भर्खरै :

अप्रजातान्त्रिक बन्दै छ भारतीय शासक वर्ग

भक्तपुर, २९ साउन । “राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति कुनै एक–दुई देशको मात्र सीमित हुने गर्दैन । आन्तरिक मामिला भन्नुको अर्थ अरूले चासो राख्न नपाउने होइन । काश्मिर भारत–पाकिस्तान र चीनको विवादास्पद क्षेत्र हुनुको साथै विश्वको सबभन्दा बढी युद्धग्रस्त क्षेत्र पनि हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सभासद् सुरेन्द्रराज गोसाईले नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा वडा नं. ९ एकाइ समितिको आयोजनामा ‘भारतको फासीवादी नीति र जम्मु काश्मीर’ विषयक मङ्गलबार भएको युवा भेलामा व्यक्त गर्नुभएको हो ।
विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक देश भन्ने भारतले काश्मीरको मामलामा अप्रजातान्त्रिक कदम चालेको चर्चा गर्दै उहाँले भन्नुभयो, “मोदीको कदमले जम्मु–काश्मीरका जनताको मानव अधिकार हनन र नैसर्गिक अधिकार हनन गरेको छ ।”
नेपाल सार्कको अध्यक्ष भएको नाताले जम्मु–काश्मीरबारे सरकारले स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता औँल्याउँदै सभासद् गोसाईले जोड दिनुभयो, “स्वतन्त्र र सार्वभौम राष्ट्रसँग अन्तर्राष्ट्रिय घटनाबारे स्पष्ट धारणा राख्ने साहस हुन्छ । ओली सरकारले त्यो साहस प्रदर्शन गर्न नसकेबाट भारतीय शासकबाट प्रभावित रहेको प्रमाणित हुन्छ ।”
“संरा अमेरिकी साम्राज्यवादले तेस्रो विश्व युद्ध एसियामा थोपर्ने उद्देश्यसहित चीन–अमेरिका व्यापार युद्ध चर्काएको हो । चीनलाई चारैतर्फ घेर्ने उद्देश्यले संरा अमेरिकाले विभिन्न ठाउँमा आफ्नो सैनिक अखडा स्थापना गरेको छ”, उहाँले भन्नुभयो ।
“भारतीय विस्तारवाद जम्मु–काश्मीर ठाउँ–ठाउँमा सृजना गर्न खोज्दै छ । जम्मु काश्मीरपछि भुटान हुनेछ ु भुटानपछि नेपाललाई गर्ने भारतको घोषित नीति भएको हुँदा भारतीय विस्तारवादविरूद्ध एकजुट हुनु आवश्यक छ, सांसद गोसाईले भन्नुभयो ।
नेपालको तराई भूभाग डुबान हुनुमा प्राकृतिक प्रकोप नभई भारत नियोजित कदम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भारतीय विस्तारवादको विरोध गर्नु स्वाभिमानी नेपालीको कर्तव्य हो । इतिहासप्रति न्याय गर्नु हाम्रो कर्तव्य हो ।”
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले युवाहरू राजनीतिकरूपमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै जम्मु–काश्मीरमा भारतले चालेको कदमबारे बहस आवश्यक भएको बताउनुभयो ।
संसद्मा विचाराधीन पारमाणविक तथा रेडियोधर्मी विधेयकबारे जानकारी गराउँदै वडाध्यक्ष ज्याख्वले गहन अध्ययनविना यो विधेयक अगाडि बढाउन नहुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विकास प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा बलराम प्रजापति, रत्नप्रसाद प्रजापति, गम्भीरमान ज्याख्व, गोपालसुन्दर गोसाई, लक्ष्मीप्रसाद गाइजू र श्रीराम कासिछ्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *