भर्खरै :

सिद्धान्त र विचारको आधारमा नेकपा एक नभएको पुष्टि

– मेरिना शाक्य
एमाले र माओवादी सिद्धान्त र विचार मिलेर एकता भएको होइन भन्ने कुरा समय र घटनाक्रमबाट पुष्टि हुँदै छ । पार्टी एकता भएको १५ महिना भइसकेपछि पनि स्पष्ट विचार के हो पार्टीले अझै पुष्टि गर्न सकेको छैन । पूर्व एमालेका शीर्ष नेताहरूले जनताको बहुदलीय जनवाद र पूर्व माओवादीले जनताको जनवाद हुनुपर्ने बताइरहेका छन् । जनताको बहुदलीय जनवाद र जनताको जनवादमै एमाले र माओवादी नेताहरूबीच वाक्युद्ध चलिरहेको छ । आ–आफ्ना पक्षधर नेताहरू आ–आफ्ना अडानमा छन् । यसले पार्टीको लक्ष्य सिद्धान्त र विचारको राजनीतिभन्दा मिलेर बहुमत प्राप्त गर्ने र सरकारको नेतृत्व गरेर रजाइँ गरिरहने पुष्टि गर्छ । समयले देखाएको पनि यही हो ।
पद र पैसाको लागि एमाले र माओवादी मिलेर नेकपा बनेको हो, यसमा शङ्का गर्ने ठाउँ छैन । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले बेला न कुबेला पालैपालो सरकारको नेतृत्व गर्नेबारे ओलीसँग सहमति भएको खुलासा गरे । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुन पाउने दिनगन्ती गरिरहँदा नेकपाका तर पूर्व एमालेका ईश्वर पोखरेलजस्ता नेताहरूले पाँच वर्षसम्म सरकारको नेतृत्व कुनै हालतमा परिवर्तन नहुने तर्क गरिरहेका छन् । अध्यक्ष दाहाल प्रम हुन आशै आशामा थुक निलेर बसिरहेका छन् । अध्यक्ष दाहालले सहमति कार्यान्वयन नभए दुर्घटना निम्तिने चेतावनी दिए पनि केपी ओलीले प्रमको कुर्सी छोड्ने स्थिति देखिएको छैन ।
सिद्धान्त र विचार नमिलिकन पार्टी एकता भएपछि पार्टीभित्र द्वन्द्व बढ्नु र अन्तरविरोध चर्कनु अस्वाभाविक होइन । अध्यक्ष दाहाललाई त यतिबेला नखाऊँ दिनभरिको शिकार खाऊँ कान्छा बाबुको अनुहारझैँ भइरहेको छ । एक भएको पार्टी फेरि अलग्ग गरे अध्यक्ष दाहाललाई आफ्नो पार्टी टिकाउन त्यति सजिलो पनि नहोला । एउटै बनाई अघि बढिरहँदा आफ्नो (माओवादी) को कुरा पूर्व एमालेका नेताहरूले टेरपुच्छर गरिरहेका छैनन् । पूर्व एमालेका नेताहरू जनताको बहुदलीय जनवादको सिद्धान्त र विचार भएको तर जनताको जनवादको त्यस्तो कुनै दस्तावेज या संरचना नभएको बताउँछन् । जनताको जनवाद के हो, कस्तो विचार हो, न त्यसको दस्तावेज छ, न त्यसबारे कहिल्यै छलफल भएको छ भन्ने पूर्व एमालेका नेताहरूको भनाइ रहेको छ ।
सवाल माओवादीको जनताको जनवाद र एमालेको जनताको बहुदलीय जनवादको भन्दा कम्युनिष्टको सिद्धान्त, विचार र आचरणको हो । नेकपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद हो भने तद्नुसार नेकपाको पार्टी र सरकारले व्यवहारमा लागू गरिरहेको छ कि छैन भन्ने मुख्य प्रश्न हो । कम्युष्टिको सिद्धान्त र विचारलाई व्यवहारमा लागू गरिँदैन भने जुनसुकै पार्टीले जतिसुकै वादको भजन गरे त्यो बहुमत जनताको हितमा हुने छैन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस्तै दुर्दशा भोगिरहेको छ । हाल दाहाल र ओली पक्षधर नेताहरूको वाक्युद्ध पनि त्यसैमा भइरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *