भर्खरै :

भुस्याहा कुकुर नियन्त्रण किन गरिंदैन ?

भक्तपुर नगरपालिका र वरपरका नयाँ बस्तीमा भुस्याहा कुकुर एउटा बिकराल समस्या बनिसकेको छ । त्यस्ता कुकुरहरूले बालबालिका र महिलाहरूलाई शत्रुजत्तिकै झम्टने गरेका छन् । कमजोर सम्झेर पनि आक्रमण गरेको हुनुपर्छ । छाडा कुकुर हुनाले टोकेर भागेका त्यस्ता कुकुरमाथि निगरानी गर्न पनि सकिंदैन । यसले गर्दा कुकुरको टोकाइबाट रेबिज सर्ने जोखिम बढेको छ । बिहान दिउँसो उज्यालोमा भन्दा बढी साँझ र बेलुकी छाडा कुकुरहरू आक्रमक भएको पाइन्छ । अगाडि हिँडेको बलियो मानिसले लातीले हिर्काएर गयो भने पछाडिबाट आएका महिला र बालबालिकालाई टोक्न आउने गर्छन् । अगाडिको बाइकले तर्साएर वा पुच्छरको केही भाग किचेर अगाडि बढ्दा पछाडिबाट आउने मोटरसाइकल र स्कुटरमा सवारहरूमाथि अचानक झम्टने गरेका छन् ।
बेलुकाको सिफ्टमा काम गरेर फर्केका र आपद् परेर अस्पताल वा कतै जान लागेका मानिसहरूले त टोल – टोलमा रहेका ती भुस्याहा कुकुरका कारण अर्को आपद् व्यहोर्नुपरेको छ । त्यस्ता भुस्याहा कुकुर २–४ मात्र हो भने तर्साउन वा भगाउन सकिन्छ तर दर्जनको समूहमा रहने गरेका कुकुरहरू एक–दुईजना मानिसले हकार्दैमा भाग्ने गरेका छैनन्, उल्टो घेरा दिएर झम्टन आउने गरेका छन् । प्लास्टिक रिसाइक्लिङ गर्ने कामदारहरू झन् छाडा कुकुरबाट अत्यन्तै असुरक्षित भएका छन् । बेलुकाको समयमा त मोटरसाइकल र कारलाई समेत कुकुरले पिछा गर्ने गरेका छन् । सडकका ती भुस्याहा कुकुरकै कारण मानिसको ज्यानै जाने ठूला सडक दुर्घटना हुने सम्भावना धेरै छ ।
भुस्याहा कुकुर नियन्त्रण विगतमा नगरपालिकाहरूले गरेका थिए । देशमा नयाँ संविधान आएको छ, स्थानीय निकायलाई स्थानीय तहको सरकार बनाई थप अधिकारसम्पन्न बनाएको छ । नगरवासीको स्वास्थ्य र जीउधनको रक्षा गर्ने जिम्मेवारी पनि स्थानीय तहको सरकार वा नगरपालिकाकै हो । तसर्थ भुस्याहा कुकुर नियन्त्रण पनि नगरपालिकाहरूकै जिम्मेवारीमा परेको हुनुपर्छ । भक्तपुर जिल्लाका अन्य नगरपालिकाहरूले यसतर्फ केही काम गरेको जानकारी त छैन तर भक्तपुर नगरपालिकाले कुकुरलाई बन्ध्याकरण गराउने कार्यक्रम गरेको समाचार आएको थियो । अहिले त्यो कार्यक्रम कहाँ पुग्यो थाहा छैन तर कुकुरको सङ्ख्या भने घट्न सकेको छैन । खानेकुराको खोजीमा अन्यत्रबाट भक्तपुर नगर क्षेत्रमै कुकुरहरू छिर्दा र बस्दा पनि सङ्ख्या नघटेको हुनुपर्छ । तर, कुकुरलाई बन्ध्याकरण गरेर समस्याको समाधान हुनसक्दैन । त्यस्ता भुस्याहा कुकुर नियन्त्रण गर्न ढिलो भइसकेको छ । यो वा त्यो कारणले भुस्याहा कुकुर नियन्त्रणमा विलम्ब गर्नुभएन ।
– अनिलप्रकाश श्रेष्ठ, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *