भर्खरै :

नयाँ पुस्तालाई किसान आन्दोलनबारे शिक्षित बनाउन जोड

भक्तपुर, १६ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले नयाँ पुस्तालाई विगतका गौरवमय किसान सङ्घर्ष र आन्दोलनको उपलब्धिबारे शिक्षित पार्नुपर्ने औँल्याउनुभएको छ ।
नेपाल क्रान्तिकारी किसान सङ्घको ५१ औँ स्थापना दिवसको अवसरमा सङ्घको भक्तपुर नगर समितिद्वारा आयोजित किसान भेलामा अध्यक्ष रोहितले किसान सङ्घर्ष नै नेमकिपाको आधार भएको बताउनुभयो ।
उहाँले विगतमा क्रान्तिकारी किसानहरूले गरेका सङ्घर्षको स्मरण लिपिबद्ध गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
गुठी जग्गा जोतिरहेका किसानहरूले मोहियानी हक पाउनुपर्नेमा नेमकिपाको अडान रहेको स्पष्ट पार्दै गुठी संस्थानले गुठीका जग्गाहरू संरक्षण गर्नुको सट्टा मठाधीशहरूसित मिलेमतो गरी सयौँ रोपनी जग्गा बिक्री गरिसकेको र संस्थानका हाकिमहरूले संस्थान मातहतका दरबार र मठहरू कमिसन खाएर निकै कम मूल्यमा भाडामा लगाइरहेका छन् भन्नुभयो ।
उहाँले क्रान्तिको अर्थ सधैँ लडाइँमात्र नभएको स्पष्ट पार्दै शोषित पीडित जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित पार्नु र समाजमा परिवर्तन ल्याउनका लागि निःस्वार्थरूपले काम गर्नु पनि क्रान्ति भएको बताउनुभयो ।
उहाँले हरेक सङ्गठन र समितिका गतिविधिबारे सिंहावलोकन तथा कमी कमजोरीबारे आलोचना र आत्मालोचना गर्नु कम्युनिस्टहरूको विशेषता भएको बताउँदै आलोचना र आत्मालोचनाको संस्कारले नेता–कार्यकर्ताहरूबीच विश्वास र मनोबल बढ्छ भन्नुभयो ।
अध्यक्ष रोहितले वर्तमान ‘नेकपा’ सरकार कम्युनिस्ट नरहेकोमा कुनै द्विविधा नराख्न स्पष्ट पार्दै सरकारले देश र जनताको हितविरुद्ध गर्ने कामप्रति सचेत रहन निर्देशन दिनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद पे्रम सुवालले शोषित–पीडित जनताको पक्षमा गरेको सङ्घर्ष खेर नजाने बताउँदै नेमकिपाले सधैँ देश र जनताको पक्षमा निःस्वार्थरूपले सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
वर्तमान शासक दलहरूले भारतीय शासकहरूसामु स–सानो स्वार्थका लागि भिख माग्ने गर्नाले भारतीय विस्तारवादले नेपाललाई नियन्त्रणमा राख्न खोजेको बताउँदै उहाँले शासक दलहरूको दलाल चरित्र जनतामाझ उदाङ्ग्याउँदै जानुपर्छ भन्नुभयो ।
देशको असन्तुलित विकासकै कारण काठमाडौँ उपत्यकामा जनसङ्ख्या वृद्धि भएको बताउँदै उहाँले उपत्यकामा हाल ७० लाख मानिसको बसोबास रहेको र सरकारले यहाँ १ करोड २५ लाख मानिसलाई बसोबास गराउने सोच राख्नु गलत भएको बताउनुभयो ।
उहाँले अनेक नाममा किसानहरूको जग्गा अधिग्रहण गर्नु र स्थानीय जनतालाई उठीबास गराउन खोज्नु जातिहत्यासरह हुने औँल्याउँदै देशको सन्तुलित विकास जोड दिनुभयो ।
उहाँले आजसम्मका सरकारहरूले किसानको हितमा कार्यक्रम देशको आर्थिक विकास हुन नसकेको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् जिल्लाध्यक्ष गोविन्द दुवालले पुरानो पुस्ताले नयाँ पुस्तालाई विगतका सङ्घर्षबारे बताउन सकेमा मात्र नयाँ पुस्ताले अग्रजहरूप्रति सद्भाव र आदर राख्ने बताउँदै विगतका किसान सङ्घर्ष र किसान आन्दोलनका उपलब्धिकै कारण किसान परिवारका छोराछोरीहरूको शैक्षिक र आर्थिक अवस्था सुध्रिन सकेको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा सम्पन्न भेलामा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल र आयोजक समितिका सदस्य पूर्णगोपाल राजचलले पनि नेक्राकिसङ्घको स्थापना र किसान आन्दोलनको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *