भर्खरै :

हेमिङ्ग्वेको छायाँमा ला मोट्टे

सिन्थिया वाचतेल
सामान्यतः अमेरिकी साहित्यकार अर्नेस्ट हेमिङ्ग्वेको नाम सबैले सुनेका छन् । इलेन एन ला मोट्टेको नाम सुनेका र उनीबारे जानकारी भएका मानिस भेटाउन भने मुस्किल पर्छ । तर, ला मोट्टेबारे जानकारी राख्न पनि उत्तिकै जरुरी छ ।
इलेन एन ला मोट्टे पहिलो विश्वयुद्धमा सहभागी त्यस्ती विलक्षण नर्स थिइन् जसले हेमिङ्ग्वेभन्दा पहिला हेमिङ्ग्वेको शैलीमा लेखेकी थिइन् । हेमिङ्ग्वेले पहिलो विश्वयुद्धबारे सरल, गम्भीर र प्रस्ट गद्य शैलीमा लेखेका थिए । उनको लेखनशैली ज्यादै लोकप्रिय बन्यो । हेमिङ्ग्वेले सुरुआत गर्नु धेरै समयअघि नै ला मोट्टेले त्यो शैलीले लेख्न थालेकी थिइन् ।
सन् १९२९ मा हेमिङ्ग्वेको ‘अ फेरवेल टु आम्र्स’ उपन्यास प्रकाशित भयो । हेमिङ्ग्वेले त्यो उपन्यास लेख्नुभन्दा धेरै अघि, अझ उनले विद्यालय जीवन पूरा गरेर इटालीमा स्वयम्सेवी एम्बुलेन्स चालकको रूपमा जानुअघि नै ला मोट्टेको कथा सङ्ग्रह ‘द ब्याकवास अफ वार’ प्रकाशित भइसकेको थियो ।
‘द ब्याकवास अफ वार’ कृति सन् १९१६ को शरद ऋतुमा प्रकाशित भएको थियो । पहिलो विश्वयुद्ध तेस्रो वर्षमा मचामच चलिरहेको थियो । ला मोट्टेसँग पश्चिम मोर्चाको एउटा फ्रान्सेली युद्धक्षेत्रको अस्पतालमा काम गरेको अनुभव थियो । त्यही अनुभवलाई उनले आफ्नो कथा सङ्ग्रहमा अभिव्यक्ति दिएकी थिइन् ।
“युद्धको भव्यता, साहसिक र महानताबारे लेख्ने कलम धेरै छन् । तर, मैले तपाईंको लागि त्यही लेख्नुपर्छ जे मैले आफ्नै आँखाले देखेकी थिएँ । अर्थात युद्धको अर्को पाटो, युद्धको दुष्प्रभावबारे मैले लेखेकी छु”,ला मोट्टेले भनेकी थिइन् ।
युद्ध चालु थियो । त्यस्तो अवस्थामा युद्धको आलोचना गरिएको कृति भएकोले ‘द व्याकवास अफ वार’ कथा सङ्ग्रहलाई तत्काल बेलायत र फ्रान्समा प्रतिबन्ध लगाइयो ।
प्रकाशन भएको दुई वर्षमै कथासङ्ग्रह धेरै पटक पुनःमुद्रण गरियो । त्यत्तिबेला कामदार जनताको हितमा समर्पित मासिक पत्रिका ‘द मासेस’ को जनवरी सन् १९१७ अङ्कमा ला मोट्टेको सो कृतिलाई ‘अमर’ कृतिको संज्ञा दिइयो । अमेरिकामा सो कथासङ्ग्रह महान युद्ध साहित्यमा दरियो । तर, अमेरिका स्वयम् युद्धमा होमिएपछि भने युद्ध लड्ने हौसला कम गरेको भन्दै त्यसमाथि सेन्सर लागू गरियो ।
त्यसपछिको झण्डै एक शताब्दीसम्म ‘द व्याकवास अफ वार’ विस्मृतिको थुप्रोमा पुरियो । हराइसकेको यो ऐतिहासिक कृतिको हालै मैले पुनः सम्पादन गरँे र विस्तारित आकारमा प्रकाशित भएको छ । नयाँ विस्तारित संस्करणमा समावेश ला मोट्टेको पहिलो जीवनीले उनीप्रति चासो बढ्ने अपेक्षा गर्न सकिन्छ ।
नायक होइन, आतङ्क
‘द ब्याकवास अफ वार’ कथा सङ्ग्रहलाई आफ्नो समयमा खतरनाक कृति मानियो । सन् १९१८ को जुलाईमा एकजना पाठकले सकारात्मक भावमा त्यो कृतिबारे यस्तो लेखेका थिए, “मेरो पुस्तकका आलमारीको एउटा कुनामा अलग छुट्याइएका केही पुस्तक छन् । त्यो कुनालाई म ‘टीएनटी (विस्फोटक) पुस्तकालय’ भन्ने गर्छ । अहिलेसम्म त्यो विस्फोटक पुस्तकालयमा पाँचवटामात्र पुस्तक छन् । तिनीहरूमध्ये ‘द व्याकवास अफ वार’ एउटैमात्र महिलाले लेखेको पुस्तक हो । अनि अमेरिकीले लेखेको पुस्तक त्यही एउटामात्र हो ।”
अधिकांश युगमा भएका युद्धकालमा मानिसले स्वेच्छाले आफ्नो विचारको लागि लडे र प्राण त्यागे । ती पात्रहरू बहादुर थिए र उनीहरूले लडेको लडाइँलाई गौरवपूर्ण तरिकाले व्याख्या गरियो ।
तर, ला मोट्टेका कथाहरू केही फरक छन् । पहिलो विश्वयुद्धका नायकहरूको चर्चा गर्नुभन्दा उनले युद्धको आतङ्कबारे बढी व्याख्या गरेकी छिन् । ‘द ब्यासवास अफ वार’ मा चित्रण गरिएका घाइते सिपाहीं र नागरिकमा व्याप्त मृत्युप्रतिको भय र जीवनप्रतिको मोहबारे उनले वर्णन गरेकी छिन् ।
युद्ध क्षेत्रका अस्पतालका बेडमा भरिभराउ ती घाइते सिपाहींहरू निकै थाकेका र दयनीय अवस्थामा थिए । कथामा एकजना सिपाहीं घाउ पाकेर बिस्तारै मरिरहेको थियो । अर्को सिपाही सिफिलिस नामको यौनरोगबाट थलिएको थियो । एकजना बिरामी मृत्यु नजिकिएको बोधसँगै सँुकसुँक रोइरहेको चित्रण गरिएको छ । एकजना दस वर्षको बेल्जिमेली केटोको पेटमुनि जर्मन गोलीको छर्रा पसेको छ । पीडाको असह्य अवस्थामा उनी आफ्नी आमा पुकारिरहेका छन् ।
ला मोट्टेको शब्दमा युद्ध घिनलाग्दो, अरुचीकर र संवदेनाहीन हुन्छ ।
कथा सङ्ग्रहको पहिलो कथाको सुरुआतमै त्यसमा निहित विचार यसरी अभिव्यक्त गरिएको छः “जब उसले त्यो अवस्था थप सहन सकेन, आफ्नो मुखको टालुमा उसले रिभोल्भर चलायो । तर, त्यसपछि पनि उसले झन्झटबाट मुक्ति पाएन ।” त्यो सिपाहींलाई ‘धिकार्दै र गाली गर्दै’ युद्ध क्षेत्रको अस्पतालमा लगियो । शल्यक्रिया गरेर उसको ज्यान जोगाइयो । तर, उसलाई जोगाउनुको एउटै कारण आत्महत्याको प्रयास गरेको अभियोगमा कोर्ट मार्सल गर्नु थियो । उसलाई ज्यान सजाय दिन एउटा गोली हान्ने टुकडीलाई जिम्मा लगाइयो ।
‘द ब्याकवास अफ वार’ को प्रकाशनपश्चात पाठकहरूले युद्ध र युद्धको आतङ्कबारे लेख्ने ला मोट्टेको नयाँ शक्तिशाली शैलीबारे जानकारी पाए । ‘न्यु योर्क टाइम्स’ ले इलेनका कथा ‘निकै धारिला साना वाक्यमा’ कथिएको भनी टिप्पणी लेख्यो । त्यसअघि चलेका कुनै पनि ‘स्थापित शैली’ उनको शैलीसँग तुलनायोग्य नभएको बरु ‘युद्धबारे प्रस्ट र बलियो भाव’ अभिव्यक्त गरिएको न्यु योर्क टाइम्सको टिप्पणीमा लेखिएको थियो ।
‘द डेट्रोइट जर्नल’ले ला मोट्टेको शैलीलाई ‘उन्मत्त पशुको वास्तविकता चित्रण गर्ने पहिलो लेखिका’ भनी टिप्पणी गरेको थियो । ‘द लस एन्जेलस टाइम्स’ले लेखेको थियो, “यस्तो कुरा यसअघि कहिल्यै पनि लेखिएको थिएन । युद्ध क्षेत्रको यो पहिलो यथार्थ चित्रण हो…ला मोट्टेले फ्रान्समा भएको युद्धको मात्र व्याख्या गरेकी छैनन्, बरु सिङ्गो युद्धकै व्याख्या गरेकी छिन् ।”
ला मोट्टे र गेरट्रुड स्टेन
तत्कालीन विख्यात नवीन प्रयोगधर्मी लेखिका गेरट्रुड स्टेनसँगै ला मोट्टेले आजभोलि हामीले हेमिङ्ग्वेको लेखनशैली भन्ने गरेको सरल, ‘पौरुष्य’ (डेभिड डोलिङको ‘लिटरेरी पार्टनरसीप एन्ड द मार्केट प्लेस’ मा लेखिएका अनुसार) गद्य शैलीमा प्रभाव पारेका थिए ।
ला मोट्टे र गेरट्रुड दुवैजना अर्धवैस्य अमेरिकी महिला, लेखिका र समलिङ्गी थिए । पहिलो विश्वयुद्धको आरम्भताका नै उनीहरू एकआपसमा साथी थिए । उनीहरूको मित्रता युद्धको पहिलो शिशिर याममा झाङ्गिएको थियो । त्यत्तिबेला उनीहरू दुवैजना पेरिसमा थिए ।
उनीहरू दुवैजनाका आ–आफ्नै जीवनसाथीहरू थिए । तथापि गेरट्रुड ला मोट्टेसँग गहिरो प्रेममा परेकी थिइन् । उनले सन् १९१५ को सुरुमा ला मोट्टेको नाममा एउटा सानो उपन्यासिका लेखेकी थिइन् । त्यो उपन्यासिकाको नाम थियो–हाउ कुड डे म्यारी हर ?’ त्यसमा उनले युद्धमा नर्स बनेर जाने ला मोट्टेको चाहनाबारे पटक–पटक दोहो¥याएर लेखेकी छिन् । ला मोट्टे नर्स बनेर सर्विया जान चाहेको कुरा पनि लेखेकी छिन् । उनले आफ्नो मनोभाव यसरी पोखेकी छिन्, “उनलाई देखेर उन्माद त्यसै बहकिन पुग्छ ।”
गेरट्रुडले आफ्ना प्रिय मित्रको पुस्तक पढेकोमा कुनै सन्देह छैन । गेरट्रुडको ‘द ब्याकवास अफ वार’ को प्रति यल विश्वविद्यालयको संग्रहालयमा अहिले सुरक्षित छ ।
युद्धबारे हेमिङ्ग्वे लेखनशैली
अर्नेस्ट हेमिङ्ग्वेले युद्धको समाप्तिपछि मात्र गेरट्रुडलाई भेटेका थिए । ला मोट्टेजस्तै हेमिङ्ग्वे पनि युद्धमोर्चामा होमिएका थिए ।
सन् १९१८ मा हेमिङ्ग्वेले स्वयम्सेवी एम्बुलेन्स चालकको रूपमा काम गरे । १९ औं जन्म दिन मनाएको केही दिनपछि नै हेमिङ्ग्वे मोर्टार विस्फोटनमा परी गम्भीर घाइते भए । पाँच दिन उनले युद्ध क्षेत्रको अस्पतालमै बिताए र अरु केही महिना रेडक्रसको अस्पतालमा उपचार गराए । त्यहीं उनी एकजना अमेरिकी नर्सको प्रेममा परे ।
युद्धपछि हेमिङ्ग्वे एकजना पत्रकारको रूपमा क्यानाडा र अमेरिकामा काम गरे । त्यही बेला उनले लेखक बन्ने अठोट गरे । सन् १९२१ को अन्त्यतिर उनी पेरिसतिर हानिए ।
सन् १९२० दसकको सुरुआततिर गेरट्रुडको आयोजनामा हुने साहित्यिक बैठकले युद्धोत्तर उदयीमान धेरै लेखकहरूलाई आकर्षित गरेको थियो । गेरट्रुड त्यो पुस्तालाई ‘लस्ट जेनेरेसन’ (हराएको पुस्ता) भन्थिन् ।
गेरट्रुडका सल्लाह सुन्न व्यग्र हुनेहरूमध्ये एकजना थिए–हेमिङ्ग्वे । हेमिङ्ग्वेको लेखनशैलीमा गेरट्रुडको बलियो प्रभाव थियो ।
“गेरट्रुड स्टीन सधैं सही थिइन्”, एउटा प्रसङ्गमा हेमिङ्ग्वेले आफ्ना एकजना साथीलाई भनेका थिए । उनी हेमिङ्ग्वेको लेखनका अभिभावक थिइन् । हेमिङ्ग्वेका छोराका उनी आदर्श माता (गडमदर) थिइन् ।
हेमिङ्ग्वेका अधिकांश सुरुआती लेखन तात्कालीन युद्धमा आधारित थिए ।
“तिमीले जे देख्यौ, जे घटना भएका थिए तिनीहरूबाहेक सबै घटना र वर्णनका शब्दहरूमा छाँटकाट गर । सबै कुरा काटेर फाल”,गेरट्रुडले हेमिङ्ग्वेलाई सल्लाह दिएकी थिइन् ।
धेरै सम्भव गेरट्रुडले हेमिङ्ग्वेलाई आफूसँग भएको ‘द ब्याकवास अफ वार’ लाई अनुकरणीय युद्ध साहित्यको रूपमा देखाएको हुनसक्छ । कम्तीमा पनि उनले ला मोट्टेको कृतिबाट आफूले सिकेका कुराबारे हेमिङ्ग्वेलाई बताएको हुनुपर्छ ।
जे होस्, ला मोट्टे र हेमिङ्ग्वेको शैलीमा समानता प्रस्ट देख्न सकिने कुरा हो । ‘एलोन’ नामको कथाबाट उद्धृत गरिएको तलको अनुच्छेदमा ला मोट्टेले प्रस्ट वाक्य, पर्यवेक्षण शैली र अन्तर्निहित त्रासको मुखर अभिव्यक्त गरिएको छ ः
‘उनीहरूले शल्यक्रिया गरेर रोचार्डको खुट्टा काट्न चाहेका थिए । तर, उसको कम्मरसम्म सङ्क्रमण फैलिसकेको थियो, केही पनि गर्न सकिने अवस्था थिएन । त्यसमाथि रोचार्डको टाउकोको हड्डी पनि फुटेको थियो । गोलीको अर्को एक टुक्रा उसको कानभित्र पसेर दिमागमा गडेको थियो । कुनै पनि घाउका कारण उसको मृत्यु हुनसक्थ्यो । तर, उसको तिघ्रामा पाकेको घाउका कारण नै उसलाई मृत्युको मुखमा सबभन्दा पहिले पु¥याउने अवस्था थियो । घाउ गन्हाउन थालेको थियो । त्यो दुर्गन्ध निकै नमिठो खालको थियो ।’
हेमिङ्ग्वेले सन् १९२५ मा ‘इन आवर टाइम’ कथाको सुरुआती पंक्तिमा यस्तो लेखेका थिएः
‘निक गिर्जाघरको पर्खालमा अडेस लगाएर बसेको थियो । सहरमा चल्दै गरेको मेसिन गनबाट जोगाएर उसलाई घिसार्दै त्यहाँ पु¥याइएको थियो । उसका दुवै खुट्टा उछिटिएका थिए । उसको मेरुदण्डमा चोट लागेको थियो । उसको अनुहार पसिनाले छपक्कै भिजेको र मैलो थियो । घाम सिधा उसको मुखमै परेको थियो । दिन उखरमाउलो गर्मी थियो । पिठ्युँमा भारी बोकेको रिमाल्डी घिस्रिंदै पर्खालमुनि आफ्नो अनुहार झुकायो । निकले बलपूर्वक परसम्म हे¥यो । घरको छायामा दुईजना अस्ट्रियालीको लास देखिन्थ्यो । बजारतिर अरु पनि लास यत्रतत्र देखिएको थियो ।’
हेमिङ्ग्वेका प्रस्ट वाक्यहरू र भावनात्मक रुपमा नबिच्किएका प्रभावशाली वाक्यले ला मोट्टेका वाक्यकै झझल्को दिने गर्छ ।
त्यसो भए किन सबै पुरस्कार हेमिङ्ग्वेको पोल्टामा मात्र ? सन् १९५४ को नोबेल साहित्य पुरस्कार हेमिङ्ग्वेले नै पाए । ‘समकालीन शैलीमा हेमिङ्ग्वेको प्रभाव’ को लागि ती पुरस्कार प्रदान गरियो । तर, ला मोट्टेले भने आफ्नो साहित्यिक विरासत गुमाएको अवस्था छ । किन ?
के त्यो युद्धकालीन सेन्सरसीपको परिणाम थियो ? के त्यो युद्धोत्तर युगमा लेख्नु भनेको पुरुषको मात्र काम हो भन्ने सोचाइमा आधारित लिङ्गीय भेदको परिणाम हो ?
सेन्सरसीप, लिङ्गीय भेद वा यी दुवै हानिकारक कुराको मिश्रणको परिणाम होस् अथवा अरु नै केही कारणले होस्, तर आज ला मोट्टेलाई समयले बिर्सेको छ । उनको बारेमा चर्चा परिचर्चा हुने गर्दैन । अब ‘द ब्याकवास अफ वार’ लाई युद्ध साहित्यको उदाहरणीय मानक साहित्य मान्ने समय आएको छ ।
लेखक येशिभा विश्वविद्यालयको एस.डानियल अब्राहम अनर्स प्रोग्रामका निर्देशक र अमेरिकी अध्ययनका रिसर्च एसोसियट प्रोफेसर हुनुहुन्छ ।
यो लेख पहिलोपटक ‘द कन्भरसेसन’ मा प्रकाशित भएको थियो ।
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *