भर्खरै :

शिल्पीमा ‘आँधीको मनोरम नृत्य’

काठमाडौँ, १० जेठ । किशोर मनोविज्ञानलाई झल्काउने नाटक राजधानीको शिल्पी थिएटरको गोठाले नाटकघरमा प्रदर्शन भइरहेको छ । उपभोक्तावादले हुर्काइरहेको स्वार्थी समाज र त्यसले किशोर–किशोरीलाई पारिरहेको नकारात्मक प्रभावको विषयमा आधारित नाटक ‘आँधीको मनोरम नृत्य’ को परिकल्पना र निर्देशन घिमिरे युवराज र अमजद प्रवेजले गर्नुभएको छ । आरोहण थिएटरले गुरुकुलमा मञ्चन गरेको चर्चित नाटक ‘ताराबजी लै लै’ को झल्को दिने नाटकमा सहरिया मध्यमवर्गीय परिवारले सामना गरिरहेका समस्या र ¥हास हुँदै गएको सामाजिक मूल्यलाई देखाउन खोजिएको छ ।
हुलाकको एक जना साधारण कर्मचारीको परिवारलाई केन्द्रमा राखी परिवारकी छोरीले किशोरावस्थामा भोगेकी एक्लोपना, यौनहिंसा, अपरिपक्व वियोगपूर्ण प्रेमकथा नाटकमा मञ्चन गरिएको छ । नाटक मूल कथावस्तुबाट अन्य अनेक विषयमा विषयान्तर भए पनि विषयान्तरमा आएका सन्दर्भले पनि दर्शकलाई उपयुक्त सन्देश दिएको देखिन्छ । नेपालको कर्मचारीतन्त्र, निजी विद्यालयभित्रका विकृति, मध्यमवर्गीय परिवारका समस्या, किशोर किशोरीले भोगिरहेका विकृति आदि सहायक विषयमा पनि नाटक प्रवेश गरेको छ ।
अधिकांश नवोदित कलाकारले नाटकमा अभिनय गरेका छन् । एक जना बालकको नर्सरीदेखि किशोरावस्थासम्मको हुर्काइलाई नाटकमा चित्रण गरिएको छ । वैशाख २१ देखि मञ्चन सुरु गरिएको नाटक जेठ १३ गतेसम्म प्रदर्शनमा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *