कवि हरिबहादुर श्रेष्ठ र उहाँका कविताहरू
- जेष्ठ ६, २०८३
राकस्था
तानाशाहहरू इतिहास लेखाउँछन्
अतिशयोक्तिका शिलापत्रहरूमा
जबरजस्ती पढार्इँदै छ
लुटेरालाई दानवीर
अत्याचारीलाई सुशासक
हत्यारालाई शान्तिदूत
भ्रष्टाचारीलाई सदाचारी
विभेदकारीलाई सम्यक
पथभ्रष्टलाई सज्जन ।
अब इतिहासको पुनःलेखन हुन्छ
क्रान्तिको सपनाको
सङ्घर्षमा बलेको आगोको
बगेको थोपाथोपा रगतको
सत्ताविरुद्ध बगेको
हरेक बुँद पसिनाको
विछोड र पीडाको
त्याग र समर्पणको
जेल–नेल र ठिङ्गुराको ।
तानाशाहहरू
इतिहासलाई मेट्न
क्रान्तिकारीहरूको हत्या गर्छन्
जिउँदै जलाउँछन्
झुण्डयाउँछन्
अपदस्थ गर्छन् सपनाहरू
हातखुट्टा काटिदिन्छन्
कीटाणु फाल्छन्
तर इतिहास कदापि मेटिन्न ।
इतिहास त वर्तमानसँग बाँच्छ
नपत्याए हेर
उसले खनेको त्यो फराकिलो सडकमा
उसले जग हालेको त्यो भव्य दरबारमा
उसले ठड्याएको त्यो विशाल चेतनागृहमा
उसले बनाएको फराकिलो डबलीमा
उसले पत्ता लगाएको अजस्र मूलमा ।
क्रान्तिकारीको इतिहास
जनताको हृदयमा लेखिएको हुन्छ
जनताको एक मुठी स्वासमा हुन्छ
परिवर्तनको प्रत्येक पलमा
क्रान्तिकारी इतिहास बाँच्छ
क्रान्तिकारीको मृत्यु कहिल्यै हुन्न
ऊ त उसका विचारसँगै बाँच्छ
उज्यालो पाएर खुलेका असङ्ख्य आँखासँगै बाँच्छ
लौरो पाएर हिँड्ने अपरिमित मानिसहरूसँगै बाँच्छ ।
क्रान्तिकारी आफ्नो कुनै सालिक खोज्दैन
कुनै पुरस्कार, राहत र चन्दा खोज्दैन
ऊ आफ्नो कर्मको झ्याली पिट्दैन
उसलाई कतै आफ्नो नामधरि लेखाउनु छैन
किनभने ऊ निःस्वार्थको सिद्धान्त बोक्छ
केही पाउने उनको कुनै चाहना छैन
क्रान्तिकारीमात्र दिन चाहन्छ
मात्र जनताको मुक्तिको इच्छा गर्छ ।
Leave a Reply