भर्खरै :

फोहर व्यवस्थापनमा उपमहानगरपालिका जिम्मेवार बनोस्

– लक्ष्मी पोखरेल
धनगढी, ९ साउन । कुनै पनि युगको पहिचान स्वच्छता, सुन्दरता र सरसफाइबाट झल्किने गर्दछ । यसले सभ्य नगरवासी र जिम्मेवार स्थानीय निकायको परिचय दिनसक्छ । तर, धनगढी उपमहानगरपालिकाले आफ्नो सौन्दर्यता गुमाउँदै छ ।
धनगढी उपमहानगरपालिका सुदूरपश्चिमको अस्थायी राजधानी रहेको प्रदेशकै सबैभन्दा ठूलो सहर हो । अस्थायी राजधानी घोषणासँगै यहाँको बसोबास र आवागमनमा वृद्धि भइरहेको छ ।
अव्यवस्थित बसोबासको समस्या झेल्दै आएको धनगढी नगर क्षेत्रमा फोहोरमैला वृद्धि भइरहेको छ । नागरिकहरूको जनचेतनाको अभाव र धनगढी उपमहानगरपालिकाको फोहोरमैला सङ्कलन र व्यवस्थापनप्रतिको उदासिनताले नगर क्षेत्रमा दुर्गन्ध बढ्दै गएको छ ।
नगर सफाइ गर्ने प्रमुख जिम्मेवारी बोकेको धनगढी नगरपालिकाका सफाइ मजदुरले नगर क्षेत्रबाट सञ्चालन भएको फोहोर मुख्य सडक तथा खानेपानीको धारा नजिकै थुपार्नाले उपमहानगरपालिकाको सफाइ गर्ने कार्यमा प्रश्न उठ्न थालेको छ । बिहान अबेरसम्मै नैनादेवी मन्दिर रहेको गेट, जिल्ला प्रशासनअगाडि रहेको खानेपानी धाराको नजिक, मालपोत रोडको खानेपानी धाराको नजिक र पशुरोग अन्वेषण प्रयोगशाला नजिकैको खानेपानीको ट्याङ्की नजिकै रहेको बजारमा फोहोरमैला थुपार्नाले सहरको शोभालाई बिगारिदिएको छ ।
नगरभित्रका पैदल यात्री र व्यापारीले पिउने पानीको धाराबाट नजिकै थुपारिएको फोहर समयमै नउठाउँदा नगरवासी विभिन्न रोगको सङ्क्रमित भएका छन् ।
धनगढी उपमहानगरपालिकाले स्वच्छ, सफा र हरियाली नगर बनाउने उद्देश्यले सञ्चालन गर्दै आएको ग्रीन क्लिन धनगढी अभियानप्रति नै प्रश्न उठ्न थालेको छ । पछिल्लो केही समय यता धनगढी बजार क्षेत्रलाई स्वच्छ र सफा राख्ने भन्दै कैलाली उद्योग वाणिज्य सङ्घ र धनगढी उपमहानगरपालिकाको सडक कार्यमा साताको एक पटक बजार क्षेत्रको सफाइ गर्ने कार्य पनि देखाउनकै लागि गरिएको नगरवासीको जनगुनासो छ ।
प्रचारमा आउनकै लागि भए पनि अन्य सङ्घ संस्थाले विभिन्न बेलामौकामा बजार क्षेत्रको सफाइ गरिरहेका छन् । ग्रीन क्लिन बनाउने धनगढीको अभियानलाई सफल पार्ने भन्दै उपमहानगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेर घरघरमा फलफूलका बिरुवा वितरण गरेको छ । उक्त अभियानअन्तर्गत नै नगरका भवनहरूमा हरियो रङ लगाइएको छ । यसरी विभिन्न क्षेत्रबाट नगर सफाइका कामहरू भइरहँदा पनि नगर क्षेत्र सफा र स्वच्छ हुन नसक्नुमा जनप्रतिनिधि नै दोषी हुन् ।
चुनावको बेला नगर सफाइ, ढल व्यवस्थापन, स्वस्थ पिउनेपानी नगरवासीलाई व्यवस्था गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधि चुनावमा विजय भएपछि आफ्ना प्रतिबद्धता बिर्सदै गएको भन्दै नगरवासीले गुनासो गर्दै आएका छन् ।
नागरिकहरूको जनस्वास्थ्यलाई ध्यानमा राखी स्वस्थ खानेपानी र फोहोरमैला व्यवस्थापनप्रति धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरू र सरोकारवाला निकायको ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *