भर्खरै :

जुम्लामा क्रान्तिकारी महिलाहरूको सम्मेलन

जुम्ला, १९ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ जुम्ला जिल्ला समितिको आयोजनामा शनिबार जुलुस प्रदर्शनी तथा महिला भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पुँजीवादी समाजले पुरुष र महिलाबीच भेदभाव र शोषण गर्ने भएकोले कामदार महिला आफैँ राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र व्यापक कामदार महिलाहरूको मुक्ति सम्भव हुने उल्लेख गर्दै उहाँले समाजवादी आन्दोलनमा कामदार महिला पनि अग्रसर हुनुपर्ने विचार राख्नुभयो ।
“छोराछोरीलाई योग्य नागरिक बनाउन आमाहरूको महत्वपूर्ण योगदान हुन्छ ।” उहाँले भन्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगीले समाजको समस्या समाधानको लागि महिलाको भूमिका महत्वपूर्ण उल्लेख गर्दै कामदार महिला आन्दोलन समाजवादी आन्दोलनकै हिस्सा भएको विचार राख्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका उपाध्यक्ष राजेश्वर देवकोटाले विश्वका विभिन्न महिलाले श्रमजीवी आन्दोलनमा नेतृत्वदायी भूमिका निभाएको स्मरण गर्र्दै नेमकिपाले महिलालाई सबै क्षेत्रमा ५१ प्रतिशत प्रतिनिधित्वको लागि सङ्घर्ष गर्दै आएको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका पूर्णलाल खत्री, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य बिर्ख सार्की, नेक्रामहिला सङ्घ जुम्ला जिल्ला समितिका अध्यक्ष राजेश्वरी न्यौपाने, कान्ती रावत, राजन नेपाली, कालीबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
हस्तना न्यौपानेले पनि बोल्नुभएको थियो । भेलाले राज्यलक्ष्मी न्यौपानेको अध्यक्षतामा नेपाल क्रान्तिकारी महिला सङ्घ जुम्ला जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *