भर्खरै :

भारतीय लोकसभाः झण्डै आधा सांसदको आपराधिक विगत

नयाँ दिल्ली, १३ जेठ । भारतमा हालै सम्पन्न सत्रौं लोकसभा निर्वाचनमा निर्वाचित कुल ५३९ जना सांसदमध्ये झण्डै आधा (४४ प्रतिशत) को आपराधिक पृष्ठभूमि भएको सार्वजनिक भएको छ । २३३ जना निर्वाचित सांसदहरूले आफूविरुद्ध सन् २००९ यता कुनै न कुनै आपराधिक मुद्दा लागेको स्वीकारेका छन् ।
केरालाको इडुकी निर्वाचन क्षेत्रबाट निर्वाचित लोकसभा सदस्य डीन कुरियाकोसेले आपूmविरुद्ध २०४ वटा अपराध मुद्दा भएको बताएका छन् । उनीहरूविरुद्ध हत्या, लुटपात, डकैती र धम्की दिएको आदि अपराधका मुद्दा लागेका छन् । उनी भारतीय राष्ट्रिय काङ्ग्रेसको तर्फबाट चुनाव लडेका थिए ।
यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा निर्वाचित ५४२ जना सांसदमध्ये १८५ जना अर्थात् ३४ प्रतिशतमाथि अपराधको मुद्दा थियो भने त्यसअघि सन् २००९ को निर्वाचनमा निर्वाचित ५४३ जना सांसदमध्ये ३० प्रतिशत अर्थात् १६२ जनाविरुद्ध अपराध मुद्दा थियो ।
यो पटक भने अपराध मुद्दा खेपेका वा खेपिरहेका सांसदहरू झण्डै पचास प्रतिशत पुगेको छ । तीमध्ये २९ प्रतिशत अर्थात् १५९ जना सांसदहरू गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको पाइएको छ । गम्भीर प्रकृतिको अपराध भन्नाले बलात्कार, हत्या, हत्याप्रयास, अपहरण, महिलाविरुद्ध अपराध आदि पर्दछन् ।
सन् २०१४ को लोकसभामा यस्ता गम्भीर प्रकारका अपराध गर्ने सांसदको सङ्ख्या ११२ जना अर्थात २१ प्रतिशत थियो । सन् २००९ मा यो प्रतिशत १४ (७६ जना) थियो ।
गम्भीर अपराधमा संलग्न रहेको स्वीकार्ने सांसदको प्रतिशत सन् २००९ को तुलनामा यो पटक १०९ प्रतिशतले बढेको छ ।
एघार जना नवनिर्वाचित सांसदहरू आफूले हत्यासँग सम्बन्धी मुद्दा (भारतको फौजदारी कानुन धारा ३०२) अन्तर्गत सजाय भोगेको स्वीकारेका छन् । ३० जनाले सोही कानुनको धारा ३०७ अन्तर्गत सजाय भोगेका बताएका छन् ।
झण्डै २९ जनाले गाली बेइज्जतीको मुद्दा खेपेको बताएका छन् । भारतको संसदमा प्रतिनिधित्व गर्ने दलमध्ये सबभन्दा बढी सत्तासीन नेसनल डेमोक्रेटिक एलाइन्स (एनडीए) सम्बद्ध जनता दल युनाइटेडका सांसदहरूको आपराधिक विगत भएको देखिएको छ ।
जनता दल युनाइटेडबाट निर्वाचित १६ जना सांसदमध्ये १३ जनाको आपराधिक विगत भएको देखिएको छ । सत्ताको नेतृत्व गरेको भारतीय जनता पार्टीका निर्वाचित कूल ३०१ सांसदमध्ये ११६ जनामाथि अपराध मुद्दा लागेको तथ्याङ्कले देखाएको छ । भारतीय राष्ट्रिय काङ्गे्रसबाट निर्वाचित कुल ५१ जना सांसदमध्ये ३७ प्रतिशत अर्थात् १९ जना अपराधमा संलग्न रहेको देखाएको छ ।
नेसनल इलेक्सन वाच र डेमोक्रेटिक रिफर्म नामका संस्थाहरूले गरेको अध्ययनको आधारमा सो नतिजा सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *