भर्खरै :

भक्तपुर–नगरकोट सडकखण्डमा सत्तासीनको दोहोरो चरित्र

काठमाडौं । दुई वर्ष निर्माण अवधिमा सम्पन्न गर्ने टेन्डर परेको भक्तपुरको कमलविनायक–नगरकोट सडक ६ वर्ष बितिसक्दा पनि अझै निर्माण सम्पन्न भएको छैन । निर्माण सम्पन्न हुनु त परको कुरा, सडकको अवस्था दिनानुदिन जीर्ण बन्दै गएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने हुँदा विगत आधा दसकदेखि सो क्षेत्रका जनता र नगरकोट जाने आन्तरिक तथा विदेशी पर्यटकले यो सास्ती भोगिरहेका छन् । सञ्चारमाध्यममा नगरकोट सडक खण्डको दुरवस्थाबारे बेलाबेला चर्चा पनि भयो । तथापि अझ पनि सडकको अवस्थामा कुनै सुधार भएको छैन ।
आइतबार सङ्घीय संसदअन्तर्गत विकास समितिका सांसदहरू सो सडकको अनुगमनमा आए । अनुगमनपश्चात् समितिका अधिकांश सांसदहरू ठेकेदारकै लापरबाहीको कारण सडकको कन्तविजोग भएको निष्कर्षमा पुगे । संसदीय विकास समिति अनुगमनमा आउने खबर पाएपछि अघिल्लो दिन शनिबार सडकका खाल्डा माटोले पुर्न लगाइएको थियो ।
तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएको कारणमात्र नगरकोट सडकको चर्चा भएको होइन । नगरकोट सडक खण्ड निर्माणको ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनको मालिक शारदाप्रसाद अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालको घरबेटी भएको कारण पनि यो विषय निकै चर्चामा रह्यो । दाहालको घरबेटी भएकै कारण तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभए पनि सो कन्स्ट्रक्सनलाई कारबाही नभएको चर्चा असत्य होइन । यस सम्बन्धमा सो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रेम सुवालले नगरकोट सडक निर्माणमा भएको ढिलासुस्तीलाई लिएर पटक–पटक सदनमा बोल्नुभयो । तर, सत्तासीन दलको नेतृत्वमा रहनुभएका पुष्पकमल दाहालकै सहयोगी भएको कारण न शैलुङ कन्स्ट्रक्सनमाथि कुनै कारबाही भयो न सडक निर्माण सम्पन्न भयो । राजनीतिक संरक्षणकै कारण शैलुङ कन्स्ट्रक्सनले नगरकोट सडकमात्र होइन, अन्य निर्माणमा समेत बेवास्ता गर्दै आएको छ ।
तर, सत्तासीन नेकपाकै नेता र सांसदहरूले नै नगरकोट सडकमा ढिलाइ भएको भन्दै ठेकेदारलाई दोषारोपण गर्नु ‘आफैँ बोक्सी आफैँ धामी’ बन्नु हो । सत्ताकै संरक्षणमा ठेकेदारले उन्मुक्ति पाउने अनि त्यही दलका सांसद र कार्यकर्ताले ठेकेदारलाई सत्तोसराप गर्नु दोहोरो चरित्र हो । सर्वसाधारण जनताको आँखासामु पानीमाथिको ओभानो बन्न नै नेकपाका नेता र कार्यकर्ताले यस्तो दोहोरो चरित्र देखाएका हुन् । नेकपाका सांसद, प्रतिनिधि र कार्यकर्ता वास्तवमै सडक निर्माणमा भएको ढिलासुस्तीप्रति चिन्तित
भएको भए सडक निर्माण चुस्तताको लागि ठेकेदारलाई राजनीतिक संरक्षण दिने दलको कार्यालय र नेताको दैलोअघि धर्ना र जुलुस गर्ने हिम्मत गर्नुपर्छ ।
सस्तो लोकप्रियताको भोक नेकपाका केही नेताहरूको कमजोरी हो । मिडियामा फोटो देखाएर जनतालाई झुक्याउने होडमा लागेका केही माननीयहरू जनताको आलोचनात्मक दृष्टिबाट भने बच्न मुस्किल छ ।
बहुमत प्राप्त ‘पाँच वर्ष टिक्ने’ सरकारले एउटा निर्माण कम्पनीलाई उसले गरेको गल्तीबापत कारबाही गर्न नसकेबाट सरकार कति कमजोर छ भनी उदाङ्गो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *