भर्खरै :

मध्यपुरमा नीलबाराही नाच सुरु

मध्यपुरथिमि, ३२ साउन । मध्यपुरथिमिको बोडेमा मनाइने नीलबाराही नाच शनिबार मध्यराति १२ बजेदेखि सुरु हँुदैछ । बोडेका नेवार समुदायले मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । १५ दिनअघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने गरिन्छ ।
गाईजात्राको भोलिपल्ट मध्यरातदेखि सुरु गरिने सो नाच चार दिनसम्म सञ्चालन हुने गर्छ । सो नाच बोडेको लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मीथान, भाँगुटोल, खोँसीटोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँबाजा, भुस्या, काँय र पाँगाबाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवगणको समूह रहेको हुन्छ । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौ गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।
दैनिक १० देखि १४ घण्टासम्म परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्नेबारे यकिन नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।
नीलबाराही देवीले एक दिन मानिसका रूपमा बोडे शहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किंवदन्ती एवम् जनविश्वास रहँदै आएको छ ।
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिसापिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ । गुठी नाइके प्रेमचन्द्र अदुवाले बताउनुभयो । नाचको नियम कडा छ, देवगणले मुखुण्डो लाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ ।
नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन भन्ने मान्यता रहेको छ । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमारसमेत गर्नु हँुदैन । “देवगणहरू नियमभन्दा बाहिर जानु हुँदैन”, स्थानीयवासी दिलकृष्ण प्रजापतिले भन्नुभयो, “नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ”, परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ ।
प्रत्येक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानीयको घुइँचो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो दिनभने बिहान चार बजे सुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुुरु भएर साँझ सम्पन्न हुने परम्परा रहेको प्रजापतिले बताउनुभयो ।
नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताःलगायतको बाजा बजाइने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *