नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
–मेरिना शाक्य
नेकपाको सरकार पुँजीवादी बन्दोबस्तभित्रको सरकार भएको हुँदा सरकारले कुनै हालतमा भ्रष्टाचार अन्त्य गर्नसक्दैन, गर्दैन । भ्रष्टाचार, अनियमितता, घूस, ढिलासुस्ती र कालाबजारी पूर्णतः नियन्त्रण गर्नसके यो सरकारको ठूलो सफलता मान्नुपर्छ । नीति तथा कार्यक्रममा महिलामाथि हिंसा हुन नदिने प्रतिबद्धता छ । सरकारले महिलामाथि हुने हिंसा पनि अन्त्य गर्नसक्नेछैन । मन्त्रीहरू संसारमा रहेका सङ्घीय मुलुकहरूले भन्दा बढी विकास नेपाल सरकारले गरिरहेको दाबी गर्छन् । सरकारले एकातिर यो वर्षलाई विकासको वर्ष ठानेको छ, बजेट सार्वजनिक गरिएको छैन । तर, मन्त्रीहरू अहिल्यै सङ्घीय मुलुकमध्ये सबभन्दा बढी विकास भएको मुलुकको सूचीमा राखेर धाक लगाउँछन् । विकासको थालनी नहुँदै इतिहासकै सबभन्दा बढी विकास भएको या गरिएको भन्न मन्त्रीहरू पछि परेनन् ।
सार्वजनिक जग्गाको अतिक्रमण हटाउने सरकारको अर्को प्रतिबद्धता हो । भूमाफिया र मण्डलेहरूले सार्वजनिक जग्गा, पोखरी, सत्तल आदि हडपिरहेका छन् । सार्वजनिक जग्गा कब्जा गरेर व्यक्ति व्यक्तिलाई बिक्री गरेर अकुत सम्पति कुम्ल्याइरहेका छन् । भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेर नेपालीलाई उठिबास गरिरहेको छ । नेपाल–भारत सीमामा रहेको हजारौँ हेक्टर नेपाली भूमि भारतले हातमा लिइसकेको छ । तर सरकारको ध्यान गएको छैन । भारतले मिचेको नेपाली भूमि फिर्ता लिने आँट सरकारसँग छैन, भारत सरकारको मन फाट्ला र चित्त दुखाउला कि भन्ने चिन्ता नेपाल सरकारलाई छ । भारतीय शासकसामु बोल्ने हिम्मत नभएको सरकारले अतिक्रमण गरिएको सार्वजनिक जग्गा कसरी हटाउला ?
नेपाल साक्षर मुलुक बनेको छैन । दुई वर्षभित्र पूर्ण साक्षर बनाएर साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना छ । साक्षर मुलुक पनि नबनेको देशलाई प्रम ओलीलाई विद्वानहरूको देश बनाउने चतारो छ । साक्षर मुलुक त सन् २०१६ अर्थात् तीन वर्षअघि नै बन्नुपथ्र्यो । तर, साक्षर मुलुक बन्न अझै दुई वर्ष कुर्नुपर्छ, त्यो पनि पूरा हुन्छ कि हुँदैन ? शड्ढा गर्ने ठाउँ छ । नेपालजतिकै सानो देश प्रजग कोरिया बुद्धिजीवीहरूको देश बनाउने अभियानमा छ ।
विसं २०५७ मै देशमा कमैमा मुक्त घोषणा गरिएको थियो । कमैया मुक्त घोषणा भएको झण्डै २० वर्ष हुनलाग्यो । तर, अझै कमैया मुक्त घोषणा सफल भएको छैन । सरकारले चार वर्षभित्र कमैया, हरूवा चरुवालाई बसोबासको व्यवस्था गर्ने फुकेको छ । सबै नेपालीको घरमा बिजुली पु¥याउने कुरा पनि गफ नै हुनेछ । हाँसो–ठट्टा गरेर मजाक लिने प्रम ओलीले यस्तै यस्तै असम्भव सपना बाँडेर जनता ठग्दैछन्, नेकपाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्तालाई सन्तुष्ट पार्दैछन् । एकातिर सरकार समयभित्र गर्नै नसक्ने सपना बाँड्दैछ भने अर्कोतिर सेनेटरी प्याड निःशुल्क वितरण गर्नेजस्ता कुरा फलाकेर सबभन्दा बढी विकास नेपालमा हुनलागेको बखान गर्दैछ ।
Leave a Reply