भर्खरै :

खण्डहर तातोपानी नाका गुलजार बन्दै

तातोपानी (सिन्धुपाल्चोक), ११ जेठ । विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरूदण्डका रूपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका जेठ १७ गतेदेखि सञ्चालनमा आउँदैछ ।
नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भन्नुभयो, “हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ ।” भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्र यतिखेर क्रमशः गुलजार बन्दै गएका छन् । भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन् ।
भोटेकोशी गाउँपालिकाका स्थानीयवासी मिङ्मा शेर्पा भन्नुहुन्छ, “नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो ।”
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले स्थानीय सरकारका तर्फबाट नाका व्यवस्थित गर्न सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यागमन विभागका महानिर्देशक इश्वरीराज पौडेलले भूकम्पपछि करीब बन्द अवस्थामा रहेको अध्यागमन कार्यालय स्थापना भइसकेको जानकारी दिनुभयो । उहाँले कार्यालयलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको बताउनुभयो ।
भन्सार विभागका निर्देशक शिव भण्डारीले भन्सार कार्यालयलाई सञ्चालनमा ल्याउन प्राविधिक तयारी भइरहेको र नाका खुल्नु अगावै सञ्चालनमा ल्याइने बताउनुभयो । भूकम्पका कारण तातोपानीमा रहेका सम्पूर्ण संरचनामा क्षति पुगेपछि नाका बन्द रहेको थियो । नाकामा आवश्यक सबै संचरना निर्माण भइसकेका छन् । अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षा निकायका कार्यालय खडा भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *