के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
–सुवास दुवाल
सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सामेल पार्टी हो । त्यस पार्टीका अध्यक्ष उपेन्द्र यादव देशका उपप्रधानमन्त्री हुन् । सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ प्रतिनिधिसभाका सदस्य हुन् ।
सत्ता पक्षका सांसदले सरकारले ल्याएको विधेयकको पक्षमा बहस गर्नु नैतिक कर्तव्य हो । तर, सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपाल सरकारबाट सदनमा हाल प्रस्तुत गरेको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आफ्नो धारणा सदनमा राखे । गुठी जग्गा रैतानी गर्न दिन्नुहुन्न भनी उनले आफ्नो भावना पोखे । यो सरकारविरुद्धको मात्र होइन किसानले जग्गा प्राप्त गर्ने हकको विरुद्ध हो । उनले मठाधीसको पक्षमा सामन्ती सोच प्रकट गरे । कतै यो उपत्यकाका नेवारलाई उक्साई आन्दोलित गरेर आफ्नो पार्टी विस्तार गर्ने योजना त होइन भन्ने मत राख्नेहरू पनि छन् । मठाधीसबाहेक उपत्यकाका नेवारहरू गुठी जग्गा रैतानी गर्न पाउनुपर्छ भन्ने पक्षमा छन् । तर विधेयक राम्ररी अध्ययन नगरी ‘निजी गुठी’ को स्वामित्व ‘सार्वजनिक गुठी’ मा हस्तान्तरण गर्ने भयो भनी हल्ला फिजाइयो ।
विधेयकमा उल्लेख भएअनुसार यदि ‘निजी गुठी’ लाई ‘सार्वजनिक गुठी’ मा परिणत गर्ने हो भने सो ‘निजी गुठी’ का दुईतिहाइ सदस्यले हस्तान्तरण गर्न चाहेको निर्णय हुनुपर्दछ । त्यतिकै ‘निजी गुठी’ लाई ‘सार्वजनिक गुठी’ मा परिणत गर्ने होइन भनी जनतालाई बुझाइएको देखिएन । नेपाली काङ्ग्रेस त वर्गीयरूपले किसानविरोधी छ । त्यसले किसानको हक होइन सामन्तको हक अधिकार जोगाउन बहस गर्छ । नेपाली काङ्ग्रेस प्रतिपक्ष भएकोले पनि सरकारले ल्याएको विधेयकको विरोध गर्नु त्यसको नैतिक कर्तव्य मानिन्छ । तर, सरकारमा सामेल दल सङ्घीय समाजवादी फोरम (हाल समाजवादी पार्टी) का सांसद राजेन्द्रप्रसाद श्रेष्ठले विधेयकविरुद्ध बोलेर गाईजात्रा प्रदर्शन गरेको अनुभव मैले गरेँ ।
राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीको एक कार्यक्रममा नेवारलाई आन्दोलित हुन उक्साए र आफ्नै सरकारको विरुद्ध बोले । यसले उनले नैतिकता गुमाएको चर्चाको विषय बन्यो । उनले नेवाः जातिको मुक्तिको कुरा गरे । त्यस पार्टीको नेतृत्वकर्ता मधेसी मूलका छन् । वि.सं. २०७२ मा भारतबाट नाकाबन्दी गराउन भारतीय सीमामा बसेर ढुङ्गामुढा गर्ने र नाकाबन्दी गराई नेपाली जनतालाई दुःख दिएको नेपाली जनता बिसर्नुहुँदैन । अहिले नेवारलाई उल्काई आफ्नो राजनैतिक स्वार्थ र भारतीय स्वार्थ पूरा गर्न खोजेको त छैन ? भनी सचेत बुद्धिजीवीहरू प्रश्न गर्दै छन् । तसर्थ नेवाः जाति त्यस्ता कुराबाट सचेत हुन जरुरी देख्दछु । देशविरोधी, किसानविरोधी, गरिबविरोधी र नेवाः विरोधी पार्टीबाट नेवाः समुदाय सचेत बन्नु आजको आवश्यकता ठानेको छु ।
Leave a Reply