भर्खरै :

कौसी खेती तालिम सम्पन्न

भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिका ९ नं. वडा समितिको आयोजनामा स्थानीय वडावासीहरूलाई दिइएको तीनदिने कौसी खेती तालिमको आइतबार समापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद सृजना सैँजूले घरबाट निस्कने फोहरमैलाको व्यवस्थापन गरी कौसी खेती गर्न सकिने विधिबारे नयाँ पुस्तासँगै ज्येष्ठ महिलाहरूको उत्साहजनक सहभागिताले सामाजिक परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हरेक स्थानीय तहमा बिउ बिजन भण्डारण केन्द्र स्थापना गर्न प्रदेश सरकारलाई घच्घच्याएको प्रस्ट पार्दै उहाँले रैथाने बिउ बिजनको संरक्षण गर्न नसके आयातीत बिउले समग्र कृषि प्रणालीमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
“६० प्रतिशतभन्दा बढी नेपालीहरू कृषि पेशामा लागेको सरकारी तथ्याङ्क भएर पनि वार्षिक १३ सय टनभन्दा बढी फलफूल र तरकारी भारतबाट आयात गर्नुपर्ने विडम्बना हो”, उहाँले भन्नुभयो ।
युवा र महिला जनशक्तिलाई उपयोग गर्न नसक्दा बर्सेनि व्यापार घाटा बढिरहेको चर्चा गर्दै सांसद सैँजूले वर्तमान सरकारको दलाली प्रवृत्ति र विदेशी शक्तिसामु आत्मसमर्पण गर्ने बानीले सारा जनताले दुःख पाइरहेको बताउनुभयो ।
महिलाहरूबीच पनि वर्गीय विभाजन हुने बताउँदै उहाँले धनी वर्गका महिलाहरू राष्ट्रपति, मन्त्री, सभामुख भएर पनि नेपाली कामदार महिलाहरूको स्थिति माथि नउठेको हुँदा राजनैतिकरूपमा महिलाहरू सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरको सरसफाइ तथा फोहरमैला व्यवस्थापनमा नगरवासीहरू आफै सक्रिय हुनुपर्ने र त्यसका लागि नगरपालिकाले आवश्यक तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले सम्पदा कसैको व्यक्तिगत सम्पति नभई मानव सभ्यताकै प्रतीक हुने हुँदा सम्पदा म्हासेर निजी भवन, व्यापारिक क्षेत्र बनाउनु न्यायोचित होइन भन्नुभयो ।
कार्यपाालिका सदस्य छोरीमैयाँ सुजखू (प्रजापति)ले तालिमबाट सिकेको सीप र ज्ञान व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सांसद सैँजूले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र एवम् बीउ वितरण गर्नुभयो ।
तीनदिने तालिमको क्रममा आइतबार प्रशिक्षार्थीहरूले काठमाडौँको फलफूल, नर्सरी एवम् कौसीखेती प्रविधिको स्थलगत अध्ययन भ्रमण पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *