भर्खरै :

उपभोक्ता समितिहरूको प्रशिक्षण कार्यक्रम

काभ्रेपलाञ्चोक, २१ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका कार्य देशकै लागि उल्लेखनीय र प्रशंसनीय रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ उपभोक्ता समितिले शनिबार पलाञ्चोकमा आयोजना गरेको वनभोज तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले समाजको निम्ति सेवाको भावना राखेर काम गर्न र हरेक कुरालाई आलोचनात्मक ढङ्गले विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले एम.डी. वा सोसरह अध्ययन गर्ने नगरवासी विद्यार्थीहरूलाई छात्रवृत्ति दिने प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराउँदै उहाँले जनताको पक्षमा काम गर्ने जनप्रतिनिधिहरूले मात्र जनताको समस्या बुझेर काम गर्ने बताउनुभयो ।
उहाँले शिक्षामा अगाडि बढेको समाजले देशको विकासमा टेवा पु¥याउने बताउँदै उपत्यकाका सम्पदा संरक्षणमा भक्तपुरका कालीगढको सक्रियता प्रशंसनीय रहेको बतानुभयो । उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षण र पुनःनिर्माणको कामलाई आर्थिक आर्जनभन्दा प्रतिष्ठा र अवसरको रुपमा सदुपयोग गर्न उहाँले मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको उपभोक्ता ऐनबारे प्रस्ट पार्दै वडाका विकास निर्माण कार्यमा वडावासीहरूको रचनात्मक सहयोगको आवश्यकता भएको बताउनुभयो । उपभोक्ता समितिमा बसेर काम गर्नेहरूलाई इमानदारीपूर्वक काम गर्न प्रेरित गर्दै वडाध्यक्ष खत्रीले भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रअनुसार आफ्ना कार्यहरू गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, स्थानीय कृष्णप्रसाद दुमरु र राजन कोजूले पनि बोल्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा भक्तपुरको भाजुपोखरी र रानीपोखरी, काठमाडौँको रानी पोखरी, ललितपुरको न्हु पुखुमा कार्यरत महिलाहरूको उल्लेख्य उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *