भर्खरै :

९२ औँ जन्म दिनमा वरिष्ठ पत्रकार रिसालको पुस्तक सार्वजनिक

ललितपुर, २९ साउन । ‘श्रमिक’ साप्ताहिक तथा ‘मजदुर’ दैनिकका स्तम्भकार वरिष्ठ पत्रकार भैरव रिसालले आफ्नो ९२ औं जन्म दिनको अवसर पारी एक नयाँ पुस्तक सार्वजनिक गर्नुभएको छ ।
पत्रकारिताकाको क्रममा प्राप्त अनुभवसङ्ग्रह ‘उहिलेको नेपाल’ को विमोचन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्नुभएको थियो ।
पुस्तक विमोचनपछि पूर्व राष्ट्रपति डा. यादवले नेपालको राजनीतिक तथा सामाजिक पाटो पस्केको यो पुस्तकले रिसाल पेशाप्रति इमानदार भएको पुष्टि गरेको बताउनुभयो । डा. यादवले पढेरभन्दा परेर पत्रकार हुनुभएका रिसालले वृद्धावस्थामा पनि सक्रियता देखाउनु र नयाँ पुस्तालाई अनुभव बाँड्नु सराहनीय छ भन्नुभयो ।
गणतान्त्रिक नेपालको संविधानले मुलुकमा देखिएको समस्या हल गर्नसक्ने भन्दै उहाँले विकासको नाममा विनास भइरहेको चर्चा गर्नुभयो ।
डा. यादवले भन्नुभयो, “देशको भूगोल रहेमात्र राजनीति बाँकी रहने छ । भूगोलमैत्री विकास हुनु आवश्यक छ । बारामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलले जङ्गलको साथै जीवजनावरको विनाश हुने भएकोले ध्यान पु¥याउनु आवश्यक छ ।”
पुस्तक सङ्ग्रहमा समेटिएको अनुभवबारे पत्रकार रिसालसँग हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले संवाद गर्नुभएको थियो ।
संवादको क्रममा पत्रकार रिसालले पत्रकारितामार्फत निरन्तर समाज र सरकारलाई झक्झक्याउनुपर्ने भन्दै पत्रकारिताको विश्वसनीयता नगुम्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले पत्रकारले सबभन्दा पहिले विषयवस्तुको राम्रो अध्ययन गर्नुपर्ने भन्दै समाचारको स्रोत पत्रकारको सम्पत्ति भएकोले सुरक्षित राख्नुपर्ने बताउनुभयो ।
“पत्रकारितालाई समाजको अभिन्न अङ्ग बनाउनुपर्छ । आफ्नो सक्रियताले नै मलाई पत्रकार बनाएको हो”, उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
बुक हिल प्रकाशनले प्रकाशित गरेको पुस्तकको मूल्य रू. ३ सय ५५ रहेको छ । पत्रकार रिसालका ‘त्यतिबेलाको पत्रकारिता’, ‘साधुलाई सुली’, ‘सुशीला भैरव’, ‘उहिले बाजेको पालामा’, ‘नेपालका मन्त्रीहरू’, ‘हात्ती’ लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *