भर्खरै :

चाँगुनारायणमा स्थानीय पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण

भक्तपुर, २१ साउन । चाँगुनारायण नगरपालिकामा रहेका विभिन्न सम्पदाहरूलाई नागरिकको जीवनशैलीसँग जोड्ने उद्देश्यका साथ लागू भएको स्थानीय पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण गरिएको छ ।
शैक्षिक सत्र २०७६ बाट लागू गरिएको पाठ्यक्रमलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने शिक्षकहरूलाई उत्साहित बनाउनका लागि अभिमुखीकरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काले चाँगुनारायण नगरपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको बताउँदै स्थानीय पाठ्यक्रमले चाँगुनारायणको पहिचान कायम गर्न अझ सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षकलाई सहजीकरण गर्दै पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत पुरुषोत्तम घिमिरेले पाठ्यक्रमबिनाको पढाइ पूर्ण नहुने बताउँदै पाठ्क्रमलाई शिक्षकले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा गुणस्तर भित्र्याउने भूमिका शिक्षकले नै खेल्ने उल्लेख गर्दै शिक्षक सक्रिय, अध्ययनशील र खोज्ने चाहनाका हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
अहिलेसम्म स्थानीय पाठ्यक्रम बनाएका स्थानीय तहअन्तर्गत चाँगुनारायण नगरपालिकाको ‘हाम्रो चाँगुनारायण’ नामक पाठ्यक्रम उत्कृष्ट र समय सुहाउँदो रहेको बताउनुभयो ।
कार्यक्रममा प्रज्ञा इङ्गलिस स्कूलका प्रधानाध्यापक टङ्क सिटौला र पञ्चकन्या माविका प्रधानाध्यापक सन्तराम दुलालले स्थानीय पाठ्यक्रमप्रति विद्यार्थी र अभिभावक दुवैको लगाव रहेको बताउँदै पढाइप्रति रूचि जगाउन पनि सहयोग गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *