मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
सीतु
युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली काव्यजगतमा एक आधुनिक कवि या स्वच्छन्दतावादी धाराका प्रवर्तकको रूपमा चिनिन्छन् । समाजको यथार्थ चित्रण गर्दागर्दै परिवर्तनको आह्वान गर्ने, शब्द–शब्दमार्फत जागरणको दून्दूभी बजाउने, आफू जन्मेको माटोको जयगान गाउने, स्वतन्त्रताको हरवखत वकालत गर्ने, प्रकृतिको सौन्दर्यमा सुगन्ध थप्ने उनको लेखनीको विशिष्ट गुण हो । त्यसैको पुष्ट्याइँ गर्दछ उनको ‘कुहिरो र घाम’ कविता सङ्ग्रहले । कविवरले सरलता र सरसतालाई नै आफ्नो अमूल्य सम्पत्ति बनाउँदै जन–जनमा नवीन सन्देश पु¥याउने र अँध्यारो समाजमा आशाको दीप जगाउने तथा प्रज्ज्वलित गर्ने सिलसिलामा रचेका कविताहरूको सङ्कलन हो ‘कुहिरो र घाम’ ।
कविवर श्रेष्ठ ‘हाम्रो नयाँ बडा दिन, अब धेरै दूर छैन’ भन्दै उत्साह र उम·का साथ आह्वान गर्छन् –
बेला भयो उठौँ लौ
हे देशका जवान र
खोलौँ सबै मिलेर
सामथ्र्यको मुहान र
(अगाडि बढौँ)
उनी नयाँ पुस्ताप्रति हर क्षण हर पल सकारात्मक बन्दै प्रशस्त आशा एवं अपेक्षा व्यक्त गर्छन् । हृदयमा इमानदारी, काँधमा जिम्मेवारी र कर्ममा बफादारी बोकेर जागी उठ्न कविवर आह्वान गर्छन् –
‘स्वर्गजस्तो देश तिम्रो यो भव्य नेपाल,
उभिएको नित्य जहाँ उज्ज्वल हिमाल ।
तिम्रो नै हो यसलाई लौ फेरि उचाल,
घन्किएको आवाज छ लौन लौ सम्हाल ।।’
युगकवि श्रेष्ठका कविता देशप्रेम, जनहित, जागरण, प्रजातन्त्रको यश्वगान, ध्वंश होइन निर्माण आदिले ओतप्रोत छन् । विचारले समेत खँदिला छन् भने गम्भीर भाव सरलतापूर्वक तर मिठास घोलेर व्यक्त गर्न सक्नुमा उनको लेखनीको गुणवत्ता झल्किन्छ । उनी निर्भिकतापूर्वक विश्वजगतमा उर्लिरहेको नयाँ क्रान्तिलाई आत्मसात् गर्दै त्यसको सन्देश प्रवाह गर्छन् र विश्व क्रान्तिका नायकको यसरी महिमागान गाउन पुग्छन् –
‘दुर्बल होइन म सबल भयड्ढर तागत मेरो छ विशाल
ल्याउन सक्छु म पापी जगमा अहिल्यै अहिल्यै भुइँचाल
शोषणको जग मास्न निमित्त मेरो बलियो आधार
लेनिन गर्छु म तिमीलाई बारबार नमस्कार ।’
(लेनिनप्रति)
यस कवितामा युगकवि श्रेष्ठले सोभियत समाजवादका प्रवर्तक एवं अक्टोवर समाजवादी क्रान्तिका अग्रदूत लेनिनप्रति अगाढ स्नेह एवं आस्था व्यक्त गर्दै युगले जन्माएको एक सच्चा मानव भनी सम्बोधन गरेका छन् र युगद्रष्टाको रूपमा चित्रण गरेका छन् । लेनिनबारे नेपाली अग्रज कविहरूले लेखेको सम्भवतः यो नै पहिलो कविता हुनुपर्छ । होइन, लेखिएकै रहेछ भने पनि यति सशक्त कविता लेखिएको नहोला भन्ने अनुमान लगाउन मिल्ने प्रशस्त आधार छन् ।
सुकुन्दामुनि अँध्यारो भनेभैmँ विश्व सिँगार्न सर्वत्र पैmलिएका र परदेशमा रगत–पसिना बगाइरहेका तर दुर्भाग्य र दुर्दशाबाट कहिल्यै छुट्कारा पाउन नसकेका नेपाली जनताप्रति गुनासो व्यक्त गर्दै कविवर श्रेष्ठ भन्छन् –
‘अरुको देश बचायौ कति रगत बहाई,
परन्तु आफ्नो माटो छ सुख्खा पसिना नपाई ।’
(आजको समस्या)
सिद्धिचरण श्रेष्ठ युवा शक्तिप्रति अपार आशा एवं दृढ विश्वास व्यक्त गर्छन् –
एक बली लाख बाल्ने ज्योतिका हौँ धार हामी ।
डेढ कोटी नेपालीको शक्तिका आधार हामी ।।
(तरुण गीत)
तर, उनी कहिलेकाहीं आफैप्रति पनि असन्तुष्टि व्यक्त गर्छन् र समाज परिवर्तनमा यथोचित भूमिका निर्वाह गर्न नसक्दाको छट्पटाहट पोख्छन्–
‘यो देशलाई परन्तु मैले सकिन क्यै गर्न
पचास हिउँद काटेँ तापनि सकिनँ क्यै गर्न
क्यै गर्छु भन्छु मनले मात्र काममा उत्रेन
मरुमा पानी समान आयु सुक्दै छ अडेन
पुरानो प्रथा, पुरानो कन्था पुरानो रिवाज
त्यस्तै छ अझ सकिनँ फेर्न यो कालो समाज ।’
(केही गर्न सकिनँ)
एउटा सुन्दर र बहुचर्चित कवितामार्फत सिद्धिचरण आप्mनो विद्रोही सोच, सच्चा समर्पण भाव यसरी अभिव्यक्त गर्छन् –
‘क्यारुँ, म यो देश निमित्त क्यारुँ र
नाचूँ कि गाऊँ कि गला मिलाऊँ
सहर्ष काटी शिर नै चढाऊँ
या श्वास जम्मै यसमै मिलाऊँ ।’
(नेपाल)
देशको पवित्र माटोलाई मनमा सदा बोक्ने कविले कविताको अन्त्य यसरी
गर्छन् –
त्यो सूर्य–चन्द्राड्ढित लाल झण्डा
हाम्रो छ प्यारो अति प्राणभन्दा ।
(नेपाल)
कविवर श्रेष्ठ आक्रोश र असन्तुष्टि पोख्दा–पोख्दै आत्मबिलौना पनि गर्न पुग्छन् –
‘धनी, मानी, नामी जन कति थिए आज धुलिए
निशानजम्मै क्यै नरही सब ती फुस्सिन गए
यही जान्दा–जान्दै जन–धन भनी हिँड्छु किन म
म जस्तो को होला जगतभरमा मूर्ख अधम ।’
(आत्म–बिलौना)
मानिसहरूले जीवन सार्थक बनाउन द्रव्य मोह, व्यक्तिगत स्वार्थ, भौतिक विलासिता त्याग्न सक्नुपर्ने सल्लाह दिन्छन् युगकवि श्रेष्ठ । मानव समाज शुभलाभ, शोषणकै कारण कुरूप बन्दै गइरहेको यथार्थ उजागर गर्दै कवि भन्छन् ः
‘म जस्तो सानो को छ र जगतमा तुच्छ अजना
परन्तु भन्ठान्छु अतिशय ठूलो मानधनमा
म इष्र्यालु, दोषी, शठ र कपटी दुष्ट मतिको
मकुण्डो मान्छेको तर मन भने तुच्छ पशुको ।’
(आत्म–बिलौना)
यसरी यस कवितामा व्यङ्ग्यमिश्रित भावमा कविले जीवनको अर्थ र उद्देश्यबारे आफ्नो मत पेश गर्दै मूल्यहीन जीवन उद्देश्यप्रति असहमति र तुच्छ कर्मप्रति घृणा जाहेर गरेका छन् ।
युगकवि सिद्धिचरणले राणा शासनको अन्त्यपश्चात् अर्थात् विसं २००८ देखि विसं २०४२ अर्थात निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यपूर्व रचेका जम्माजम्मी ६७ वटा लामा–छोटा कविताहरूको सङ्ग्रह हो – कुहिरो र घाम । साझा प्रकाशनद्वारा विसं २०४५ मा पहिलो पटक प्रकाशित यो कृतिले कविवर सिद्धिचरणलाई नेपाली पाठकमाझ थप प्रस्ट चिनायो । नेपाली समाजको विशेषगरी बीस, तीस र चालीसको दसकको अवस्था, भावना र चिन्तन शैलीको चित्रण यस पुस्तकमा सङ्ग्रहित कविताहरूले गर्छन् । साथै ती कविताले वर्तमानलाई समेत सम्बोधन गरिरहेको र परिवर्तनको निम्ति आज पनि घच्घच्याइरहेको आभास हुन्छ । यसमा सङ्ग्रहित केही कालजयी कविताले यो सङ्ग्रहलाई अझ ओजनदार बनाइदिएको छ । कविवर सिद्धिचरणका कविता नेपाली आधुनिक एवं प्रगतिशील काव्यधाराको मङ्गलाचरण हो भन्दा अतिशयुक्ति
नहोला !
Leave a Reply