भर्खरै :

विद्यालय, स्मारिका र सान्दर्भिक चर्चा

सीतु
एउटा विद्यालयले पूर्णता पाउन आवश्यक हुने विविध तत्व, सुविधा या विशेषताबारे बहस अथवा छलफल भएमा लामो सूची तयार हुने निश्चित छ । सूची जतिसुकै लामो भए पनि त्यसमा छुटाउन नहुने एउटा विशिष्ट गुण हो, विद्यालयको आफ्नै प्रकाशन । यसमा कमैको मात्र विमति होला । त्यसो भन्नाले स्मारिका, शैक्षिक तथा साहित्यिक प्रकाशन, रचनात्मक तथा जानकारीमूलक प्रकाशन आदि । जति फराकिलो र प्रभावकारी प्रतिभाको दबु निर्माण गरियो त्यति बढी हाम्रा नयाँ पिँढी लाभान्वित हुने, राम्रो हुर्काइ पाउने र सिकाइका साथै अभिव्यक्ति कला तथा क्षमता विकासको सम्भावना प्रबल हुने निर्विवाद छ ।
त्यसो त स्मारिका, मुखपत्र या कुनै प्रकाशनलाई शैक्षिक संस्थाको परिचय पुस्तकको रूपमा लिन सकिन्छ । यद्यपि निकै कममात्र विद्यालय, कलेजले यतातर्पm ध्यान पु¥याएको देखिन्छ । पुस्तक–पठन, सृजनात्मक लेखन र साहित्यसम्बन्धी अन्तरक्रियाको संस्कारमा सुस्तता छाइराखेको आजको सन्दर्भमा सुझबुझपूर्ण ढङ्गमा केही उपाय अपनाउँदै आवश्यक कदम चाल्नु हरेक संवेदनशील पक्षको जिम्मेवारी हो । ‘तयारी खाजा’ तर्फ आकर्षित भइरहेको र झिलिमिलीलाई नै वास्तविकता सम्झिइने यो ‘डिजिटल’ युगका पुस्तालाई गम्भीर विषय, साधनाको क्षेत्र र मानवीय तथा सामाजिक क्षेत्रमा आमन्त्रण गर्नु र आवश्यक भूमिका निर्वाह गर्न उत्साहित गर्नु शिक्षालय, घरपरिवार र समाजको आजको अभिभारा हो । निश्चय पनि यो सहज तथा कम चुनौतीपूर्ण छैन ।
भक्तपुरको लिबालीस्थित बाल विकास इङ्गलिस सेकेण्डरी स्कूलले स्थापनाको ३१ औँ वर्ष पूरा भएको उपलक्ष्यमा हालै स्मारिका प्रकाशन ग¥यो । सत्र वर्षमा बुलेटिन र स्मारिका गरी छत्तीस वटा प्रकाशन भइसकेको जानकारी स्मारिकामा उल्लेख गरिएको छ । सय पृष्ठको यस स्मारिकामा युगकवि सिद्धिचरण, अमेरिकी कवि लाङ्गस्टन हग्स, अमेरिकी लेखक एड्गर स्नोका कवितादेखि शिक्षक–विद्यार्थीका सत्र वटा कविता छन् । कविताहरूमा लेनिन, फिडेल क्याष्ट्रो, एड्गर स्नोले विश्वका फरक–फरक क्रान्तिमा उल्लेखनीय योगदान पु¥याई मानव सभ्यताको विकासलाई चुल्याएको बारे चर्चा गरिएको छ । नेपाली कविहरूमध्ये सिद्धिचरण श्रेष्ठलाई चिनाउने प्रयत्न गरिएको छ । ‘उर्वशी’ खण्डकाव्यको परिचयात्मक लेखले युगकवि श्रेष्ठको काव्यसाधना तथा विशिष्टतामाथि प्रकाश पारेको छ ।
‘अध्ययन र पुस्तकालयबारे केही कुरा’ र ‘प्रधानमन्त्री चाउ एन–लाइको सौहार्दपूर्ण व्यवहार’ यो स्मारिकाभित्रका बहुमूल्य रचना हुन् । पाठकहरूले यी दुई लेख पढिसकेपछि वरिष्ठ राजनीतिज्ञ एवं नेपाली वामपन्थी राजनीतिका अग्रणी व्यक्तित्व नारायणमान बिजुक्छेंसँग साक्षात्कार गर्ने अवसर पाउने छन् । उहाँको जीवनका केही घटना–परिघटनामात्र होइनन् उहाँका अनुभव तथा अनुभूतिको सानो अंश यी सङ्क्षिप्त लेखमा उतारिएको छ । हरेक पाठकको मनमा भावना उब्जिने पक्का छ – आहा ! उहाँको विस्तृत आत्मकथा पढ्न पाइए । धारावाहिक रुपमा जीवन सङ्घर्षका पत्र–पत्र केलाउने अवसर मिलेन !
क्रिश्चिनालिखित व्यक्तिचित्र ‘हाकुचा’ र संस्मरणात्क लेख ‘दिदीको दायरी’ ले हरेक पाठकको मनमा बेग्लै तरङ्ग ल्याउने छ । लेखनशैली, विषयवस्तु, अभिव्यक्तिको शिल्प, प्रवाह गरिएको सन्देशले क्रिश्चिना कुनै सिद्धहस्त लेखिकाको नाम हुनसक्ने अनुमान लगाउन करै लगाउँछ । लेखनमा अगाडि बढ्न चाहने हरेकलाई यी दुई रचनाले मार्गनिर्देश गर्ने विश्वास लिन सकिन्छ ।
हरिबहादुर श्रेष्ठको चिट्ठीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु, इतिहास, राजनीति, साहित्य, पत्रकारिता आदिबारे गहन छलफल गर्दै हृदयङ्गम गर्नैपर्ने खालका सन्देश दिएको अनुभूत हुन्छ । वरिष्ठ जनलेखक श्रेष्ठ आत्मविश्वासको उच्च तहमा पुगेर अभिव्यक्ति दिनुहुन्छ – “…. जल्दो चिराग खान आउने कीराफट्याङ्ग्राजस्तै पैसामा बिक्ने र भ्रष्ट पत्रकारहरू तिमीहरूको आस्थाको पत्रकारिताको अगाडि सबै भष्म हुनेछन् । एकदिन नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका पत्रकार र सम्पादकहरूको ‘दर्शन’ हुनेछ– नेपालको प्राज्ञिक क्षितिजमा ।” स्रष्टा श्रेष्ठको उत्साहको यो उभारले वास्तविकताको चुचुरो चुम्नेछ र उहाँको आशावादी चिन्तन नयाँ पुस्ताको निम्ति अभिप्रेरणाको पुञ्ज प्रमाणित हुनेमा कुनै आशङ्का छैन ।
स्मारिकाभित्रका पुस्तक चर्चा, नियात्रा, आत्मसंस्मरणात्मक रचनाहरू, कथाहरू पढ्दै जाँदा कुनै रोमाञ्चकारी उपन्यास, जीवनी या यात्रासाहित्य सङ्ग्रहका पृष्ठ पल्टाइरहेको अनुभूति हुन्छ । सुरेन्द्रराज गोसाईको चीन भ्रमणको यात्रा वर्णनभित्र डुबुल्की मार्दा पाठकलाई चीनका केही प्रान्तको आफै भ्रमण गरिरहेको अनुभव हुनेछ । वर्तमान चीनको सानो तर सुन्दर चित्र त्यस लेखमा पाइन्छ । सामाजिक सद्भाव, धार्मिक आस्थाको अभ्यास, अल्पसङ्ख्यक जातजाति तथा भाषाभाषीबीच आपसी मेल र यी सम्पूर्णको निम्ति राज्यद्वारा अवलम्बन गरिएको दूरदर्शी नीति तथा देखाइएको सम्मानजनक व्यवहारबारे लेखमा चर्चा गरिएको छ ।
चिनियाँ जनताका महान् नेता माओ त्सेतुङको केही प्रेरक प्रसङ्गले बालबालिकालाई उत्साह प्रदान गर्नेछ । शिष्टाचारसम्बन्धी केही जानकारीले विद्यार्थीहरूलाई सामाजिक व्यवहारबारे अवगत गराउनुका साथै जीवनोपयोगी सन्देश दिनेछ । दैनिक जीवनमा अपनाउनुपर्ने नियम, सदाचार, अनुशासनबारे प्रत्यक्ष–परोक्ष ज्ञान विद्यार्थीहरूलाई दिँदै जान सके सामाजिक विकृति–विसङ्गति केही हदसम्म भए पनि रोकथाम गर्न सकिनेछ । ‘माक्र्स र एँगेल्सका स्वीकारोक्तिहरू’ जानकारीमूलक हुनुका साथै प्रेरणादायी छ ।
विद्यालयका गतिविधिले उज्ज्वल भविष्यतर्फ सङ्केत गर्छ भने कलिला बालबालिकाका रचनाले आशा जगाउँछ । स्मारिकाको आकर्षक गाताले भित्री पृष्ठहरूमा प्रवेश गर्न सहृदय आमन्त्रण गरेको अनुभूत हुन्छ । समग्रमा नमुना स्मारिका हो भन्नु अतिरञ्जना हुनेछैन ।
अरु विद्यालयबाट पनि यस्तै स्मारिका, बुलेटिन या प्रकाशनको अपेक्षा हुनु स्वाभाविक हो । यो स्मारिकाको निम्ति बाल विकास विद्यालय परिवारप्रति हार्दिक आभार र अरु प्रकाशन निरन्तर जारी राखी भाषा, साहित्य र शिक्षा क्षेत्रलाई थप सौन्दर्यले सुशोभित पार्दै फराकिलो पार्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *