भर्खरै :

साहित्यकार दीक्षितको निधन

काठमाडौँ, ३० साउन । वरिष्ठ साहित्यकार एवम् विद्वान मदनमणि दीक्षितको बिहीबार बिहान निधन भयो । उहाँको बिहीबार अपराह्न पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको छ ।
साहित्यकार दीक्षितलाई उहाँका छोरा विनोदले दागबत्ती दिनुभएको थियो । यसअघि उहाँको शव श्रद्धाञ्जलीका लागि उहाँको निवास कालिकास्थानमा राखिएको थियो । लामो समयदेखि मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या भोगेका दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान कमलपोखरीस्थित हिमाल अस्पतालमा निधन भएको थियो । गत साता उपचारका लागि ललितपुरको सुमेरु अस्पताल भर्ना गरिनुभएका उहाँलाई बुधबार कालिकास्थानस्थित निवासमा ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोश हुनुभएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद ः केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कालगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँले ‘समीक्षा’, ‘आजकाल’ लगायत साप्ताहिक पत्रिका सम्पादन गर्नुभएको थियो । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।
प्रतिष्ठानद्वारा दीक्षितप्रति श्रद्धाञ्जली
नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्वीय वाङ्मयका मूर्धन्य विद्वान तथा नेपाली आख्यान क्षेत्रका विशिष्ट व्यक्ति मदनमणि दीक्षितको निधनले राष्ट्र र प्राज्ञिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ ।
प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । “पूर्वीय वैदिक पौराणिक वाङ्मयलाई उपजीव्य विषयका रुपमा लिई नेपाली आख्यानको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने दीक्षितको लेखन बौद्धिक, वैचारिक र मानवतावादमा आधारित छ”, प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उहाँले पत्रकारिताका साथै कथा, उपन्यास र निबन्ध लेखनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रतिष्ठानले स्मरण गरेको छ । उहाँले व्यङ्ग्य र नाटक लेखनका क्षेत्रमासमेत कलम चलाउनुभएको थियो ।
उहाँका माधवी (उपन्यास), ग्यासच्याम्बरको मृत्यु (कथा सङ्ग्रह), चरैवेती (निबन्धसङ्ग्रह) लगायत दर्जनौँ कृति प्रकाशित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा आजीवन सदस्य उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्रीलगायत विभिन्न पुरस्कार प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *