भर्खरै :

क्यान्सर अस्पतालको अनियमितता छानबिन गर्न ज्ञापन

भक्तपुर, ३० साउन । भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिले बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसमक्ष ज्ञापनपत्र पेश ग¥यो ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रजापतिले रोगी जनताको सेवा गर्ने उद्देश्यले खोलिएको अस्पताल सीमित व्यक्तिको स्वार्थ पूरा गर्नमा प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै नगरपालिकाले सम्बन्धित सबै निकायसित बसेर छलफल गरी भइरहेको अनियमितता अन्त्य गर्ने र दोषीमाथि कानुनी कारबाही गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहयोग समितिले भक्तपुरजस्तो भ्रष्टाचारविरोधी आन्दोलनको केन्द्रमा रहेको सामुदायिक अस्पतालमा भ्रष्ट मानसिकताका व्यक्तिहरूले हालीमुहाली गरिरहनु भक्तपुरका जनताका लागि असह्य हुने बताउँदै भक्तपुर क्यान्सर अस्पताल व्यवस्थितरुपले सञ्चालन गर्न र त्यसभित्र भइरहेको आर्थिक अनियमितता छानबिन गर्न नगरपालिका, जिल्ला प्रशासन कार्यालय र अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरूलाई आवश्यक सहयोग गर्ने धारणा राखेको थियो ।
भक्तपुर क्यान्सर अस्पताललाई भ्रष्ट र दलालहरूको चङ्गुलबाट मुक्त गर्न समाजका विभिन्न क्षेत्रमा सक्रिय भक्तपुरवासीहरूको भेलाले अन्तर्राष्ट्रिय सम्बन्धविज्ञ राजेन्द्र चवालको अध्यक्षतामा १५ सदस्यीय भक्तपुर क्यान्सर अस्पताल सहयोग समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूमा क्रमशः उपेन्द्र सुवाल, सविन ख्याजू, कृष्णप्रसाद कोजू, डा. राजुभाइ त्यात, श्यामकृष्ण खत्री, प्रकाश थुसा, कृष्णगोविन्द लाखाजू, कृष्णराम जाकिबन्जार, जगतराम धुख्वा, अनिता जधारी, रत्नप्रसाद फैजू, इन्द्रबहादुर फोंजू, मिनबहादुर बाटा र रोशन मचामसी रहनु भएको छ ।
समितिले क्यान्सर रोगबारे पूर्वसावधानी र उपचारलगायत विषयमा भक्तपुरलगायत देशका विभिन्न जिल्लामा जनचेतना अभियान सञ्चालन गर्ने, क्यान्सर रोगबारे समय–समयमा जानकार, विज्ञ र विशेषज्ञहरूको सहभागितामा छलफल, गोष्ठी र सभा–सम्मेलन गर्ने उद्देश्य राखेको बताइएको छ ।
समितिले सोही ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठलाई समेत बुझाएको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन
भक्तपुर, ३० साउन । भक्तपुर क्यान्सर अस्पतालमा हालैका दिनमा व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरूबाटैै आर्थिक अनियमितता र भ्रष्टाचार भएको सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएको र त्यसविरूद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवम् कर्मचारीहरूबाट सङ्घर्ष भइरहेको अवस्थामा नगरपालिका क्षेत्रभित्र रहेको अस्पतालको अव्यवस्थालाई समयमै समाधान गर्न नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरियो ।
स्थानीय जनताप्रति उत्तरदायी रही कम शुल्कमा बिरामीहरूको स्तरीय उपचार गर्नुपर्नेमा व्यवस्थापन समितिमा रही केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र यस विषयमा नगरपालिकाका जनप्रतिनिधिहरूले पटक–पटक व्यवस्थापन समितिका पदाधिकारीहरूसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ ।
बैठकले अस्पताल रहेको भक्तपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सङ्घीय सांसद प्रेम सुवाल र सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद सुरेन्द्रराज गोसाईलाई सल्लाहकारमा राखिएको छ ।
अस्पतालभित्र भइरहेको भ्रष्टाचार र आर्थिक अनियमितताको विरोधमा सङ्घर्षरत स्थानीय जनता, भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समिति र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवम् व्यवस्थापनको जिम्मेवारी लिन नगरपालिकामा लिखित अनुरोध पत्र प्राप्त भएको उल्लेख गर्दै अस्पताललाई व्यवस्थित ढङ्गबाट सञ्चालन तथा बिरामीहरूलाई स्तरीय उपचार सेवा प्रदान गर्न समिति गठन गर्ने निर्णय गरिएको प्रमुख प्रजापतिले बताउनुभयो ।
समितिमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहनुभएको छ । त्यस्तै नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य, अस्पतालका मेडिकल डाक्टर प्रतिनिधि र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी बनाइएको उक्त समितिमा महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यको रूपमा चयन गरिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरिएको थियो । देशकै नमुनाको रूपमा सञ्चालन भइरहेको अस्पतालमा आर्थिक अनियमितता भइरहेकोमा चिन्ता व्यक्त गर्दै यस विषयमा छानबिन गर्ने तयारी भइरहेको उहाँले अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *