भर्खरै :

प्राकृतिक सहरमा नेवारी सांस्कृतिक सङ्ग्रहालय

– वासुदेव पौडेल/कृष्ण दवाडी
पोखरा, ९ साउन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को सांस्कृतिक गन्तव्य थपिने भएको छ ।
तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण सहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो ।
नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो पुस्तालाई ज्ञान दिने र पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ सङ्ग्रहालय निर्माण गरिएको हो ।
नेवाःखल कास्कीले नेवारी संस्कृतिलाई जीवन्त राख्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले पोखरा महानगरपालिका–३ नदीपुरमा निर्माण गरिरहेको सङ्ग्रहालय सम्पन्न भएसँगै यो पोखरा पर्यटनको अर्को महत्वपूर्ण गन्तव्य बन्ने छ ।
भीमसेन द्वादश गुठीको पौने तीन रोपनी जमीनमा निर्मित आकर्षक नेवाः क्षे (नेवारी भवन) को तेस्रो तल्लामा सङ्ग्रहालय स्थापना गरिएको छ । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले सङ्ग्रहालय अबको ६ महिनापछि पूर्णतः सम्पन्न भई सर्वसाधारणका लागि खुला गरिने जानकारी दिनुभयो ।
सङ्ग्रहालयमा नेवारी परम्परा तथा संस्कृति झल्काउने पुराना भाँडा, रोजा, कलश, मधुशलगायतका सामग्री राखिएको र विस्तारै थप गर्दै जाने उहाँले जानकारी दिनुभयो । सङ्ग्रहालयभित्र २३६ वर्ष पुरानो पाथी देख्न सकिन्छ भने ६ फिट अग्लो पानस पनि छ । त्यस्तै २०९ वर्षअघिको गाग्री सङ्ग्रहालयमा राखिएको छ ।
सङ्ग्रहालयभित्रै तायामचाः, बाह्रभैरव नाचलगायत सम्पूर्ण नेवारी कर्मकाण्ड बारेको श्रव्यदृश्य सामग्रीसमेत राख्दै नेवारी संस्कार संस्कृतिका अध्येता र पर्यटकलाई अवलोकन गराउने लक्ष्य राखिएको पालिखेले बताउनुभयो । तीनतले भवनलाई कलात्मक ढङ्गले निर्माण गरिएको छ । भक्तपुरबाट ल्याइएको करीब २०० वर्ष पुराना झ्याल, ढोका भवनमा प्रयोग गरिएको छ । पालिखेका अनुसार हालसम्म भवनका लागि सात करोड रुपैयाँ खर्च भइसकेको र बाँकी काम सम्पन्न गर्न थप रु. दुई करोड लाग्नेछ ।
निर्माण कार्य सकिएपछि पर्यटकलाई निश्चित शुल्क लिएर अवलोकन गर्ने व्यवस्था गरिने उहाँको भनाइ छ । “जनजातिका संस्कृति पनि पर्यटनका महत्वपूर्ण आकर्षण हुन्, सङ्ग्रहालयबाट कम्तीमा पनि पोखरामा पर्यटकको बसाइँ चार घण्टा लम्बिने विश्वास गरेका छौँ”, पालिखेले थप्नुभयो ।
संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार कास्कीका तत्कालीन राजा सिद्धिनारायण शाहले विसं १८३५ मा भक्तपुरबाट २६ घर नेवारलाई ल्याएर पोखरामा बसाउनुभएको थियो । त्यस समयदेखि नै सङ्गठितरुपमा नेवार समुदायको पोखरामा बस्ती विकास सुरु हुनुका साथै उनीहरूले यहाँ बन्द व्यापार सुरु गरेको उहाँले जानकारी दिनुभयो । विसं २०२० सम्म पनि पोखरामा मुख्य चोक तथा बजारमा नेवार समुदाय नै व्यापारमा सहभागी भएको श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *