“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडाँै, २४ वैशाख । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसिया अध्ययन केन्द्र (सिनास) ले अर्धवार्षिकरूपमा प्रकाशन गर्दै आएको अनुसन्धानमूलक अङ्ग्रेजी जर्नल ‘कन्ट्रिव्युसन टु नेपालिज स्टडिज’ गएको चार वर्षदेखि लगातार प्रकाशन हुन सकेको छैन । समाज विज्ञानका विभिन्न अनुसन्धानमूलक लेखक रचना समावेश गरी पञ्चायतकालदेखि प्रकाशन हुँदै आएको सो जर्नलको पछिल्लो भोल्युम–४२, नम्बर–१ सन् २०१५ जनवरीमा प्रकाशन भएको थियो । विभिन्न देशका विश्वविद्यालय, अध्येता र अनुसन्धान केन्द्रहरूमा पठाइने उक्त अङ्ग्रेजी जर्नल प्रकाशन बन्द भएसँगै विदेशी विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूसँग सिनासको सम्बन्ध पातलिँदै गएको छ ।
कुनै बेला नेपालकै प्राज्ञिक अनुसन्धानको नेतृत्वदायी मानिने सो जर्नलको प्रकाशन बन्द हुँदा समाज विज्ञानका विभिन्न विषयमा अनुसन्धान गरिरहेका नयाँ पुस्ताका अध्येताहरूले आफ्नो अनुसन्धानको निचोड संसारसमक्ष सम्प्रेषण गर्ने दबु गुमाएका छन् ।
विशेषतः २०६२ सालपछि प्राज्ञिक क्षेत्रमा हुन थालेको शासक दलीय भागबण्डाले यस्तो समस्या आएको सिनासमा विगत २८ वर्षदेखि सेवारत रामेश्वर बरालले बताउनुभयो । त्रिविभित्रका विभिन्न अनुसन्धान केन्द्रको भागबण्डा गरिँदा सिनास सधैँ काङ्गे्रसको भागमा पर्दैआएको छ । हालका निर्देशक मृगेन्द्रबहादुर कार्की नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ हुन् ।
त्रिभुवन विश्वविद्यालयले अनुसन्धान केन्द्रलाई प्राध्यापक र कर्मचारीका तलबबाहेक थप बजेट पठाउन बन्द भए पनि अनुसन्धानमूलक काममा कमी आएको र प्राज्ञिक जर्नल प्रकाशन बन्द भएको सिनास पदाधिकारीहरूको भनाइ छ । विसं २०२३ मा नेपाल अध्ययन संस्थानको नाममा स्थापना भएको यो अनुसन्धान केन्द्र २०३४ सालदेखि नेपाल तथा एसिया अध्ययन केन्द्रको नाममा अघि बढाइएको हो ।
केन्द्रको नाममा ३ सय ५० भन्दा बढी शीर्षकका अनुसन्धानमा आधारित पुस्तक प्रकाशित छन् । विगतमा नियमित जस्तो अनुसन्धानमूलक पुस्तक प्रकाशन गरिरहने यो संस्थाले पछिल्लो प्रकाशन २०७४ सालमा सह–प्राध्यापक डा. बद्रीनारायण गौतमले लेख्नुभएको ‘नेपाली काङ्ग्रेस र विमान अपहरण’ पुस्तक हो । त्यसअघि २०७३ सालमा डिल्लीराज शर्मा र टेकबहादुर श्रेष्ठले लेख्नुभएको अङ्ग्रेजी पुस्तक ‘साँखु–हिस्टोरिकल एन्ड कलचरल हेरिटेज’ प्रकाशन गरेको थियो ।
विगतमा सिनासमा नियमितजसो विभिन्न विषयमा अनुसन्धानमूलक गोष्ठी र कार्यशाला चलिरहेका हुन्थे । आजभोलि त्यस्ता गतिविधि लगभग ठप्प भएको बरालले बताउनुभयो ।
सरकार विभिन्न मन्त्रालयअन्तर्गत गरिने अनुसन्धानका परियोजनाहरू समेत निजी अनुसन्धान केन्द्रलाई दिइँदा त्रिविअन्तर्गतका यी निकाय भने सुकेको त्यहाँका प्राध्यापकहरू बताउनुहुन्छ । मन्त्रालयका सचिव र उच्च पदस्थ कर्मचारी नजिकका मानिसका अनुसन्धान केन्द्र र संस्थाहरूलाई अनुसन्धान कार्यको जिम्मा दिइँदा सिनास बेकाम बनेको उनीहरूको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका अन्य तीन अनुसन्धान केन्द्रहरू–सेडा, रिकास्ट र सेरिडभन्दा सक्रिय मानिने सिनासकै हालत यस्तो छ भने अन्य अनुसन्धान केन्द्रको दुरवस्था कस्तो होला, सहजै बुझ्न सकिने उनको भनाइ छ ।
सिनासमा हाल चार जना प्राध्यापक, ३ जना रिडर, ४ जना उपप्राध्यापक र १५ जना कर्मचारी कार्यरत छन् ।
Leave a Reply