भर्खरै :

ख्वप कलेजमा बिदाई कार्यक्रम

भक्तपुर, २१ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा बीए र बीएएस्डब्लू (२०७३ ब्याच) का विद्यार्थीहरूको बिदाइ कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले घाटा बजेट प्रस्तुत गर्नु राम्रो लक्षण नभएको चर्चा गर्दै सरकारले महँगी नियन्त्रण गर्न सकेको भए जनतालाई धेरै राहत हुने र कर्मचारीको तलब वृद्धि गर्न नपर्ने बताउनुभयो ।
सरकार शक्ति पृथकीकरणको सिद्धान्तअनुसार नचलेको उल्लेख गर्दै उहाँले न्यायपालिका र व्यवस्थापिकामा संविधानको भावनाविपरीत सरकारले हस्तक्षेप बढाइरहेको छ भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “देशलाई सम्हाल्ने नयाँ पुस्ताको खाँचो छ । योग्य शिक्षक तयार गर्ने नीति सरकारले ल्याउनुपर्छ । अध्ययन÷अध्यापन पेशामा लाग्नेलाई सरकारले थप सुविधाको व्यवस्था गर्नुपर्छ ।”
ख्वप कलेजमा कानुन विषयमा उच्च शिक्षाको अध्ययनको व्यवस्था गर्न आवश्यक कदम चाल्न सुझाव दिँदै उहाँले ख्वप विश्वविद्यालय स्वीकृति र सञ्चालनको लागि सरकारलाई निरन्तर जोड दिइरहेको जानकारी दिनुभयो ।
ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भनपा प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरू सामाजिक कार्यकर्ता भई देश र जनताको सेवामा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थीहरू स्वावलम्बी हुनुपर्नेमा जोड दिँदै उहाँले आफूले हासिल गरेको ज्ञान र सीप विदेशको लागि नभई स्वदेशकै हितमा उपयोग गर्नुपर्छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सांसद भनेको देशको लागि आवश्यक नीति–निर्माण बनाउने व्यक्ति हो । निर्वाचन क्षेत्रको विकास कोषको नाममा सांसदलाई बजेट छुट्याउनु गलत छ ।”
गुठी विधेयकले गुठी जग्गामा मोहियानी हकको व्यवस्था गर्नु राम्रो पक्ष रहेको चर्चा गर्दै उहाँले कुनै पनि विषयमा विरोध गर्नुभन्दा पहिले त्यस विषयमा गहन अध्ययन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
गुठी संस्थानले सम्पदा संरक्षण र जात्रा–पर्व सञ्चालन गर्न नसकेको हुनाले सम्पदा संरक्षणको जिम्मा तथा गुठी र मठहरू सञ्चालनको जिम्मेवारी प्रदेश र स्थानीय तहलाई दिनुपर्छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
कर तिर्ने र सरसफाइ गर्ने बानी बसाल्नुपर्छ तर, सरकारप्रति जनताको विश्वासको सङ्कट रहेको हुँदा कर तिर्नमा जनता उत्साहित भएन, उहाँले भन्नुभयो ।
सम्पदा संरक्षणमा भक्तपुरले पहिचान कायम गरेको चर्चा गर्दै उहाँले भनपाले भक्तपुर महोत्सव गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
भनपाका उपप्रमुख एवम् ख्वप कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले शिक्षा उत्तम भविष्यको द्वार भएको र असल व्यवहारले नै गन्तव्यमा बेरोकतोक पु¥याउन सक्ने धारणा राख्नुभयो ।
सबै नागरिक र समाजको बुद्धिजीवीकरण गर्ने लक्ष्यसहित भक्तपुरका जनताले स्थानीय सरकारमार्फत ख्वप कलेजहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “आपसी सद्भावपूर्ण सम्बन्धले नै समाजको प्राज्ञिक र बौद्धिक विकासमा योगदान गर्न सक्छ ।”
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरू शारीरिकका साथै बौद्धिक र मानसिक रूपमा राम्रो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, मानसिकरूपमा स्वस्थ नभएको ज्ञानको सार्थकता हुनेछैन ।”
कलेजका प्राचार्य रूपक जोशीको सभापतित्वमा भएको कार्यक्रममा बीए तथा एमए अङ्ग्रेजी इन्चार्ज कमिनिका न्याइच्याई शिक्षक सुन्दर श्रेष्ठ र विद्यार्थी ज्योत्सना प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि देखाइएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *