भर्खरै :

भक्तपुर साकोसको अन्तरक्रिया

भक्तपुर, ११ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले शनिबार ‘आर्थिक र सामाजिक क्षेत्रमा सहकारीको भूमिका’ बारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
भक्तपुर बचत सम्बद्ध व्यवसायीहरू लक्षित उक्त कार्यक्रमको उद्घाटन गर्दै नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले व्यवसाय सफल भए पनि व्यक्तिगत स्वार्थमा लागेर समाज या समुदायको बेवास्ता गर्दा आपत्मा समस्या निम्तिने सङ्केत गर्दै समाजसँगै अघि बढ्दा अझ राम्रो, बढी फल पाउने र इज्जत र प्रतिष्ठा बढ्ने विचार व्यक्त गर्नुभयो ।
आम्दानीको एक अंश सामाजिक सेवा र विकासमा पनि ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै सांसद गोसाईले हामी समाजप्रति जिम्मेवार बन्नुपर्छ, आफ्नो दायित्व पूरा गर्नुपर्छ भन्नुभयो ।
समाजमा मार्ग निर्देशमा अगुवाहरूको महत्वपूर्ण योगदान हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “राजनीतिक चेतना र सांस्कृतिकस्तर उठाउन संस्थाले बरोबर अन्तरक्रिया, बहस, भेला गरिरहनुपर्छ ।”
सत्तारुढ ठूला दलका नेताहरूले आदिवासी जनतालाई उठिवास गरेर जातीय र सांस्कृतिक संहार गर्ने षड्यन्त्र बुनिरहेको उल्लेख गर्दै उहाँले प्रदेशको नामकरण भाषाभाषी र जातजातिको आधारमा गर्न नहुने बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले संस्थाले आर्थिक कारोबारबाहेक सदस्य र समाजको उत्तरदायित्वबोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै संस्थाले रोजगारी सिर्जना गरेर जीवनस्तर उठाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
व्यक्तिवादी सोच र चिन्तन छोडेर समाज सेवामा थप ऊर्जा दिने कार्य गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले आर्थिक र सामाजिक परिवर्तन गर्न संस्था सवल हुनुपर्छ भन्नुभयो ।
संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले सहकारीको आर्थिक संरचना समाजवादउन्मुख संरचना रहेको उल्लेख गर्दै सहकारी आन्दोलन सामाजिक उन्नतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आर्थिक क्रियाकलाप गर्ने निकाय हो भन्नुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो अन्तरक्रियामा संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले संस्थाको वित्तीय विवरण, प्रबन्धक जगन्नाथ प्रजापतिले संस्थाको प्रगति प्रतिवेदन र सचिव लक्ष्मीप्रसाद कुसीले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
संस्थाको आगामी तीनवर्षीय योजनाको तयारी र संस्थाबाट ऋण लिएर व्यवसाय चलाइरहेका सदस्यहरूकेन्द्रित सो अन्तरक्रियामा धनकुमार श्रेष्ठ, रत्नप्रसाद प्रजापति, श्यामकृष्ण प्रजापति, सत्यनारायण प्रजापति र विष्णुकुमार प्रजापतिले विभिन्न सुझावहरू दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *