भर्खरै :

मापदण्ड घटाउनुपर्ने मागसहित निवेदन दर्ता

भक्तपुर, ११ असार । चाँगुनारायण नगरपालिकाको दोस्रो नगर सभाले भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मणिराम गेलाल र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको घर जोगाउन सडकको मापदण्ड एक मिटर घटाएर ६ मिटर कायम गरेपछि एक मिटर बढी मापदण्ड भई पीडित भएका झौखेल दुवाकोट खण्डका स्थानीय जनताले विरोध गरेका छन् ।
झौखेल दुवाकोट खण्डका स्थानीय जनताले भक्तपुरको सल्लाघारी–दुवाकोट–गेलालगाउँ–नारायणटार–चाँगुनारायण–साङ्गादह सडकको मापदण्ड कतै ७ मिटर र कतै ५ मिटर हुँदा अन्याय भएकोले सबै ठाउँमा ६ मिटर कायम गर्न चाँगुनारायण नगरपालिकामा संयुक्त हस्ताक्षरसहितको निवेदन असार ९ गते दर्ता गराएका छन् ।
स्थानीय बासिन्दाका अनुसार उक्त बाटोको मापदण्ड ७ मिटर नै कायम रहे करिब ४०÷५० घर भत्किने सम्भावना रहेकोले सबै ठाउँमा ६ मिटरको मापदण्ड कायम राख्नु जरुरी रहेको छ । उनीहरूका अनुसार नपाले हचुवाका भरमा मापदण्ड तय गर्दा बाटो छेउमा घर बनाएका व्यक्ति र थोरै जग्गा भएकाहरूलाई मर्का परेको छ । यही मापदण्डलाई कायम राखे धेरै जनता विस्थापित हुनुपर्ने अवस्था सृजना हुन्छ ।
जनतालाई पीर मर्का पर्दा जनप्रतिनिधिले बोल्नुपर्ने हो । तर चानपा ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्ना नेताहरूलाई जोगाउन निश्चित क्षेत्रको बाटोको मात्र मापदण्ड घटाउन नगरसभामा सिफारीस गरेका छन् । वडाध्यक्ष धिमालले गेलालगाउँ पुरातात्विक एवम् ऐतिहासिक क्षेत्र भएकाले मापदण्ड घटाइएको जिकिर गरेका छन् भने स्थानीय जनताले चाँगुनारायणका धेरै गाउँ र स्थानहरू ऐतिहासिक र पुरातात्विक महत्वको रहेको बताउंँदै कुनै एक क्षेत्रका जनतालाई मात्र फाइदा हुने काम गर्नु गलत रहेको बताए । त्यसमाथि नेकपाका कार्यकर्ताहरूले आफ्नो नेता कार्यकर्तामात्रै जोगाएर अरु जनतालाई बेवास्ता गर्ने गरेको गुनासो स्थानीयले सुनाए ।
स्थानीय केशवप्रसाद न्यौपानेसहित करिब १३७ जना पीडित स्थानीयले हस्ताक्षर गरी साविक दुवाकोट २,४,५,६ वडामा पनि मापदण्ड घटाएर ६ मिटर कायम गरी स्थानीयको घरबास उठिबास हुनबाट रोक्न चाँगुनारायण नपामा निवेदन दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *