कमल कुमार अधिकारी

शनिबारको दिन भएकोले स–साना केटाकेटीहरू आँगनको चौरमा रमाउँदै मोजामा कागज भरेर भकुण्डो खेलिरहेका थिए । उनीहरूको मनोविज्ञान हेर्दा लाग्छ, उनीहरूले स्वर्ग त्यहीं चौरमै पाइरहेका छन् । मलाई पनि याद आयो मेरो बाल्यकालका ती दिनहरू । शनिबारको विदामा साथीहरूसँग खेल्नुको मज्जा नै बेग्लै । बिहानको खाना खाएर ब्रस गर्दै गर्दा माथि छतबाट ती बच्चाहरू रमाउँदै खेलिरहेको त्यो दृश्यले मलाई मेरो बाल्यकालमा कति बेला पु¥याएछ, पत्तै भएन । उनीहरूलाई हेरिरहन मनलाग्यो । फेरि सोचेँ, ‘अतीतलाई सम्झेर के काम ! अब त भविष्य नियाल्नुपर्छ । यत्तिकैमा मुख कुल्ला गरेर कोठामा गएँ । घरका अरु सदस्यले खाना खाइसकेका थिएनन् । सबै भान्सामा खाना खाँदै थिए । म एकछिन कोठाभित्र पढ्छु भनेर किताब लिएँ । एक्कासी हावा चलेजस्तो अनुभव भयो । बत्ती आएर फ्यान चलेजस्तो लाग्यो । तर, माथि सिलिङमा हेर्छु, त्यहाँ फ्यान नै थिएन । कताबाट फ्यानले हावा चलाओस्!
भक्तपुरमा धेरै गर्मी नहुने भएकोले कोठामा फ्यान राख्दा रहेनछ । एक्कासी मन चिसो भयो । मुटुको धड्कन बढ्न थाल्यो । लाग्यो, शरीर मस्तिष्कको नियन्त्रणमा थिएन । एक्कासी चराको आवाज जताततैबाट सुनियो । यहाँका पुराना घर र वरिपरि रहेका इँटाभट्टाहरू ढलेर जताततै धुलै धुलो भयो । त्यसपछि घरको चौथो तलामा बसिरहेको म आँखा चिम्लेर बाहिर दगुरेँ । म बस्ने घरअगाडि ठूलो चौर थियो । त्यो चौरमा पुग्ने टोलभरिकै म दोस्रो व्यक्ति नै थिएँ । घरको भुइँतलामा पुगिसकेपछि म यसरी दगुरँे, मानौं अब म्याराथन जित्न थोरै दुरीमात्र बाँकी छ । त्यसपछि घरबाट मानिसहरू कराउँदै बाहिर निस्कन थाले ।
३ कक्षामा पढ्ने एक भाइ टीभी हेरिरहेको रहेछ । एक्कासी भूकम्प आयो । भूकम्पको कम्पनले घर हल्लिँदा कोठामा भएको दराज पनि हल्लियो । दराज हल्लिँदा माथि भएका सामानहरू खसे । त्यो भाइ दराजबाट सामान खसालेको भन्दै आफूलाई गाली गर्छन् भनी सामान उठाएर दराजमा राख्न थालेछ । कति निर्दोष बच्चा! आफ्नो ज्यान जोखिममा राखेर आफूले नगरेको गल्ती सुधार्दै छ । घरबाट सबै बाहिर निस्किसकेपछि उसको आमाले “बाबु खोई ?” भनी सोध्नुभयो । यताउति हेर्दा कतै थिएन । त्यसपछि उहाँ हत्तपत्त कोठामा जानुभयो । बच्चा त भुइँमा खसेको सामान टिप्दै रहेछ । उसलाई यतिमात्र थाहा थियो– मैले गल्ती गरेको छु र यो गल्ती सुधार्नुपर्छ ।
त्यसपछि उसको आमाले काखमा च्यापेर बाहिर ल्याउनुभयो । घर अगाडिको चौर भर्खरै जोतिएको थियो । भूकम्पको डरले चप्पल खोज्न को लाग्थ्यो ! खाली खुट्टा नै माटाका डल्लामाथि दगुरेर खुला चौरमा पुग्यौँ । त्यसरी खाली खुट्टा दर्गुदा खुट्टाको मुनि काटिएर रगत बगिरहेको थियो । तर, पनि दुखाइको महसुस भएन । शरीरमा भएका प्रत्येक कोष कोष र तन्तु तन्तुहरूको सातो भूकम्पले लगिसकेको थियो । मेरो काटिएको खुट्टाको क्भलकयचथ अभििक सँग दिमागले ‘म अर्कै काममा व्यस्त छु’ भनी सम्झौता गरेको थियो कि! सबैको स्थिति दर्दनाक थियो । आफ्ना घरका सदस्यहरू बाहिर मेरो छोरा, मेरो भाइ, मेरी बहिनी, मेरो श्रीमान इत्यादि भनेर रोई–कराई गरिरहेका थिए । आफू त सकुशल छु तर मेरा अरु परिवारका सदस्यहरूलाई केही भइहाल्यो कि भनेर चिन्तित थिए सबै । यसरी सन्तानहरूको चिन्तामा रुनेहरूको बीचमा करिब करिब ३५–४० वर्षको आमातर्फ मेरो ध्यान गयो । उहाँको एउटा छोरा रहेछ–कक्षा ७ मा पढ्ने । शनिबार पनि विद्यालयमा परियोजना कार्यको लागि ऊ विद्यालय गएको रहेछ । आमा ‘मेरो छोरा मेरो बाबु’ भनेर रोई कराई गरिराख्नुभएको थियो । सायद मेरो आमाको उमेर पनि त्यति नै भएर होला, उहाँप्रति मेरो ध्यान गएको । मैले मनमनै सहानुभूति जनाइरहेको थिएँ । उहाँको अनुहारमा मैले आफ्नी आमा देखिरहेको थिएँ । उहाँमा आमाको सन्तानप्रतिको मातृभाव प्रस्टै झल्किरहेको थियो । पाँच मिनेट जति आमालाई हेरिरहेँ । मेरी आमालाई सम्झँे । म कालीकोटबाट काठमाडौँ आउने बेला छुट्टिन लाग्दा उहाँले खसालेका आँसु सम्झँे । कसलाई रहर हुन्छ र आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई आफूबाट छुटाएर सहर पठाउने । तैपनि माया र ममतालाई पाखा लगाएर छोराको भविष्य उज्यालो पार्न बिरानो सहरमा पठाउनुभएको थियो, आमाले । आमाले जुन ठाउँमा पठाउनुभयो, त्यहीँ ठाउँमा भूकम्प गयो भन्ने थाहा पाएपछि आमालाई कस्तो भयो होला ?
आमालाई फोन गरेर ‘म ठीक छु’ भन्न मन लाग्यो । जसरी मान्छेलाई शीतल भइसकेपछि पङ्खाको स्वीच बन्द गर्दा पङ्खाको गति क्रमशः कम हुँदै रोकिन्छ । प्रकृतिले पनि भूकम्पको स्वीच अफ गरिदियो र भूकम्पका पराकम्पनहरू बिस्तारै कम हुँदै रोकियो । मेरो छेउमै एउटा दाइ उभिरहनुभएको थियो । मैले भनँे, “दाइ एकछिन तपाईँको मोबाइल दिनुस् न ।” दाइले केही प्रश्न नै नगरी मलाई मोबाइल दिनुभयो । लाग्छ, उहाँले मेरो अनुहारको भाव बुझ्नुभयो । हत्तपत्त मोबाइल खोलेँ र नम्बर डायल गरेँ । मोबाइलमा नेटवर्क नै रहेनछ । भूकम्प गएको बेला नेटवर्कले नै काम गर्न छोडेछ सबैको मोबाइलहरूमा । मलाई उकुसमुकुस भइहाल्यो । बुढापाकाहरूले रेडियो पनि बोकेका थिए । रेडियो बजाउन थाले । विभिन्न ठाउँका मानिसहरूसँग टेलिफोन सम्पर्कबाट रेडियोले भूकम्पबाट ग्रसित क्षेत्रहरूको बारेमा सूचना दिइरहेको थियो । म भने मोबाइलको नेटवर्क कुरिरहेको थिएँ । करिब आधा घण्टापछि बल्ल नेटवर्क आयो । मैले फोन गरिहालेँ ।
“हेलो ममी, दर्शन”, मैले भनेँ ।
“बाबु सञ्चै छस् नि ?”
भाग्यमानी पनि नभनेर सीधै मेरो अवस्था सोध्नुभयो । उहाँको स्वरबाटै प्रस्ट हुन्थ्यो कि उहाँ कति चिन्तित र आत्तिनुभएको थियो ।
“तँ अब त्यहाँ नबस् बाबु, बरु फर्किहाल गाऊँ । ज्यान रहे त बरु नपढे पनि पछि हात पाउ चलाएर मजदुरी गरेर खाउँला । ज्यान नै नरहे त अरु बाँकी के रह्यो र ?” कति स्नेह थियो मप्रति आमाको । कति चासो थियो त्यो वर्तमान । सायद यही नै होला संसारभरिका आमाहरूले आफ्ना सन्तानहरूप्रति देखाउने मातृत्व । कालीकोटबाट पनि बारम्बार फोन लगाउने प्रयास गरिराख्नुभएको रहेछ । तर, लागिरहेको रहेनछ । यस्तैयस्तै अनेकौँ सुझावहरू दिएर फोन राख्नुभयो । बल्ल मन शान्त भयो । काठमाडौँ पढ्न होइन घरले च्यापिएर मर्न आएको हुँ कि जस्तो भयो । भूकम्पका साना पराकम्पनहरू विभिन्न समय अन्तरालमा गइरहेका थिए । दिनभरि चौरमै उभिएर दिन बित्यो । राति पाल हाल्यो । टोलभरिका सबै त्यही पालभित्रै सुत्यौं । भोलिपल्ट बिहानै भक्तपुरको दरबार स्क्वायरतिर गएँ । हिजो टाउको ठाडो पारेर हेर्दा गजुर देखिने मन्दिरहरूमा आज केबल खुला आकाशमात्र देखिएको थियो । परेवाहरूले बसेर चारो खाने मन्दिरको आँगनमा आज त्यही मन्दिरको भग्नावशेषमात्र थियो । लाग्छ, पौराणिक कलाकारहरूले कलाकारितामा पोखेको सारा मिहिनेतको आयु समाप्त भएको छ । मठ मन्दिरहरू भुइँमा माटोसँग मिसिएका छन् । सबै भताभुङ्ग अवस्था देखिसकेपछि मैले सहानुभूति जनाउनबाहेक अरु के नै गर्नसक्थेँ र ?
दिन बित्दै गए । भूकम्पका साना पराकम्पनहरू आइरहेकोले मुटुको ढुकढुकी अलिकति पनि शान्त थिएन । समय बित्दै जाँदा दिनहरू सामान्य हुँदै थिए । बन्द भएका विद्यालयहरू खुल्ने थाले । आकाशे छानो भएको खुला चौरजस्तो प्राकृतिक घरबाट मानिसहरू आफ्नो घरमा बसाइ सार्न थालेका थिए । मैले पनि गाउँ नफर्कने निर्णय गरिसकेको थिएँ ।
दुर्भाग्यवश वैशाख २९ गते फेरि अर्को भूकम्प आयो । पहिलाको जस्तै सामान्य भइसकेको जनजीवनमा २९ गतेको भूकम्पको झट्काले झन् नुनचुक छर्ने काम गरिदियो । मानिसहरूको घरभित्र बस्ने साहस नै हरायो । यसो सम्झेँ, विद्यालयमा केही गल्ती गरेपछि गुरुले पिट्नुहुन्थ्यो र जानुहुन्थ्यो । रिस नमरेपछि फेरिफेरि फर्केर आएर पिट्नुहुन्थ्यो । १२ गतेको विनाशले मात्र मानिसहरूले प्रकृतिप्रति गरेका कुव्यवहारप्रतिको रिस मरेको रहेनछ । त्यसैले भूकम्प बारम्बार आएर मानिसहरूको जनधनको क्षति पु¥याएर सजाय दिइराखेको छ । मैले पनि आश मारिसकेको थिएँ । जेठ लाग्न २ दिनमात्र बाँकी थियो । गाउँ गएर त्यही पढ्न मन लागिरहेको थियो । लाग्छ, आमाको स्नेहले मलाई बोलाउँदै छ ।
बेलुकापख फोन गरेर ‘म अब फर्किन्छु’ भनँे । ‘मैले त अस्ति नै फर्क भनेको हैन !’ भनेर जवाफ दिनुभयो । कतिखेर थानकोट कट्ला भइसकेको थियो । बेलुका ४ बजेको बस चढेँ र आफ्नै गाउँ फर्किएँ ।
“तँ त काठमाडौँ गएर काठमाडौँ नै हल्लाएर आइस्” भनेर सबैले हाँसोमजाक गर्नथाले । यसोभन्दा टाउको हल्लाएर फिसिक्क हाँस्नेबाहेक अरु के काम बाँकी रह्यो र ! फेरि पुरानै विद्यालयमा भर्ना भएँ र पुरानै गाउँले जीवन सुरु भयो ।