भर्खरै :

निर्वाचनबाट समाजवादको सपना बाँड्नेहरु संशोधनवादी

भक्तपुर, ११ जेठ । “क्रान्तिकारी भूमिसुधारको लागि किसान आन्दोलन, समाजवादी गणतन्त्र प्रचारको निम्ति पाँचौँ सम्मेलन” भन्ने नाराका साथ शनिबार नेपाल क्रान्तिकारी किसान सङ्घको पाँचौँ भक्तपुर नगर सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
उक्त सम्मेलनको समुद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले चुनावले मजदुर र किसानको शासन नआउने बताउनुभयो ।
सङ्घर्ष नगरी निर्वाचनबाट समाजवादको सपना बाँड्ने नेताहरू संशोधनवादी हुने उल्लेख गर्दै सचिव सुवालले देश र जनताको सेवा गर्न सरकारले विदेशी दबाबमा उठबस र आत्मसमर्पण गर्न नपर्ने विचार व्यक्त गर्नुभयो ।
दर्शन, सिद्धान्त र विचारको आधारमा अघि बढ्ने दल नै ठूलो र जनताको दल हुने स्पष्ट पार्दै उहाँले पैसा खाएर, पैसा बाँडेर, भोजभतेर, छलकपट र गुण्डागर्दी गरेर जित्ने दल कम्युनिष्ट होइन देशद्रोही हुन्छ भन्नुभयो ।
विश्वासघाती, जनविरोधी, बदनामी, भ्रष्ट र कलङ्क लागेका व्यक्तिहरूलाई सांसद बनाउने दलले देशको सही नेतृत्व नगर्ने उल्लेख गर्दै उहाँले सांसद किनबेच गर्ने र चोर्ने दल कसरी कम्युनिष्ट हुन्छ भनी प्रश्न गर्नुभयो ।
जोताहालाई मोहियानी हक दिनुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेको सामानमा आफैले मूल्य राख्नुपर्छ, जग्गा आधा आधा गर्न किसानलाई सहुलियत ऋणको सुविधा दिनुपर्छ, पक्षपातपूर्ण जग्गाको हदबन्दी सुधार्नुपर्छ ।”
देश र जनताप्रति जिम्मेवार रहेर काम गर्नुपर्ने प्रधानमन्त्री केपी ओलीले आपराधिक नेता तथा कार्यकर्ताको गल्ति छोप्ने र झूटको खेती गरिरहेको प्रसङ्ग उल्लेख गर्दै सांसद सुवालले नेपाल भारतनिर्भर रहेसम्म देश विकास सम्भव छैन भन्नुभयो ।
जनताका आधारभूत आवश्यकताहरू आफ्नै देशमा उत्पादन नगरी विदेशबाट आयात हुने सामानमा मात्र कर लगाएर देश समृद्ध नहुने औँल्याउँदै उहाँले सरकारी नीति तथा कार्यक्रम किसान र मजदुरको पक्षमा छैन भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सृजना सैंजूले विगतको किसान सङ्घर्ष नयाँ पुस्ताको लागि ऊर्जाको स्रोत बनेको चर्चा गर्दै बलमिचाइलाई राजनीति ठान्ने नवशासकहरूको छलकपटको राजनीति नटिक्ने बताउनुभयो ।
भूमाफिया र विचौलियाहरूको चलखेल बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले मूल्य बढाउने विचौलिया र सामान लुकाउने कालाबजारीहरूतर्फ सचेत हुनुपर्छ भन्नुभयो ।
सरकारको अदूरदर्शी नीतिका कारण साँचो किसानहरू जग्गाविहीन भइरहेको उल्लेख गर्दै सांसद सैंजूले कृषिप्रधान देशमा रासायनिक मल कारखाना नखोली किसानहरूलाई बेवास्ता गरिरहेको बताउनुभयो ।
किसान सफाया गर्ने सरकारी नीतिविरूद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “अग्रज किसानहरूको मार्ग निर्देशले नयाँ पुस्ताले कामदार जनताको पक्षमा सङ्घर्ष गरिरहने ऊर्जा पाएको छ ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले किसान सङ्घर्षकै कारण किसानहरूको मोहियानी हक सुरक्षित भएको उल्लेख गर्दै शोषण नहुने समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्ष गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भ्रष्टाचारविरूद्ध कानुनी र गैरकानुनी सङ्घर्ष गरेको स्मरण गर्दै उपाध्यक्ष दुवालले सङ्घर्षले नै किसानहरूको जीवनस्तर उठेको बताउनुभयो ।
नेक्राकिसङ्घ मोहियानी हक सुरक्षा गर्नमात्र होइन संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको आन्दोलनमा पनि सरिक भएको उल्लेख गर्दै उहाँले नेमकिपा गरिब वर्गको मुक्तिको निम्ति सङ्घर्षरत छ भन्नुभयो ।
आयोजक समितिका संयोजक गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा नेमकिपा भनसका प्रतिनिधि उपेन्द्र सुवाल, नेक्रामहिला सङ्घ भक्तपुर नगर समितिका प्रतिनिधि मञ्जु लाखा र आयोजक समितिका सहसंयोजक पृथ्वीकुमार प्रजापतिले पनि बोल्नुभएको थियो ।
यसअघि सूर्यमढीबाट सुरू भएको जुलुस नगर परिक्रमा गरी नासमनामा सभामा परिणत भएको थियो । सूर्यमढीमा सम्मेलन तयारी समितिका सदस्य राम प्रजापतिले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *