भर्खरै :

भक्तपुर जिल्ला फूटबल लिग सुरु

भक्तपुर, १६ साउन । भक्तपुर जिल्ला फूटबल सङ्घको आयोजनामा भक्तपुर जिल्ला लिग फूटबल प्रतियोगितको भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले महेश्वरी खेल मैदानमा बिहीबार एक समारोहबीच रेफ्री सुनिल किसीलाई फूटबल हस्तातरण गरी उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उकेश कवाँले सरकारमा गएका नेतृत्वका कारण खेलकुद विकास नभएको बताउँदै सरकारी बजेटको सही सदुपयोग नगर्दा, राम्रो भन्दा आफ्नो मान्छेको छनौटले आफ्नो देश नेपालको अन्तराष्ट्रिय छबिसमेत बिग्रेको बताउनुभयो । उहाँले खेलकुदलाई निष्पक्ष ढङ्गमा विकास र योगदान गरे स्तरीय खेलाडी उत्पादन हुने र व्यवसायिक खेलाडी तयार हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक एवं वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले निर्णायकहरूले निर्णय गर्दा विवाद नहोउन् भनेर दश नियम आएको पुनर्ताजगी कार्यक्रम र नयाँ नियमबारे खेलाडीहरूलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले विश्वव्यापी लोकप्रिय खेल फूटबललगायत ६ वटा खेलमा नगरपालिकाले प्रशिक्षण सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुमार चवालले भक्तपुरको पहिचानलाई ध्यानमा राखेर भक्तपुरको नाम उँचो राख्ने हेतुले प्रतियोगितालाई अनुशासित ढङ्गले खेल खेल्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखुको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
भक्तपुर जिल्ला लिगमा सिद्धि गणेश खेलकुद समिति, बासुकी युवा क्लब, नेपालय्, ख्वप युनाईटेड, भक्तपुर डिलाइट क्लब, भक्तपुर नगरपालिका, भक्तपुर युवा टिम, रियल फूटबल क्लब, भक्तपुर युथ फूटबल क्लब र स्विट्स सर्कलले सहभागिता जनाएको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
उद्घाटन खेल सिद्धि गणेश खेलकुद समितिविरुद्ध बासुकी युवा क्लबबीच भएको खेलमा ८–२ गोलको अन्तरमा सिद्धि गणेशले विजय हासिल ग¥यो ।
त्यस्तै दोस्रो खेलमा नेपालय् र ख्वप युनाईटेड बीच भएको खेलमा ४–१ गोलको अन्तरमा नेपालय्ले जीत हासिल गरेको थियो । शुक्रबारको खेल भक्तपुर डिलाइट क्लब र भक्तपुर नगरपालिकाबीच ७ः३० बजे र अर्को खेल रियल फूटबल क्लब र भक्तपुर युथ फूटबल क्लब ९ः३० बजे हुने प्रतियोगिता संयोजक सुनिल प्रजापतिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *