भर्खरै :

एसईई नतिजा ः सामुदायिक र निजीको नतिजामा गहिरो खाडल

–हरिसुन्दर छुकां
काठमाडौँ, १२ असार । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा गएपछि धेरै सामुदायिक विद्यालयहरू सुधार हुने अपेक्षा गरिएका थिए । सामुदायिक विद्यालयको सुधारका लागि पालिकाहरूले आ–आफ्नो क्षेत्रभित्रका विद्यालयको भौतिकमात्र नभएर शैक्षिक र शैक्षणिक सुधारका लागि कार्यक्रम र बजेट विनियोजन गरेका थिए । सामुदायिक विद्यालयमा केही सुधारका सङ्केतहरू पनि देखिन थालेका छन् । पालिकाहरूअन्तर्गत आएपछि विद्यालयहरूमा विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ ।
तुलनात्मकरूपमा विद्यार्थी सङ्ख्या बढे पनि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजामा सामुदायिक विद्यालय कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा सामुदायिकतर्फका कुल ३ लाख २५ हजार ३ सय ३० विद्यार्थीमध्ये २ हजार ७ सय ९२ जनाले मात्र ३ दशमलव ६ देखि ४ जीपीए ल्याए भने निजीतर्फका कुल १ लाख ३३ हजार ९ सय ४५ विद्यार्थीमध्ये १४ हजार ७ सय ८८ विद्यार्थीले त्यत्ति नै जीपीए ल्याए । यो जीपीएलाई प्रतिशतका हिसाबले हेर्दा सामुदायिक विद्यालयका मात्र ० दशमलव ८५ प्रतिशतले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको देखिन्छ भने निजीतर्फका १४ हजार ७ सय ८८ जनाको अर्थात् ११ दशमलव ०४ प्रतिशत ३ दशमलव ६ देखि ४ जीपीए आएको देखिएको छ ।
सरकारले शिक्षालाई प्राथमिकतामा राखेको नाममा शिक्षक तलबमा मात्र लगानी गर्दाको परिणाम निजी र सामुदायिक विद्यालयबीचको नतिजामा गहिरो खाडल देखिएको सरोकारवालाहरू बताउँछन् ।
प्रकाशित नतिजाअनुसार सामुदायिकतर्फ ११ हजार २ सय २३ र निजीतर्फ ३९ हजार ९ सय १४ विद्यार्थीले ३ दशमलव २ जीपीएदेखि ३ दशमलव ६ जीपीए ल्याएका छन् । त्यसैगरी सामुदायिकतर्फ २६ हजार ३ सय ६६ र निजीतर्फ ३७ हजार ३ सय ७५ जना विद्यार्थीको नतिजा २ दशमलव ८ जीपीएदेखि ३ दशमलव २ जीपीए, सामुदायिकतर्फ ५३ हजार ७ सय ३० र निजीतर्फ २२ हजार ८ सय ३४ जनाको २ दशमलव ४ जीपीएदेखि २ दशमलव ८० जीपीए छ ।
त्यसैगरी दशमलव ०० जीपीएदेखि २ दशमलव ४ जीपीए हासिल गर्ने विद्यार्थीमध्ये सामुदायिक विद्यालयतर्फ ८७ हजार ४४२ र निजीतर्फ १० हजार ७६५ विद्यार्थी छन् भने १ दशमलव ६ जीपीएदेखि २ दशमलव ०० जीपीएसम्ममा सामुदायिकतर्फ ९० हजार ४४५ छन् भने निजीतर्फ ४ हजार ८६२ छन् ।
सामुदायिकतर्फ ४२ हजार ३६३ जनाले १ दशमलव २० देखि १ दशमलव ६० जीपीए ल्याउँदा निजीतर्फ भने एक हजार ४ सय ७८ ले मात्र सो जीपीए ल्याए । यसैगरी सामुदायिकतर्फका चार हजार २ सय ९६ जनाले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउँदा निजीतर्फका जम्मा १३३ जनाको सो जीपीए छ । यसैगरी चलनचल्तीको भाषामा ‘ई’ ग्रेड ल्याउने सामुदायिकतर्फका मात्र ६ हजार ६७३ विद्यार्थी छन् भने निजीतर्फका १ हजार ७९६ छन् । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको सो नतिजाले सामुदायिक विद्यालयको पठनपाठन कमजोर रहेको प्रस्ट पारेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले बताउनुभयो ।
उहाँले साुमदायिक विद्यालयको नतिजा गतिलो नआउनुको मुख्य दोषी शिक्षक नै भएको बताउनुभयो । शिक्षकले कक्षाकोठामा निभाउनुपर्ने दायित्व पूरा नगर्दा नतिजा गतिलो नआएको उहाँको दाबी हो । ।
सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरी बजेट खर्च गरे पनि निजी लगानीका विद्यालयका विद्यार्थीले ल्याएको जीपीएका अगाडि सामुदायिक विद्यालयका विद्यार्थीको जीपीए निरीह भएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउनुहुन्छ ।
कोही पनि विद्यार्थी अनुत्तीर्ण नभनिने गरेको लेटर ग्रेडिङ प्रणालीको सिकारमा शिक्षक र विद्यार्थी दुवै छन्, त्यसको प्रत्यक्ष मार सामुदायिक विद्यालयमा परेको हो । उहाँले भन्नुभयो, “शिक्षकलाई प्रोत्साहित गर्ने कार्यक्रम सरकारले ल्याउन नसक्दा समस्या देखिएको हो ।”
बोर्डका अनुसार विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कुल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका थिए ।
नतिजाअनुसार एप्लस ल्याएर उत्तीर्ण हुनेमा ९,५९६ जना छात्र र ७,२८६ जना छात्रा छन् । यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७,२७९ र छात्रा २१,६८१ जना छन् । बी प्लस ल्याउनेमा छात्र ३४,१६६ र छात्रा २६,५४०, बी ल्याउनेमा छात्र ३९,०९५ र छात्रा ३५,०१५ जना छन् ।
सी प्लस ल्याउनेमा छात्र ४५,७८९ र छात्रा ५१,५१०, सी ग्रेड ल्याउने छात्र ४२,८८३ जना छात्रा ५२,३२६ जना छन् ।
डी प्लस ल्याउनेमा छात्रमा १९,१३३ र छात्रा २४,७०७ जना छन् । डी ल्याउनेमा छात्र १,८६६ र छात्रा २,५६३ र ई ग्रेड ल्याउनेमा छात्र ४,२२५ र छात्रा ३,९८२ छन् ।
बोर्डका अनुसार यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना छन् । त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको सङ्ख्या ४३ हजार ८ सय ४१ जना छन् ।
परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नको लागि प्रतिविषय ५ सय रूपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र बोर्डमा निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै दुई विषयसम्म सी वा सीभन्दा तलको ग्रेड आएमा पुरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सकिने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *