेर विकासको नाउँमा पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने कम्युनिस्ट भनिने दलहरू सङ्घर्ष गर्न नपर्ने हल्ला बाँड्छन् र क्रान्तिकारी मोडलाई अन्यत्र मोड्छन् । कम्युनिस्टको सिद्धान्त र विचारको धुरन्धर विरोध गर्ने ठूला शक्ति राष्ट्रको सहयोग र सदिच्छाभित्र क्रान्ति भड्काउने र क्रान्तिको पथमा हिंड्ने दलका नेता तथा मन्त्रीहरूको मन बिगार्ने नियत रहेको हुन्छ । साम्राज्यवादी अमेरिकाले नेपाल आफ्नो बसमा रहे या आफूले भनेझैं बसे आर्थिक सहयोग गर्ने वाचा गर्नुको अर्थ नेपालको कम्युनिस्ट पार्टीलाई बदनाम गराउनु हो, कम्युनिस्टप्रति भइरहेको सद्भावलाई छोडाउनु हो ।
साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरू समाजवादको निर्माण गरिरहेका केही मुलुकका घटनालाई लिएर ‘समाजवादको अन्त’ भयो भनी खोकिरहेका छन् । समाजवादी व्यवस्थाको विरोधमा हिलोछ्याप्नु उनीहरूको धर्म हो । समाजवाद विज्ञान भएको हुँदा वैज्ञानिक समाजवाद असफल हुँदैन । हो, संसारका केही मुलुकमा समाजवादको विरोध गर्ने र समाजवादलाई बदनाम गर्ने अवसरवादी नेताहरू देखिए । केही संशोधनवादी र अवसरवादी नेताहरूको विश्वासघातलाई नै समाजवाद अन्त भएको भन्नु सूर्यलाई औंलाले छेक्ने दुस्प्रयासमात्र हो । अवसरवादी नेताहरु सिद्धान्तनिष्ठ हुँदैनन् ।
पुँजीवादी समाजमा वर्गीय अन्तरविरोध र सामाजिक असमानताको खाडलको दुरी बढ्छ । पुँजीवादी नेताहरू सुधार गर्छन्, सर्वसाधारण जनतालाई भोकै मार्नुभन्दा जेनतेन जीवन निर्वाह गर्ने बाटो खन्छन् । पुँजीवादी व्यवस्थालाई निरन्तरता दिएर जनताको सेवा गरेको देखाउन सुधारात्मक कार्य गर्छन् । तर, ती नेताहरू बहुमत जनताको हितमा लाग्दैनन्, उनीहरुको हितमा ऐन, कानुन बनाउन अघि सर्दैनन् । अहिलेको नेकपाको सरकार यही गतिमा हिंडिरहेको छ ।
सामन्तवाद अन्त्य भए पनि सामन्तवादका पृष्ठपोषकहरू फेरि फेरि चलिरहन्छन्, क्रियाशील भइरहन्छन् । राजासमेत सहभागी भएको सरकार गठन गर्न र हिन्दू राज्य स्थापना गर्न राप्रपाका नेताहरू आन्दोलनमा लाग्नु यसको पछिल्लो उदाहरण हो । आफ्नो दल र सरकारको विरोधमा आउने भयले कम्युनिस्टको सरकार भनिने नेकपाले पुँजीपति वर्गलाई चिढाउन नहुने तर्क अघि सारेको छ, निजीकरणलाई प्राथमिकता दिएको छ । समाजवादी समाजमा आम जनतालाई विचारधारात्मक रुपले बदल्नुपर्ने कुरामा जोड दिइएको हुन्छ । आमूल परिवर्तनको निम्ति बाटो तयार गरिएको हुन्छ । तर, नेकपाको सरकार राजनीतिक र वैचारिकरूपमा जनतालाई सुसूचित पार्ने काममा लागेको देखिँदैन, कम्युनिस्टको विचार जनताको घर आँगनमा पु¥याउने काम गरेको देखिँदैन । विकासको मात्र ध्वाङ फुकेर कम्युनिस्टको सिद्धान्त र विचार प्रचार नगर्नुको अर्थ कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी कमजोर बनाउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *