उँचो महल
- जेष्ठ १, २०८३
हृदय दाहाल, म्याग्दी
प्रिय राधा,
न्यानो सम्झना !
जब तिम्रो नाममा चिठी लेख्ने आँट बटुल्छु, मुटु धक्क फुल्छ । भित्र कतै एकैपटक अनेकौं हुन्डरी बढ्न थाल्छ । कोठाको झ्यालबाट तल जङ्गलतिर हेर्छु । मन शीतल हुन्छ । लालीगुराँस फुलेको छ, वन रातो छ । एँेसेलु फुलेका मात्र छन् । रातो जङ्गलले नयाँ आँट र उत्साह भर्छ, आफूलाई नयाँ समस्याको लागि तयार पार्छु । यहाँ आएदेखि तिमीलाई एउटी आमाको बारेमा बताउन खूब मन लागेको थियो । आज अवसर जुटाएको छु ।
हिदी गाउँमा एउटी आमा हुनुहुन्छ । उहाँको उमेर र शरीरको दाँजो पटक्कै मिल्दैन । उमेरले ५५ नाघिसक्नुभएको छ । तर उहाँको शारीरिक तन्दुरुस्ती देखेर म त चकित परेँ । थाहा छ, यी दुवै गुणभन्दा अझ श्रेष्ठ मानसिक अवस्थामा हुनुहुन्छ । उहाँको आवाजमा गजबको अडान र सत्यता छ । आँखा तेजिला र मन सफा छ । धेरै नबोल्ने उहाँको बानीले म मोहित भएँ । बोल्नुभन्दा पहिले हँसिलो मुस्कान र धिरता विशेष आनन्ददायक छ । गालामा मुज्जा परेको छाला, आँखा र कञ्चटको छालाले उहाँको गम्भीरता झल्काउँछ । निधारमाथि तीनवटा मुज्जा पर्छन् । फाट्टफुट्ट फुलेको कपालले बोलीमा बल थप्छ । कद आम महिलाको र व्यवहार एक शिक्षित गृहिणीको छ । नपढिकनै यति सजिलै कसैको मन झट्ट बुझ्ने बानीले साह्रै उत्साहित बनायो । समाजमा रहेका अन्य महिलाभन्दा विशेष देखिनुहुन्छ उहाँ । भावुक, कठोर, दयालु तर दृढ निश्चयी, साना आँखा तर परको दृष्टिपात, पातलो ओठ तर तीखो लवज यिनै हुन् उहाँका बाहिरी विशेषता । बिहानै उठ्नुहुन्छ, खाजा खाना पकाउने, छोराछारीलाई खुवाउने र स्कूल पठाउने, घाँसपात र घरका लामा पट्यारलाग्ने काममा निरन्तर जुध्नुहुन्छ । सामान्य लुगा पटुको, टिसर्ट, गुन्यु र ज्याकेट लगाउने उहाँ पछ्यौराले बरोबर बेरिनुहुन्छ । कहिलेकाहीँ अलिकति अम्मल पनि छ उहाँको । चाडपर्व र बेलुकी खानासँगै कहिलेकाहीँ साथी बनिदिन्छ उहाँको अम्मल । सायद वर्षौंदेखिको अनिद्रा, थकान, पीडा लुकाउन पनि होला उहाँले अलिकति रक्सी खाने गर्नुहुन्छ । हुन त जातीय परम्परा, भौगोलिक विकटता र चिसो मौसमी अवस्था पो कारण हो कि ? म यसै भन्न सक्दिनँ । तर, सत्य हो उहाँ पिउनुहुन्छ । यसले उहाँको व्यवहारमा अलिकति पनि असर गर्दैन । यस कुराको निचोड यही हो कि उहाँले रक्सीलाई जित्नुभएको छ ।
सोफी, एकदिन हामी खाना खाँदै थियौँ । दुई दिनदेखि बुबाले चुरोट खान पाउनुभएको थिएन । थालमा भात, तरकारी, दाल र मही पस्किएपछि हामीहरू चुरोटकै बारेमा कुरा गर्दै थियौँ । मैले बुबालाई चुरोटको मूल्य सोधेँ । एक प्याकेट चुरोटको मूल्य रु. १०० पुगेछ । बुबाले सामानको मूल्य बढेको बताउँदै २ रुपैयाँमा चुरोट किन्दाको क्षण सम्झनुभयो । हाम्रो कुरा अघिदेखि सुनिरहनुभएको आमाले झट्ट भन्नुभयो । “सङ्गीहरूले सामानको भाउ घट्छ भन्थे खै त ? तेल, नुन, चिनी, लुगा सस्तोमा पाइन्छ, देश काङ्ग्रेसीहरूले लुटेका हुन् अब हामीले ठीक बनाउछौँ भन्थे खै त ? यही जाबो पसलको त कर तिर्नुपर्छ । पैले ३ रुपैयाँ एक वर्षको कर तिरेको हो अहिले त हजार पाँच सय तिर्नुपर्छ । तिम्रै सङ्गीहरूले त हो सबैले गाउँमै रोजगारी पाउँछन् भनेका ।” बुबाले कुरा मोड्दै भन्नुभयो, “त्यो त माओवादीले भनेका ।” आमाले भातको गास निल्नुभयो । बुबातिर देब्रे हात हल्लाउँदै भन्नुभयो, “माओवादीले पैले गाउँमा सार्वजनिक खाना पकाउने ठाउँ खोल्छौँ भन्थे । रक्सी र चुरोट बन्द गर्छांै भन्थे । तास, चुरोट, रक्सी बन्द भए त म राम्रै मान्थेँ । सबैले काम गर्नुपर्छ भन्थे । कोही बस्न नपाइने सबैलाई खाने र कपडाको व्यवस्था हुन्छ भन्थे । अहिले एमाले र माओवादी एकै भएका छन् । खै त केही भएन । ऊ सुनिताको लोग्ने अस्पतालमै छ ।” आमाले एकै सासमा कुरा सक्नुभयो । बुबाले अहिलेको गठबन्धनलाई केही समय कुरौं नत्र यिनले पनि भोट नपाउने कुरा पोख्नुभयो । मेरो मनमा निकै तर्कना खेल्यो । बिहानीले दिनको सङ्केत दिन्छ भनेझैं केही यस्ता घटना याद आयो । जसले यो दुईतिहाइ सरकारले हामीलाई ठगेकै प्रमाण दिन्छ । मैले केही भन्नुभन्दा पहिल्यै आमा बोल्नुभयो । देखिनौ ५०० जनाको लाश आए रे यो वर्ष । विचरा कमाउँला भनेर विदेश गाका च च… बरा… १५०० जनाभन्दा धेरै बाहिर देशका जेलमा छन् रे । आमाले योभन्दा धेरै बोल्नुभएन । हाम्रो खाने कार्यक्रम चुपचाप चल्यो । खानाको सुरुप्प आवाज केही समय चलिरह्यो । हामी उठेर बस्यौँ । दिउँसो आमासँग देशमा भएका बलात्कार, हत्या, हिंसा, महँगी र यस्तै समसामयिक विषयमा कुरा चले । मैले आमालाई भनेँ, “आमा हजुरजत्तिकै सचेत र कुरा बुझ्ने थुप्रै आमाहरू भए त….।” आमाले कुरा बुझ्नुभो र थोरै हाँस्नुभो । उहाँको हाँसोमा समयको अन्तरालमा समाज बदल्न ज्यान होम्ने हरेक व्यक्तिको रातो मुस्कान देखापर्यो । आँखा उज्याला देखिए, ओठ खुम्चिए ।
प्यारी सोफी, जति धेरै म्यादी खोलामा पानी बगेको छ, त्यति धेरै विचार, पसिना र रगत यस क्षेत्रमा बगेको छ । जङ्गली अवस्थाबाट हुर्केर समाज सभ्य समाजमा परिवर्तन भयो । मातृसत्ताबाट बौरेर व्यवस्था पितृसत्तामा रूपान्तरण भयो । पहिले चोलोसम्म नलगाउने महिला अहिले राम्रा लुगा लगाउँछन् । सातै वर्षको उमेरमा विवाह बन्धनमा बाँधिने महिला अहिले कम्तीमा तरूण भई विवाह गर्छन् । महिलाको बाहिरी रूप, व्यवहार र परिचय बदलिएको छ । यस्तै अनुभव गर्छन् गाउँका महिला । तर, तिमी सोच्न पनि सक्दिनौ कि आमा महिलाको अवस्थाबारे के सोच्नुहुन्छ ? महिलाको उत्पीडन, अन्याय र अत्याचार, घरेलु दासताको जाँतोमा पिसिनु पर्ने कारण उहाँ महसुस गर्नुहुन्छ । उहाँले जबसम्म समाजका महिलाले आफैंले क्षमताअनुसारको जागिर गरी लोग्ने बराबरी बन्दैनन् तबसम्म लोग्नेको पिटाइ र सास्ती सहिरहनुपर्ने बताउँदा म दङ्ग परेको थिएँ । गाउँमा महिला सशक्तीकरण र महिला हिंसासम्बन्धी भएको एक कार्यक्रममा उहाँले आयोजकलाई महिलालाई काम सिकाएरमात्रै हुँदैन उनीहरूलाई काम गर्ने व्यवस्था पनि मिलाउन चुनौती दिनुभयो । महिलालाई उनीहरूको योग्यताअनुसार रोजगारीको बन्दोबस्त गरेपछि समाजबाट पारपाचुके र यस प्रक्रियामा महिलाले लिने गरेको क्षतिपूर्तिको आवश्यकता नपर्ने बताउनुभयो ।
साँच्चै सोफी, उहाँका गम्भीर विचार र तर्कलाई कसैले नकार्न सक्दैन । अब आउँदो नयाँ समाजमा महिला अधिकार, कर्तव्य र समाजमा महिलाको अवस्थाबारे गम्भीर भई सोच्नुपर्ने भएको छ । यो समाज कमजोर घरझैं दिनहुँ भत्किँदै छ । यिनै इँटा र ढुङ्गालाई सिपालु, अनुभवी हातले ठूलो पर्खाल लगाउने कार्यमा आमाको विचार कति उपयोगी होला, यस विचारमा धेरै दिनदेखि सोचिरहेकी छु । साँच्चै यिनै आमाका आँखामा म नयाँ सुन्दर संसारको आकृति देखिरहेको छु । पत्र लामो भयो बाँकी अर्को पत्रमा ।
तिमीलाई माया गर्ने
सुवास
Leave a Reply