भर्खरै :

सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित – राष्ट्रसङ्घ

जेनेभा, ४ असार (एएफपी) । संयुक्त राष्ट्रसङ्घले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ ।
शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसीआर) को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको सङ्ख्या ठूलो रहेकाले विश्वव्यापीरूपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।
अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको सङ्ख्या विश्वभर करिब ६ करोड ८५ लाख रहेको थियो ।
यूएनएचसीआरका अनुसार इथियोपियामा अन्तर–जातीय द्वन्द्वका कारण ठूलो सङ्ख्यामा मानिस विस्थापित हुन बाध्य भएका छन् । भेनेजुएलाको आर्थिक सङ्कटका कारण ठूलो सङ्ख्यामा मानिसहरू अन्यत्र शरण लिन बाध्य भएका छन् । यहाँ खाद्यान्न र औषधिजस्ता अत्यन्त जरुरी सामग्रीको समेत अभाव छ ।
सन् २०१६ यता भेनेजुएलामा बसिरहेका विभिन्न देशमा आप्रवासी र केही भेनेजुयाली नागरिकसमेत गरी करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ गएको राष्ट्रसङ्घको अनुमान छ ।
यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको जानकारी दिनुभयो । उहाँले करिब पाँच लाख भेनेजुएलाका नागरिकको नाममात्र सङ्कलन गरिएको बताउनुभयो ।
समग्रमा, विगत २० वर्षको अवधिमा विस्थापित मानिसको सङ्ख्या दोब्बर भएको छ र यो थाइल्यान्डको जनसङ्ख्याभन्दा बढी हो ।
ग्रान्डीका अनुसार यो गलत प्रवृत्ति रोकिनुको साटो निरन्तर कायम रहेको छ ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार शरणार्थी त्यस्तो व्यक्ति हो जो आफ्नो मुलुकबाट भाग्दछ र द्वन्द्व वा उत्पीडनको भयका कारण आफ्नो मुलुक फर्कन सक्दैन ।
यूएनएचसीआरको प्रतिवेदनमा ४ करोड १३ लाख आन्तरिकरूपमा देशभित्रै विस्थापित भएका, २ करोड ५९ लाख शरणार्थी रहेका र ३५ लाखले आप्रवासीका लागि आवेदन दिएको उल्लेख छ ।
देशभित्रै ठूलो सङ्ख्यामा विस्थापित रहेका मुलुकहरूमा सिरिया र कोलम्बिया रहेका छन् । शरणार्थीमध्ये करिब ५५ लाख प्यालेस्टिनी लेबनान र जोर्डन समेतका धेरै देशमा छरिएर रहेका छन् ।
ग्रान्डीले शरणार्थी स्वदेश फर्कने वातावरण तयार भएपछि मात्र स्वदेश फर्काइने गरेको बताउँदै तर २० प्रतिशतभन्दा बढी निर्वासित व्यक्तिहरू दुई दसकभन्दा बढी समयदेखि शरणार्थीकै रूपमा रहन बाध्य भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *