भर्खरै :

काठमाडौँका सम्पदालाई खतराको सूचीमा राख्ने युनेस्कोको प्रस्ताव

काठमाडौँ, १० असार । काठमाडौँ उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रहरूको पहिचान सङ्कटमा पर्नसक्छ ।
काठमाडौँ उपत्यकामा पशुपतिनाथ मन्दिर बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
युनेस्कोले सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । युनेस्कोले तीन वर्षअघि पनि काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो तर स्वीकृत भएन ।
युनेस्कोको ४३ औँ सेसनका लागि तयार पारिएको एजेन्डामा काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको हो । युनेस्कोको ४३ आँै सेसन आगामी ३० जूनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा चल्दै छ ।
काठमाडौँ उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज सूचिकृत छन् । ती सम्पदामाथि भने प्रश्न उठाइएको छैन । यूनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचिकृत हुने सम्पदाले विश्व पर्यटन बजारमा पहिचान स्थापित गर्छ । यूनेस्कोबाट प्राप्त हुने सहयोग पनि महत्वपूर्ण रहन्छ ।
तर, एक पटक खतराको सूचीमा सूचिकृत भएपछि निस्किन मुस्किल पर्छ । भूकम्पपछि सम्पदा संरक्षणमा नेपालले उल्लेख्य प्रगति गर्न सकेको छैन । पुनर्निर्माणको गति सुस्त छ । पशुपतिनाथ क्षेत्रमा सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माण विवादित बन्दै आएको छ । अहिले विश्वका १६७ मुलुकका १ हजार ९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचिमा सूचिकृत छन् । त्यसमध्ये ५४ वटा सम्पदा खतराको सूचीमा परेका छन् ।
सन् २०१९ का लागि नेपालका काठमाडौँ उपत्यकासहित बङ्गलादेश, बुल्गेरिया, अल्वानीया, मेक्सिको, इराकका ६ वटा सम्पदा खतराको सूचीमा राख्ने गरी प्रस्ताव गरिएका छन् । यस वर्ष ३६ वटा नयाँ सम्पदालाई विश्व सम्पदा क्षेत्रमा सूचिकृत गर्ने प्रस्ताव जाँदै छ । दुई वटा सम्पदा भने खतराको सूचीबाट बाहिर निस्कने गरी प्रस्ताव गरिएको छ । भारतको जयपुर सीटीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रस्ताव यस सेसनमा जाँदै छ ।
नेपाल सरकार के भन्छ ?
युनेस्कोको ४३ औं सेसनमा भाग लिन नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बाकु जाँदै छ ।
प्रतिनिधिमण्डलमा पुरातत्व विभागका महानिर्देशक तथा मन्त्रालयको संस्कृति महाशाखाका उपसचिव सहभागी हुने छन् । यस पटकको बैठक नेपालका लागि निकै महत्वपूर्ण छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले भने, “हामी खतराको सूचीबाट उम्कने प्रयास गर्ने छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *