चिनियाँ जनता र संसारलाई चिनियाँ क्रान्तिका नेता को हुन् र कस्ता छन् भन्ने जानकारी दिने अमेरिकी पत्रकार एड्गर स्नो हुन् । २२–२३ वर्षको उमेरमा उनी अमेरिकाबाट चीन पुगे, उनले त्यहाँ ७ वर्ष बसी चिनियाँ भाषा र चीनको अध्ययन गरे तथा येनचिङ्ग (Yenching) विश्वविद्यालयमा अध्यापन गरे । सिकागो ट्रिव्युन (Chicago Tribune), न्युयोर्क सन (New York Sun) र न्युयोर्क हेराल्ड ट्रिव्युन (The New York Herald Tribune) जस्ता अमेरिकी पत्रिका र बेलायतको ‘लण्डन डेली हेराल्ड’ (त्जThe London Herald) को संवाददाता रहे ।
एड्गर स्नो संरा अमेरिकाको मिसौरि (Missouri) राज्यको केन्सास (Kansas) महानगरमा १७ जुलाई १९०५ मा जन्मेका थिए ।
परिवार
एड्गर स्नोका जिजुबाजे सामुयल फ्रोष्ट स्नो (Samuel Frost Snow) ले अमेरिकाको दासमोचनको गृहयुद्धभन्दा पहिले नै आफ्ना दासहरूलाई मुक्त गरेका थिए ।
उनका बुबा जेम्स एड्गर (James Edgar) सन् १८७३ मा जन्मेका थिए । उनकी आमा इरिश जर्मनी आमाबुबाबाट जन्मेका अन्ना क्याथेरिन इडेल्मान (Anna Catherine Edelman) हुन् । अन्नाका बुबा जर्मनीको सिलेसिया (Silesea) का थिए र उनी दुई वर्षको हुँदा अमेरिका पुगेका थिए ।
एड्गर स्नोका बुबाले एक सानो छापाखाना र प्रकाशन गृह स्थापना गरेका थिए । त्यस छापाखाना कम्पनीले ‘केन्सास नगर नक्षेत्र’ (-Kansas City Star), पत्रिका छाप्थ्यो । उनका आमाबुबाको दुई छोरा र एक छोरी थिए । उनी कान्छा छोरा थिए । धर्ममा उनको बुबा उदार थिए ।
सानोमा उनले फ्रान्सेली उपन्यासकार भिक्टर ह्युगोका ‘अभागी’ (Des Miserables), रोविन्सन क्रुसो (Robinson Crusoe), स्वीस परिवार रोविन्सन (The Swiss Family Robinson), ‘धनको टापु’ (Treasure Island) जस्ता पुस्तकहरू पढेका थिए । उनले मिसौरि विश्वविद्यालयमा पत्रकारिताको अध्ययन गरे । विश्व भ्रमणको निम्ति पैसा जम्मा गर्न उनी न्युयोर्क पुगे तथा सन् १९२८ मा उनी चीनको साङ्घाई पुगे । त्यसबेला उनी २३ वर्षका युवा थिए ।
साङ्घाईको अर्थ ‘समुद्रभन्दा माथि’ हो – राजनैतिक र आर्थिकरूपले राष्ट्रभन्दा माथि । साङ्घाईको एक भाग फ्रान्सेलीहरूको क्षेत्र थियो । त्यो क्षेत्र १० हजार एकड थियो, ३० लाख चिनियाँ मजदुर र विदेशीहरू त्यहाँ बस्थे । त्यसमा धेरै चिनियाँ महिलाहरूको चिया पसल, रिक्सा तान्ने र वेश्यालयहरू थिए । सारमा साङ्घाई अत्यन्त फोहर थियो, भोका–नाङ्गा, शरणार्थीहरूको स्थल थियो । केटाकेटी, राम्रा केटीहरू बेचिने ठाउँ साङ्घाई थियो । त्यसबेला चीन भन्नु नै जापानी बासिन्दाहरू र तिनीहरूका वाणिज्य दूतहरू रहन्थे । फ्रान्सेली क्षेत्र मुठीभर फ्रान्सेलीहरूको हातमा थियो र चिनियाँहरूले फ्रान्सेलीहरूलाई सबै प्रकारको कर तिर्नुपर्दथ्यो ।
उनले चीनमा ‘सिकागो ट्रिव्युन’ (Chicago Tribune) मा काम गरे । उनले न्युयोर्कको ‘हेराल्ड ट्रिव्युन’ (Herald Tribune) भन्ने साप्ताहिकमा पनि योगदान गरे । पछि ‘हेराल्ड ट्रिव्युन’ दैनिक भयो । उनले त्यसमा काम गर्दै गए र उनी चीनको उत्तरी भागको यात्रामा पठाइए । अमेरिकामा सँगै पत्रकारिता पढेका साथी जे.बी. पावेल (J.B. Powell) को सम्पादनमा निस्कने अङ्ग्रेजी ‘चिनियाँ साप्ताहिक समीक्षा’ (China Weekly Review) मा उनले काम गरे । उनी पुनः दक्षिणी चीन हुँदै भारततिर पठाइए ।
एड्गर स्नोले निङ्गपो (Ningpo) देखि हान्को (Hankow), नानकिङ्गबाट हार्विन (Harbin), पेकिङ्गबाट ठूलो पर्खाल (Great Wall) र त्यहाँबाट मञ्चुरिया र कोरियाको ८ हजार माइलको रेलयात्रा गरे । कुब्ला खाँले शासन गर्दाको मार्कोपोलो पुल, चीनको भेनिस भनिने हांगचाउ, नानकिङ्ग, कम्फ्युसियसको जन्मस्थल आदिको भ्रमण गर्दै चीनको विदेशी समाज र माथिल्लो स्तरका मानिसहरूबारे जानकारी हासिल गरे । त्यसबेला चीनको जनसङ्ख्या ४० करोड थियो ।
बिस्तारै उनी दक्षिण–पूर्वी एसियाको समेत संवाददाता भए र साङ्घाईबाट सानो जापानी जहाजबाट उनी फार्मोसा (Farmosa) पुगे । तुलनात्मकरूपमा उनले फार्मोसा अर्थात् ताइवान (Taiwan) राम्रो पाए । सफा, समृद्ध र माग्नेहरू फाट्टफुट्टमात्रै उनले देखे । स्वास्थ्य सेवा र शिक्षा राम्रो, जीवनस्तर र साक्षरता प्रतिशत माथि थियो । फार्मोसाबाट उनी फूचो (Foochow), अमोई (Amoy) र स्वाटो (Swatow) हुँदै क्वान्तुङ्ग प्रान्तको क्यान्टन (Canton) पुगे । क्यान्टन चीनको गणतन्त्रवादी र पहिलो राष्ट्रपति सन यात–सेनको जन्मथलो र राष्ट्रवादी क्रान्तिको थलो थियो । त्यो ठाउँ त्यसबेला होनोलुलुका चिनियाँहरूको प्रभावमा थियो । क्यान्टन चीनको तेस्रो र सबभन्दा ठूलो महानगर थियो । त्यहाँ ‘सत्य चीन’ (China Truth) भन्ने पत्रिका चल्थ्यो । तर क्यान्टन सोचेजस्तो राष्ट्रवादीहरूको उदाहरण या नमुनाको भने उनले पाएनन् । कर्मचारीहरू, साहुमहाजन, बैङ्कका मालिकहरू र गुण्डाहरूको दबदबा थियो । भूमि, यातायातको साधन, नून, सुती, रक्सी, वेश्यालय, रेष्टुराँ र अन्य मनोरञ्जनका साधनहरूमा कर छलिन्थ्यो र भ्रष्टाचार हुन्थ्यो ।
क्यान्टनबाट उनी सानो पोर्चुगाली उपनिवेश मकाओ (Macao) पुगे । त्यहाँका आम्दानीको स्रोत पनि जुवा, अफिम र वेश्यावृत्ति थियो । मकाओबाट सानो पानीजहाज चढेर एड्गर स्नो उत्तर भियतनामको टोन्किन (Tonkin) खाडीतिर लागे । ४५० किलोमिटरको यात्रापछि उनी राजधानी हनोइको पूर्वको बन्दरगाह हाइफोङ्ग (Haiphong) ओर्लिए ।
फ्रान्सेली उपनिवेशवादीहरू कुराकानीमा हिन्द–चीनमा परोपकारी वा सभ्य ढङ्गले उपनिवेश चलाएको धाक लाउँथे । दुई चारजना माथिल्ला खान्दानीहरूलाई फ्रान्समा अध्ययन गर्न पठाई केही महिलाहरूलाई फ्रान्सेली भाषा र संस्कृतिमा अभ्यस्त गराउनुलाई नै तिनीहरू ठूलो काम गरेको सम्झन्थे । तर, साँचो अर्थमा तिनीहरू साधारण भियतनामी जनतालाई पशुसरह व्यवहार गर्थे र दमनको कारण टोन्किनको जनतामा हाँसो भन्ने कुरै उनले देखेनन् ।
पूर्वी एसियामा जापानबाहेक हनोइका सडक चौडा र दायाँबाया बिरुवा रोपिएको राम्रो देखिन्थ्यो । दक्षिणको सैगोन सहर ठूलो भए पनि भद्रगोल थियो । यसकारण विदेशी कार्यालयहरू हनोइमा थिए । भियतनाममा एउटामात्रै रेलको बाटो थियो । दुई करोड जनता भएको भियतनाममा हजारौँ जनता रोग, भोक, अज्ञानता र हिलोमैलोमा डुबेका थिए ।
युनानबाट बर्मा
भियतनामबाट एड्गर स्नो युनानफू (Yunanfu) पुगे । कुन्मिङ्ग (Kunming) त्यसको राजधानी थियो । अफिमको व्यापार, डकैतीको बिगबिगी, केटीहरूको बेचबिखन, युद्ध सरदारहरूजस्ता सिद्धान्तहीन राजनैतिक नेताहरू, अमेरिकी बैङ्कमा पैसा जम्मा गर्ने धनीहरू र पाँच लाख दासहरूको अञ्चल थियो । क्रान्ति, प्रतिक्रान्तिकारी र राष्ट्रवादबारे माथिल्ला स्तरका व्यक्तिहरू र क्षेत्रहरू विभाजित हुँदै थियो । युनान (Yun-nan) को अर्थ हो –बादलको दक्षिण । धेरै भरियाहरू राखेर एड्गर स्नो येनान, तिब्बतको सीमा हुँदै केही दिनपछि बर्माको सरहद पुगे । बर्माको सरहदबाट रङ्गुन जाने बाटोमा खच्चरबाट लडेर उनको घुँडामा ठूलो चोट प¥यो र केही दिन उनले त्यहीँ उपचारमा बिताए ।
बर्माका नेताहरूमा चिनियाँ कम्युनिस्टको प्रभाव नपरून् भनेर अङ्ग्रेजहरू समाजवादको प्रचारमा लागेका थिए र बर्माका जनता र नेताहरूमा भारतविरोधी भावना थियो र बर्माले स्वतन्त्रता पायो ।
चीन फर्के
एड्गर स्नो बर्माबाट भारत पुगे । भारतको उनले पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मको यात्रा गरे । भारतमा उनले दार्शनिक, विचारक, लेखक कवि–कलाकारहरूसँग भेट गरे तथा छलफल गरे । तिनीहरूकै माध्यमबाट गान्धीजी, नेहरू र अन्य नेताहरूसम्म उनी पुगे । केही स्थानीय तहका भूमिगत महिला कम्युनिस्ट कार्यकर्ता सुहासिनी (Suhasini), युवा कम्युनिस्ट लीग, मजदुर लीग आदि–अधिकारी (Adi- Adhikari) आदिसँग कुराकानी गरे । भारतका मजदुरहरूको स्थिति अत्यन्त दयनीय थियो, गरिब महिलाहरू आफूलाई बेच्न बाध्य थिए र भारतमा माक्र्सवादलाई त्यसबेला धर्मको रूपमा लिन्थे ।
गान्धीजीको सत्याग्रह, अहिंसा, धर्म मिश्रित राजनीति उनलाई दुरुह लाग्यो भने नेहरूको समाजवाद समस्याको समाधान लाग्यो, पछि उनलाई अफिमको व्यापारी, तस्कर र कमिन्टर्नको एजेन्टको भूmटा आरोपमा पक्राउ पर्ने सम्भावना हुँदा उनी चीन फर्के ।
सन् १९३२ मा अमेरिकी वाणिज्य दूतावास काम गर्ने हेलेन फोस्टर स्नो (Helen Foster Snow) सँग उनको प्रेम भयो । त्यसबेला उनी २७ वर्षका थिए ।
हेलेन फोस्टर (Helen Foster)
सन् १९३३ तिर जापानले साङ्घाईमा दोस्रो पटक आक्रमण ग¥यो, साङ्घाईमा अमेरिकी वाणिज्य दूतावासमा काम गर्ने हेलेन फोस्टरसँग एड्गर स्नोको सम्बन्ध गाढा हुँदै गयो र त्यो सम्बन्ध विवाहमा परिणत भयो । मधुमास मनाउन एड्गर स्नो आफ्नी पत्नीसँग जापान पुगे तथा त्यहाँबाट फर्केर पेकिङ्ग पुगी ‘सुदूर पूर्वको मोर्चा’ (Far Eastern Front) पुस्तक तयार गर्न लागे । साथसाथै येनचिङ्ग विश्वविद्यालयमा अध्यापन गरे । विश्वविद्यालयकै पुस्तकालयमा उनले माक्र्सवादी सिद्धान्तको अध्ययन गरे । त्यहीँ उनले कम्युनिस्ट आन्दोलनका युवा–विद्यार्थी कार्यकर्ताहरूसँग परिचय बढाए । ती युवाहरूमार्फत उनको सम्बन्ध कम्युनिस्ट पार्टीको प्रधानकार्यालयका नेताहरूसम्म पुग्यो । उनले चीनमै बस्ने निर्णय गरे तथा जिउँदो चीन (Living China) पुस्तक लेखे ।
उनी ‘शनिबारे सन्ध्या समाचार’ ( The Saturday Evening Post) मा काम गर्दै थिए र इन्डोनेसियाका टापुहरूमा हेलेनसँगै भ्रमणमा गए । बोर्नियो र सेलेवेसका कति टापुमा हल्यान्डले उपनिवेश बनाएको थियो । नरिवल, काठ र रबर त्यहाँको प्राकृतिक स्रोत थियो । जाभा, पापाउ, न्यूगिनी, बालि आदि टापुहरूका आदिवासीहरूको २१० दिने पात्रो र तिनीहरूको सभ्यता, रीतिरिवाज, शिक्षा–संस्कृति अत्यन्त प्राकृतिक र विकसित थियो । डचहरूले त्यसैबेला ती आदिवासी तथा त्यहाँको संस्कृतिलाई पर्यटन उद्योगको रूपमा प्रयोग गरेका थिए ।
इन्डोनेसियाबाट फर्केर स्नो परिवारले पेकिङ्गमा घरजम ग¥यो । पेकिङ्ग अफिसर, विद्वान, जमिनदार, खान्दानी, साहुमहाजन, रिक्सा चालक र साधारण चिनियाँ जनता र विदेशी कूटनीतिज्ञहरू बस्ने, बगैँचा, पोखरी र फूलैफूलको महानगर थियो ।
पेकिङ्गमा स्नोले आफ्नो चिनियाँ भाषाको जानकारीलाई अझ राम्रो बनाउने अवसर पाए । साङ्घाईमा बस्दा उनले चिनियाँ विद्वान्, शिक्षक र महान् लेखक लु सुन (Lu Hsun) सँग भेटघाट र छलफल गर्ने मौका पाएका थिए । लु सुनको ‘आह क्यूको साँचो कथा’ भन्ने रचनालाई अङ्ग्रेजीमा अनुवाद गर्न अनुवादक याओ सिन–नुङ्ग (Yao Hsin-Nung) लाई सघाएका थिए । याओ सूचाओ विश्वविद्यालयका स्नातक र अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएका व्यक्ति थिए । स्नोले मिलेर काम गर्न याओलाई पेकिङ्ग बोलाए । त्यसबेला अनुवादकहरूलाई सा¥है कम पारिश्रमिक दिने गरिन्थ्यो । लु सुनसँगको सम्झना गर्दै उनले आफ्नो रचना ‘सुरुका यात्रा’ Journey to the Beginning मा गणतन्त्रबारे लु सुनको टिप्पणीलाई उल्लेख गरे –‘गणतन्त्रभन्दा पहिले जनता दास थिए । पछि हामीहरू पूर्व दासहरूका दास भयौँ ।’
चीनको दोस्रो युवा आन्दोलन
सन् १९३५ मा जापानले मञ्चुरिया र भित्री मङ्गोलिया कब्जामा लियो र ठूलो पर्खालको दक्षिणको होपै – चाहार क्षेत्रलाई ‘स्वायत्त’ बनाउन खोज्यो । च्याङ्ग काई–शेक जापानसँग लड्नुको अर्थ कम्युनिस्टको विजय सम्झन्थ्यो । जापान ठूलो पर्खालको दक्षिण र पेकिङ्गको बीचको भागलाई ‘असैनिक क्षेत्र’ घोषणा गराउन चाहन्थ्यो । त्यसको अर्थ अर्काे पटक ती क्षेत्र जापानको नियन्त्रणमा जान्थ्यो । कोमिनताङ्ग जापानसँग लड्ने पक्षमा थिएन र एक पुरानो राष्ट्रवादी सिपाहीँ जनरल सुङ्ग चे–युयान (Sung Cheh–Yuan)लाई होपै – चाहर ‘स्वायत्त’ क्षेत्रको जिम्मा सुम्पियो ।
सन् १९३५ को डिसेम्बर महिना थियो, विद्यार्थीहरूको त्यो भावना स्नो परिवारले बुझ्यो र देश बचाउन विद्यार्थीहरूलाई उत्साहित गर्न थाले । ९ डिसेम्बरको दिन पेकिङ्गका हजारौँ युवा–विद्यार्थीहरूले ‘नक्कली साम्राज्यवाद मुर्दावाद ।’, ‘विश्वासघातीहरूलाई पक्राउ गर !’, ‘जापानी साम्राज्यवाद मुर्दावाद !’, ‘चीनलाई बचाऊ !’ जस्ता नाराहरू लगाएर प्रदर्शन, पर्चा, पोष्टर, पताका, उपचार दल, सम्चारेहरू र सञ्चालन समिति बनिसकेका थिए । प्रहरीले लाठी प्रहार ग¥यो, हावामा गोली चलायो, स्थिति झन् चर्कियो ।
१७ डिसेम्बर १९३५ का दिन पेकिङ्ग र थेनचिनमा दोस्रो व्यापक प्रदर्शन भयो । त्यसले व्यापकता लियो । जापान जिल्लियो, जनरल सुङ्गले जापानको माग जनताको विरोधका कारण केही गर्न नसक्ने बतायो । जापानी जेनेरल केन्जि डोइहारा (Kanji Doihara) लाई फिर्ता बोलाइयो । सन् १९१९ को मई महिनाको युवा आन्दोलनपछि ९ डिसेम्बर १९३५ को युवा आन्दोलन अत्यन्त महत्वपूर्ण रह्यो ।
त्यसबेला कम्युनिस्टहरूको लाल इलाकालाई घेरामा राख्न राष्ट्रवादी सरकारको राष्ट्रपति च्याङ्ग काई–शेकले सियान (Xian) मा बलियो मञ्चुरियाली सेना राखेको थियो । त्यसको उत्तरतिर शान्सि (Shansi) प्रान्तको येनान (Yenan) लाई चिनियाँ कम्युनिस्ट सरकारको राजधानी बनाइएको थियो । एड्गर स्नोलाई लालइलाकाको प्रधानकार्यालयबाट बोलावट भयो । उनी र उनका एकजना घनिष्ठ साथी जर्ज हाटेम (George Hatem) सियान पुगे । त्यहाँबाट लुकीछिपी तिनीहरू शान्सि प्रान्तको येनान र पाओ आन (Pao An) पुगे । अहिलेको रोमन वर्णमालामा दिएको उच्चारणअनुसार (Bao’an) लेखिन्छ ।
कम्युनिस्ट सदरमुकाममा
एड्गर स्नोले साङ्घाईमा सुङ चिङ्ग लिङ्गमार्फत कम्युनिस्ट पार्टीको केन्द्र येनानको पाओ आनमा पुग्न जून १९३६ मा मिलाएका थिए । सियानफू (Sianfu) हुँदै लालइलाकामा चाउ एन–लाइ, सेनाको सञ्चार विभाग प्रमुख लि को नुङ्ग (Li KO Nung) र माथिल्लो कमान्डर येन चिन–इङ्ग (Yen Chin-Ying) सँग भेट गरे । सहरी जीवनको फरासिला, दा¥ही भएका चाउ एन–लाइ त्यतिखेर ३८ वर्ष थिए ।
९२ दिनको घोडा र पैदलको कठिन यात्रापछि पाओ आनमा माओ त्सेतुङ्गसँग स्नोको भेट भयो । ४२ वर्षका व्यक्तिगत कुरा गर्न नचाहने माओसँग चीनको इतिहास, एसियाली माक्र्सवाद र पार्टीको इतिहासबारे कुराकानी गरे ।
पाओ आनमा तिनीहरू ३ महिना बसे । त्यहाँ एड्गर स्नोले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, त्यसपछिका महत्वपूर्ण घटनाहरू, माओ त्सेतुङ्गको नेतृत्वमा आइपुग्दासम्मका पार्टीका सैद्धान्तिक सङ्घर्षहरूको जानकारी पाए र टिपोट गरे । त्यसपछि महत्वपूर्ण केन्द्रीय नेताहरूसँग भेटघाट गरी तिनीहरूका जीवनीहरूको टिपोट बनाए । त्यस टिपोटलाई एड्गर स्नोले अङ्ग्रेजीमा लेखे, त्यसलाई फेरि चिनियाँ भाषामा अनुवाद गरी माओ त्सेतुङ्ग र नेताहरूलाई देखाए । अनेक केरमेटपछि त्यसलाई अन्तिम रूप दिइयो । त्यसबेला उल्था गर्ने व्यक्तिमध्ये येनचिङ्ग विश्वविद्यालयका छात्र ह्वाङ्ग ह्वा (Huang Hua) एक थिए । पछि उनी संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलका नेता भए ।
पाओ आनबाट पेकिङ्ग फर्केपछि एड्गर स्नोले सारमा चीनमै प्रकाशित अङ्ग्रेजीको ‘चिनियाँ साप्ताहिक समीक्षा ’ (China Weekly Review) मा धाराबाहिक लेखको रूपमा प्रकाशित गरे ।
सन् १९३७ मा त्यही लेखहरूलाई बेलायतमा ‘चीनको आकाशमा रातो तारा’ (Red Star Over China) भन्ने पुस्तकको रूपमा भिक्टोर गोलानस (Victor Gollancz) बाट पहिलोपटक प्रकाशित गरियो । सन् १९३८ मा संरा अमेरिकामा पनि प्रकाशित गरियो । सन् १९६८, १९७२ र १९७३ मा उक्त पुस्तकको संशोधित संस्करणहरू प्रकाशित भए ।
सन् १९३९ मा एड्गर स्नो पुनः येनानमा माओ त्से–तुङ्ग भेट्न गए । चीन बस्दा उनले ‘सिकागो ट्रिव्युन’ (Chicago Tribune), ‘न्युयोर्क सन’ (The New York Sun), ‘न्युयोर्क हेराल्ड ट्रिव्युन’ (The New York Herald Tribune) र ‘लण्डन दैनिक हेराल्ड’ (The London Daily Herald) मा पनि काम गरे ।
सन् १९४१ मा एड्गर स्नो आफ्नो जहानसँग अमेरिका फर्के । त्यहाँ तिनीहरू आपसमा छुट्टिए अर्थात् हेलेन फोष्टरसँग पारपाचुके भयो । सन् १९४२ अप्रिल महिनादेखि उनी ‘शनिबार सन्ध्या’ (The Saturday Evening Post) को निम्ति अन्तर्राष्ट्रिय संवाददाताको रूपमा काम गरे । दोस्रो विश्वयुद्ध सुरु भइसकेको हुँदा उनी अप्रिलमा अफ्रिका पुगे र मई महिनामा दिल्ली पुगी भारत, बेलायतको स्थितिबारे बुझ्न जुलाईमा वार्धा (Wardha) मा नेहरूसँग अन्तर्वार्ता लिए । भारतबाट उनी मस्को पुगे ।
रुसमा उनी अमेरिकी दूतावासको पर्यवेक्षणमा स्तालिनग्राडको लडाइँमा पुगे । त्यसबेला स्नोले एक तटस्थ पर्यवेक्षकको रूपमा भन्दा पनि फासीवादविरोधी मित्रराष्ट्रहरूको पक्षमा समाचारहरू लेखे । एसियामा पुगेपछि उनले ‘एसियाको युद्ध’ ( The Battle for Asia) पुस्तक लेखे ।
सन् १९४४ मा उनले माओ त्सेतुङ्ग र चिनियाँ कम्युनिस्टहरू ‘किसान प्रजातन्त्रवादीहरू’ हुन्, तिनीहरू सर्वसत्तावादीहरू होइनन् भनी ‘जनता हाम्रो साथमा’ (People on Our Side) भन्ने पुस्तक लेखे । त्यसबेला स्नो ३९ वर्षका थिए । उनले ‘सोभियत शैलीको सत्ता’ (The Pattern of Soviet Power) र ‘स्तालिन शान्ति चाहन्छ’ (Stalin must have Peace) भन्ने पुस्तक लेखे ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिकामा अत्यन्त कम्युनिस्टविरोधी परिस्थिति थियो । त्यस अवस्थालाई त्यहाँको प्रधानसेनापति म्याकार्थीको नामबाट ‘म्याकार्थी युग’ ( McCarthy Period) पनि भन्ने गरिन्छ । त्यसबेला संरा अमेरिका आफ्नै तानाशाही व्यवस्थाको रूपमा प्रस्टिएको थियो । त्यस वातावरणमा अमेरिकी सङ्घीय गुप्तचर विभाग (FDI) ले स्नोलाई लेखेट्नु अस्वाभाविक थिएन ।
सन् १९५७ मा उनले ‘रातो चीनका टिपोटहरू’ (China : Random Notes on Red China) लेखे र सन् १९५८ मा बेलायतबाट ‘सुरुका यात्रा’ (ourney to the Begining) प्रकाशित गरे । त्यस पुस्तकमा सन् १९२८–२९ तिरको चीनको कहालीलाग्दो बयान र भ्रमण गरेका देश, जनता र नेताहरूबारे उल्लेख छ । संरा अमेरिकामा बस्न उनलाई गा¥हो भएको हुँदा उनी स्वीट्जरल्यान्डमा आफ्नी दोस्रो पत्नी लुइस ह्वीलर स्नो ( Louis Wheelor Snow) सँगै बस्न गए । तर, नागरिकता भने अमेरिकाकै थियो ।
सन् १९६० मा एड्गर स्नो पुनः चीन गए, उनले माओ त्सेतुङ्ग र चाउ एन–लाइसँग अन्तर्वार्ता पनि लिए । सन् १९६३ मा उनले १९५९ देखि १९६१ को चीनको स्थितिसमेत प्रस्ट हुने गरी ‘आजको रातो चीन ः नदीको अर्को भाग’ ( Red China Today : The Other Side of The River) शीर्षकको पुस्तक प्रकाशित गरे ।
सन् १९६४ मा उनी फेरि चीनको भ्रमणमा गए । भियतनाम युद्धमा संरा अमेरिका झन् झन् फस्दै गयो, ऊ त्यहाँबाट न भाग्न सक्ने न त लडाइँ चालू राख्न सक्ने स्थितिमा पुग्यो । अमेरिकामा भियतनाम युद्धविरोधी जनमत बढ्दै थियो, दिनको झण्डै १२ करोड डलर खर्च हुँदै थियो, अमेरिकी डलरको मूल्य घट्दै गयो । यस्तो स्थितिमा भियतनाम युद्धबाट उम्कन अमेरिकाले चीनसँग वार्ता नगरी सुख पाउने स्थिति नै थिएन । अमेरिकाले पठाउने दूतलाई चीनले स्वीकार गर्न मानेन भने चीनले भनेको मान्न अमेरिका तयार थिएन ।
सन् १९७० मा स्वीट्जरल्यान्डमा बसेका एड्गर स्नोलाई राष्ट्रपति निक्सनले चीन गई सम्बन्ध सुधारको निम्ति आग्रह गरे । एड्गर स्नो चीनको पुरानो मित्र भएको नाताले चीनले स्वागत ग¥यो । त्यसपछि पिङ्गपङ्ग (टेबुलटेनिस) का खेलाडीहरूको भ्रमणको आदान–प्रदान, पत्रकारहरूको भ्रमण र हेनरी किसिँगरको चीन भ्रमणपछि अमेरिकी राष्ट्रपति निक्सन चीन पुगे ।
एसियाली र अप्रिकी देशहरूको सम्मेलन इन्डोनेशियाको वाङडुङ्ग सहरमा भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री चाउ एन–लाइले गरेका थिए । त्यहाँ अमेरिकी विदेशीमन्त्री डलेससँग चाउ एन–लाइले चीन–अमेरिकी सम्बन्ध सुधार्न हात मिलाउन खोज्दा डलेसले हात पछि हटाउने धृष्टता गरेका थिए । त्यस शिष्टाचारविरोधी व्यवहारलाई चिनियाँहरूले बिर्सेका थिएनन् ।
निक्सन पेकिङ्ग हवाई अड्डामा हवाईजहाजको सिंढीबाट तल झरी हात मिलाउन उनले नै पहिले चाओ एन–लाइतिर हात बढाए । यसरी एड्गर स्नोले चीन र संरा अमेरिकाबीचको सम्बन्ध सुधार्न भूमिका खेले । स्वीट्जरल्यान्डमा एड्गर स्नो पेटको क्यान्सर (Pancreatic Cancer) ले बिरामी भए । उनका साथी जर्ज हाटेमसँगै प्रधानमन्त्री चाउ एन–लाइले चिनियाँ डाक्टरहरूको एक टोली स्वीट्जरल्यान्ड पठाए । १५ फेब्रुअरी १९७२ मा कम्युनिस्टका एक असल मित्र र पत्रकार एड्गर स्नो ६७ वर्षको उमेरमा बिते । तर उनका रचनाहरूमा उनी सदा जीवित रहनेछन् ।
स्रोतः चार अन्तर्राष्ट्रवादी पत्रकार