भर्खरै :

अतिक्रमणको चपेटामा धनगढी उपमहानगरपालिका

पोखरेल एल
मजदुर संवाददाता
धनगढी, १६ साउन । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिका यतिबेला अतिक्रमणको चपेटामा पर्दै गएको छ । प्रदेश नं. ७ को राजधानी घोषणा भएसँगै यहाँको सेवा सुविधा वृद्धि भएको हुँदा जनसङ्ख्याको चापमा पनि वृद्धि भइरहेको छ । पहाडी जिल्लालगायतका ठाउँबाट बसाइ सरी आउनेहरुको सङ्ख्या दिनप्रतिदिन बढेसँगै जमिनको खण्डीकरण भइरहेको छ । खेतीयोग्य जमिन प्लटिङ गर्दै जग्गा दलालहरूले मनोमानीरूपमा जग्गा खरिद बिक्री गर्नुका साथै ठूलठूला भौतिक संरचना निर्माण गरिरहेका छन् । नगरको खाली ठाउँहरूमा बस्ती घना हुँदै गइरहेको छ । भारतसँग जोडिएको खुला सिमानाका कारण उपमहानगरपालिका लागूऔषध ओसारपसारको केन्द्र बन्न थालेको छ । खुला सिमाना भएकै कारण यहाँ आपराधिक गतिविधिमा वृद्धि भइरहेका समाचारहरू पत्रपत्रिकाले छापिरहेका छन् ।
गुरुयोजनाबिना नै निर्माण भएको धनगढी सहरको सडक संरचना पुरानै छ । पछिल्लो समय जनसङ्ख्या वृद्धिसँगै सवारी चाप बढ्दै गइरहेको छ । सडकको क्षमता धान्नै नसक्ने अवस्था सिर्जना हुँदै छ । साँगुरो सडकको कारण बेला मौकामा जामको झमेला हुँदै गएको छ । रिक्सा व्यवस्थापनप्रति सरोकारवाला निकाय जिम्मेवार नबन्दा पैदल यात्रुलाई यात्रामा समस्या हुनुका साथै दुर्घटना बढेका छन् । बजार क्षेत्रमा ट्राफिक जाम हुन थालेको छ ।
नक्सा पास नगरी अथवा विनामापदण्ड संरचना बनिरहेका छन् । व्यापारीहरूले सडकसम्म पुग्ने गरी टीनको छाना लगाउने र सामान राख्ने कार्य रोकिएको छैन । यसले गर्दा विभिन्न समयमा दुर्घटना हुने गरेका छन् । यहाँको ट्राफिक व्यवस्थापन कमजोर छ । व्यवस्थित पार्किङ्ग हालको समस्या हो । धनगढी उपमहानगरपालिकाले निर्माण गरेको निःशुल्क पार्किङ्ग क्षेत्रको सदुपयोग हुन सकिरहेको छैन । नागरिकहरूमा पनि चेतनाको अभाव देखिन्छ । धनगढी उपमहानगरपालिकाले समय–समयमा जथाभावी सडक पेटीमा राखिएका छाप्रा हटाउने अभियान चलाए पनि व्यापारीले अटेर गरी पुनः राख्ने गरेको पाइन्छ ।
सडकसमेत छोपिने गरी व्यापारीले संरचना निर्माण गरेकोमा नगरपालिका बेखबर बनेको छ । नगरवासीहरूले नगरभित्रको ढल व्यवस्थापन, फोहरमैला, खानेपानीसमेतको व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिएको गुनासो गर्दै आएका छन् । नगरको अव्यवस्थित बसोबासको कारण नगरको शोभा गुम्दै गइरहेको छ । धनगढी उपमहानगरपालिकाको शोभा बढाउन नगरको सडक खुला चौडा, सफा र व्यवस्थित गर्न आवश्यक छ । नगरपालिकाले हटाएका टीनको छाना लगाउने र सडकसम्म पुग्ने गरी संरचना निर्माण गर्नेलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्दछ ।
नगर क्षेत्रको विभिन्न बहानामा हुने सडक अतिक्रमण रोक्न उपमहानगरपालिकाले प्रभावकारी भूमिका खेल्नुपर्दछ । जनताको सेवा गर्नु जनप्रतिनिधिको कर्तव्य हो । जनप्रतिनिधिहरूकै गैरजिम्मेवारीका कारण धनगढी क्षेत्रको सडक, खोलानाला, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढिरहेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ठूलठूला संरचना निर्माण भइरहेको छ । खोलानाला अतिक्रमण हुँदा थोरै वर्षा हुँदा पनि धनगढी जलमग्न भइरहकोमा जनप्रतिनिधिहरु उदास बनेका छन् । मुख्य सडक क्षेत्रको अतिक्रमित क्षेत्र खाली गरी सडक चौडा बनाउनुको सट्टा जनप्रतिनिधिहरूको मिलेमतोमा सडको चौडाइ घटाएर कालोपत्र गर्ने गरेको नगरवासीको जनगुनासो छ । जनप्रतिनिधिहरूले अतिक्रमण हटाउनेतिर प्रभावकारी भूमिका खेल्न नसक्दा अतिक्रमण गर्न प्रोत्साहन मिलेको छ । नगरलाई व्यवस्थित गर्ने नगरको कुनै ठोस योजना छैन । सार्वजनिक जमिन, खोलानाला र सडक अतिक्रमण रोक्न सरोकारवाला निकायहरू जिम्मेवार बनून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *