भर्खरै :

समाजमा अन्धविश्वास बढ्नुमा अन्धविश्वासी नेताहरू दोषी

– सुरजसिंह
एक्काइसौं शताब्दीको युग भनिएपनि, विज्ञान र प्रविधिको युग भनिएपनि नेपाली समाज आज पनि अन्धविश्वास र त्यसमा आधारित विसङ्गतिहरूबाट मुक्त हुन सकेको छैन । त्यसैले त यहाँ बोक्सी र डायनका नाममा गरिब र निरीह महिलाहरूलाई यातना दिइन र मलमुत्र खुवाउन छोडिएको छैन । स्वर्गमा राम्रो जीवन र सुखसुविधा प्राप्त हुने अन्धविश्वास देखाई बाहुन पुरोहितले मृत्युसंस्कारका क्रममासमेत सोझासिधा मानिसहरूसित लुटिरहेका छन् ।
धनुषा जिल्लाको मिथिलानगरमा धामीझाँक्रीका काममा दखल बढाइ शक्तिशाली हुने अन्धविश्वासमा परी शत्रुघन महतोले देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको नृशंस हत्या गरेको खुलेको छ । महतोले गत वैशाख २३ गते बेलुका ५ बजे मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाइ राखी भोलिपल्ट वैशाख २४ गते बिहान चमेनिया माई भन्ने देवताका नाममा नर बलिका रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको प्रहरीसितको बयानमा स्विकारेका थिए ।
नरबलीजस्तो जघन्य अपराध हुनुमा अन्धविश्वासमा जकडिएको समाज आफै पनि जिम्मेवार छ । समाजका अन्धविश्वास अन्त हुन नसक्नु र अझ बढ्दै जानुमा राजनीतिक दलका नेताहरू र समाजकै नेतृत्वमा रहेकाहरू दोषी छन् । हाम्रो देशका नेकां, नेकपा, राप्रपा, राजपालगायत शासक दलका नेताहरू आफै ढोंगी बाबाहरूको शरणमा जाने र सत्ता प्राप्तिको भैंसी पूजा गर्ने र सत्ता आरोहणपछि कालो बोका बली चढाउनेजस्तो अन्धविश्वासी क्रियाकलाप गर्छन् । विज्ञान र वैज्ञानिक दृष्टिकोणलाई प्रश्रय दिनुपर्ने राजनीतिक र सामाजिक नेतृत्व आफै आध्यात्मिक उन्नयनका नाममा अवैज्ञानिक दृष्टिकोण र अन्धविश्वासको प्रचारप्रसारका सहायक बनिदिँदा समाजमा अन्धविश्वासको कुहिरो फैलाएरै लुट्न पल्केकाहरूलाई बल मिलिरहेको छ । नेतृत्वलाई आदर्श मान्ने सर्वसाधारण जनता अन्धविश्वासबाट मुक्त हुन र विज्ञान र वैज्ञानिक दृष्टिकोणप्रति अग्रसर हुन प्रेरित हुन सकेनन् । विज्ञान र प्रविधिको देनस्वरूप सम्भव भएको रेडियो र टेलिभिजनका पर्दामासमेत पहिलो प्रशारण नै धार्मिक कार्यक्रम र वास्तुशास्त्रको नाममा अन्धविश्वासको बाढी नै आइरहनु विडम्वनाबाहेक केही होइन । मानिसलाई अनुशासित बनाउन धर्म, धार्मिक विश्वास या अन्धविश्वास आवश्यक छैन । मानव जाति र श्रृष्टिका सारा प्राणीको हित गर्नुपर्छ भन्ने मानवतावादी विचार मात्र नै पर्याप्त छ । तर यसतर्फ देशका ‘अग्रगामी र क्रान्तिकारी’ नेतृत्वको ध्यान पुग्न नसकेको देख्दा अचम्म लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *