भर्खरै :

सुधीर बस्नेतको बाँकी सम्पत्तिमा शासकहरूको आँखा

काठमाडौँ, २५ वैशाख । नेपाली ऊखान छ, चोरमाथि चकार । ओरियन्टल सहकारीलगायत अनेक परियोजनामार्फत् अर्बौं रूपियाँ उठाएर फिर्ता नगर्ने सुधीर बस्नेतको बाँकी सम्पत्तिमा शासक दलका नेता तथा कार्यकर्ताको आँखा परेको छ ।
अति महत्वाकाङ्क्षा बोकी कम उमेरमै अनेक व्यवसायमा हात हाल्ने बस्नेतको कारण कैयौं नेपालीको घरबार ध्वस्त भयो । रगतपसिना गरी जम्मा गरेको रकम फिर्ता नआएपछि चिन्ता र दुःखको कारण कतिको जीवनलीला समाप्त भयो । पीडितहरू आफ्नो रकम फिर्ता गर्न कहिले कता कहिले कता भौैँतारिरहेका छन् । उता सरकार, सरकारी मान्छे र सरकारी पार्टीका नेता तथा कार्यकर्ता पीडितको आँसु पुछ्नु त कता हो झगडा गरिरहेका बिरालाहरूको भाग लुट्ने बाँदरको जस्तो प्रवृत्ति देखाइरहेको छ ।
सुधीर बस्नेतकै कोहिनुर हिल हाउजिङ प्रालिका नाममा ललितपुर, इमाडोलको ४० रोपनी जग्गामा निर्माण भइरहेको भेगास सिटी अपार्टमेन्ट लिलाम बिक्री गर्न लगाई कौडीको भाउमा उठाउने शासक पार्टीका नेता तथा कार्यकर्ता लागिरहेका छन् । भेगास सिटी सिंहदरबारबाट ३ किमिको दूरीमा छ ।
विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भेगास सिटीका बुकिङकर्ताले पूरा रकम बुझाउन बाँकी रहेको, ४०–४५ लाखको हिसाबमा बुकिङ गरेको अपार्टमेन्ट अहिले एक–डेढ करोडसम्ममा बिक्री गर्न सकिने र यसले बुकिङकर्तालाई समेत अझै मर्का नपर्ने विश्लेषण गरी निर्माण पूरा गर्ने वातावरण बनाइदिएको थियो । त्यसका निम्ति समिति नै ग्यारेन्टी बसी बुकिङकर्ता र व्यवस्थापन पक्ष समेतले सम्झौता कागज गरिएको थियो । कार्की समितिको निर्णयअनुसार काम अगाडि बढे सहकारी पीडितलेसमेत आफ्नो रकम फिर्ता पाउने थिए ।
कार्की समिति पछि बनेको उच्च अदालतका पूर्वन्यायाधीश युवराज सुवेदी नेतृत्वको समितिले गत चैतमा भेगास सिटीको जग्गा लिलाम गर्ने सूचना जारी गरेपछि ओरियन्टल पीडितले विरोध गरे ।
सञ्चालकको सम्पत्ति लिलाम गरी समस्या समाधान नहुने, बरू हाउजिङ लगायतका प्रोजेक्टलाई पूर्णता दिएर नै ओरेन्टल सहकारीका निक्षेपकर्ताको लगानी, वित्तीय संस्थाहरूको ऋण र उपभोक्ताले अपार्टमेन्टका लागि बुझाएको रकम फिर्ता हुन सक्ने निष्कर्ष कार्की समितिको थियो । कार्की समितिले बस्नेतलाई नै बाँकी कामलाई पूर्णता दिनका लागि सहयोग गर्न निर्देशन दिएको थियो ।
उपभोक्ता समिति, ओरेन्टल सहकारी व्यवस्थापन र बस्नेत तीनै पक्ष बसेर परियोजनालाई पूर्णता दिने सहमति भएर काम समेत अघि बढिसकेको अवस्थामा भेगास सिटी लिलाम गर्न सुवेदी समिति अघि सरेको थियो । यसका पछाडि भेगास सिटी रहेको ४० रोपनी जग्गा कौडीको भाउमा बेच्न लगाई आफूले कब्जा गर्ने र त्यसमा भव्य अपार्टमेन्ट बनाएर अर्बौँ कमाउने निहित उद्देश्य बोकेको शासक दलका नेता तथा कार्यकर्ता पृष्ठभूमिमा सक्रिय रहेको प्रस्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *