भर्खरै :

छुस्याकी र कर्माचायद्धारा लिखित विज्ञान प्रयोगात्मक पुस्तक विमोचित

भक्तपुर, १९ चैत्र । विद्यालयमा तहमा गराईने विज्ञान विषयको प्रयोगात्मक शिक्षाको निम्ति भक्तपुरका कृष्णप्रसाद छुस्याकी र नविन्द्रलाल कर्माचार्यले लेख्नुभएको विज्ञान पुस्तकको विमोचन कार्यक्रम आज सम्पन्न भयो । पुस्तक विमोचन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्व डीन प्रा.डा. पृथुचरण वैद्यले तल्लो तहका कक्षाहरुदेखि नै प्रयोगात्मक विधिबाट विज्ञान विषयको अध्यापन गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रकाशित पुस्तकमाथि समीक्षा गर्नुहुँदै उहाँले पुस्तकसम्बन्धी कार्यशाला गोष्ठीहरु सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै प्रा.डा. सिद्धिवीर कर्माचार्यले हाम्रा परम्परागत विधिहरुमा समेत वैज्ञानिक विधि लुकेको चर्चा गर्दै हरेक व्यक्तिले आफ्नो कर्ममा विश्वास गरे कसैप्रति निर्भर रहनु नपर्ने विचार व्यक्त गर्नुभयो ।
पुस्तकको समीक्षा गर्नुहुँदै प्रा.डा. राजुभाई त्यातले प्रकाशित पुस्तकले विज्ञान शिक्षणमा महत्वपूर्ण योगदान पु¥याउनेमा शंका नभएको बताउनुभयो । उहाँले परिवर्तित समयलाई ध्यानमा राखेर विद्यार्थीहरुलाई नयाँ नयाँ खोज अनुसन्धानमा लगाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै प्राध्यापक समाज, नेपालका अध्यक्ष सरोजराज गोसाईले व्याख्यान विधिले भन्दा पनि प्रयोगात्मक विधिले विद्यार्थीहरुलाई सिकाउँदा छिट्टै र सजिलै बुझ्ने धारणा व्यक्त गर्नुभयो ।
पुस्तक प्रकाशक हेरिटेज पब्लिकेशन्सका बाबुराम गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विज्ञान शिक्षक रामहरि ताम्राकार, लेखकद्धय कृष्णप्रसाद छुस्याकी नविन्द्रलाल कर्माचार्यले पनि आफ्ना विचार व्यक्त गर्नुभएको थियो । पुस्तकको सम्पादन प्राध्यापक रिद्धिभक्त कोजूले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *