भर्खरै :

वैदेशिक रोजगारीको आवरणमा नयाँ प्रकारको दासता

काठमाडौं, २१ असार । मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नयाँ नेपाल भनेको एसएलसीलाई एसईई नामकरण गर्नु होइन भन्दै उत्पादन श्रमसँग जोडिएको शिक्षा प्रदान गरी नेपालीलाई स्वदेशमा रोजगारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “झण्डै ८० लाख नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा खाडी मुलुकलगायत देशमा दासजस्तै बेचबिखन गर्नु नयाँ नेपाल होइन ।”
नेपाल मजदुर किसान पार्टीले माध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने विषय अगाडि सारेर सङ्घर्ष गर्दै आएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई तयार गर्न शिक्षक र प्राध्यापकलाई बढी सुविधा प्रदान गर्नु आवश्यक छ । नेपालमा शिक्षा शास्त्रमा राम्रो अङ्क प्राप्त गरी उच्च शिक्षा उत्तीर्ण गरेकोहरू पनि निजामति कर्मचारीतर्फ लाग्छन् । नेपालमा सरकारी कर्मचारीहरू सम्भ्रान्त वर्गको रूपमा विकास भइरहेको चिन्ताको विषय हो ।”
सचिव सुवालले देश विकासको लागि सबै विषय उत्तिकै महत्वपूर्ण छ भन्दै नयाँ पुस्ताले कुनै एउटा विषयमा गहिरो अध्ययन गरी नेपाल र नेपाली जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले विद्यार्थीहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको सेवामा लाग्न आग्रह गर्नुभयो ।
नेक्राविसङ्घको स्थापनाको उद्देश्यबारे जानकारी दिँदै विद्यार्थीहरूले अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनबाट पाठ सिक्नुपर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा डा. किशोर हाकुदुवाल, ई. सुनिल दुवाल, अधिवक्ता अनिता जधारीलगायतले विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन र विषय छनोटबारे मार्गनिर्देशन गर्नुुभएको थियो ।
आयोजक समितिका सन्तलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष राजवीर डंगोल, नारायणबहादुर दुवाल, अनुब्रत डंगोल, शैलेश डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *