तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काभ्रे, ५ साउन । भक्तपुरका अग्रज किसानहरूले ५० वर्षअघि भ्रष्टाचारविरूध्द सङ्घर्ष गरेको २०२५ साउन २ र २०२६ असार १९ को ऐतिहासिक महत्वबारे नेपाल क्रान्तिकारी मजदुर सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा बनेपामा परिचर्चा कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले भ्रष्टाचारविरूध्द अग्रज किसान कार्यकर्ताहरूले गरेको सङ्घर्षले भक्तपुरमा मात्र नभई देशका जनताले पाठ सिक्न पाएको बताउनुभयो । सहकारी संस्थाले सेवाको भावनाले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भारतबाट आयातीत तरकारी र फलफूलमा विषादी भएको भनेर नाकामा रोकियो । भारतीय दूतावासले पत्र पठाएपछि विषादी परीक्षण गर्ने उपकरण नभएको बहानामा सरकार पूर्वनिर्णयबाट पछाडि हट्यो । भारतको दबाबमा जनतालाई विष खुवाउनु सरकार जनताप्रति उत्तरदायी नहुनु हो, उहाँले भन्नुभयो ।
पारमाणविक पदार्थ युरेनियम नेपालमा उत्खनन र प्रशोधन गरिएमा विदेशीले फाइदा लिने दुष्प्रभाव नेपालीले भोग्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले भ्रष्टाचारविरूद्ध सङ्घर्षरत नेपाल मजदुर किसान पार्टीले अनुशासनहीन, भ्रष्ट र बेइमानी गर्नेलाई पार्टीबाट निष्कासन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोष हिनामिना गर्नु, काम ठग्नु पनि भ्रष्टाचार हो ।” फोरजी, वाइडबडी, टीयूलगायत जताततै भइरहेको भ्रष्टाचारकै कारण जनताले दुःख पाएको उहाँले बताउनुभयो ।
गुठीको जग्गा, दान–दक्षिणा र मठ मन्दिरको सम्पत्ति मठाधीशहरूले हिनामिना गरेको चर्चा गर्दै उहाँले सरकारले ल्याएको विधेयकमा त्यसको लगत राख्नुपर्ने प्रावधानले टाठाबाठा सामन्त र मठाधीशहरूले धर्म, सम्पदा मास्न लाग्यो भनेर सोझासीधा जनतालाई प्रस्तावित गुठी विधेयकविरूद्ध भड्काएर विधेयक फिर्ता लिन लगाएको बताउनुभयो । २०७४ को श्रम ऐनअनुसार श्रमिकको न्यूनतम मासिक तलब रू. १३४५० भए तापनि सबै ठाउँमा उपलब्ध गरिएको छैन, उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्णसिं तामाङ, रविन तामाङ, सुस्मिता न्यौपाने, सुरेश शाही ठकुरी र ज्ञानबहादुर तामाङले ऐतिहासिक भ्रष्टाचारविरोधी सङ्घर्षको स्मरण गर्दै नयाँ पुस्ताले भ्रष्टाचारविरूद्ध डटेर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply