भर्खरै :

अक्षरहरु

— रुपकेशरी उलक
कसै–कसैले यहाँ
अक्षरहरु पानीमा लेख्दा रहेछन्
पानीमा लेखिएको अक्षर
आफैँले नदेख्दा
लेख्नेहरू हावामै
त्यसको आकार खोज्दा रहेछन् ।
त्यसैले त तिनका इतिहासहरू
पानीमै विलाएका छन् ,
क्षणिक कोराइका हेराइहरू
व्यर्थैमा तिर्मिराएका छन् ।
हेर !
हामी पत्थरहरूमा कुँद्दैछौँ
हाम्रा अक्षरहरू,
हावामा भेटिन्न् हाम्रा अक्षरहरू
पानी जस्तै सललल्ल बग्दैनन्
हाम्रा अक्षरहरू ।
खोपाईका ध्वनित आवाजहरूसँगै
अमिट छन् हाम्रा इतिहासहरू ।
अराजक तरङ्गमा तरङ्गिएका
पानीका अक्षरहरू
भ्रान्तिका लहरहरू बोक्दा रहेछन्
सुन !
हाम्रो खोपाइको आवाज
हामी पत्थरहरू खोप्दैछौँ ।
कुँदेपछि नमेटिने गरी
धैर्य र सत्यताको इतिहास,
क्रान्तिको आधार ।
हामी पत्थरहरूमा कुँद्दैछौँ
क्रान्तिका अक्षरहरू,
उनीहरू पानीमा कोर्दैछन्
भ्रान्तिका अक्षरहरू ।
(आज कविता दिवसको अवसरमा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *