भर्खरै :

भरोसासँगको सम्झौता रद्द, काम गर्दै आएका कर्मचारीलाई अस्पतालकै कर्मचारीमा नियुक्ति

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिका वडा नं.१ मा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थित गर्न जनउत्तरदायीरूपमा सञ्चालन गर्न र कम शुल्कमा बिरामीहरूको गुणस्तरीय उपचार सेवामा टेवा पु¥याउने उद्देश्यले नवगठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको बैठक आइतबार बस्यो ।
भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषयमा, सञ्चारमाध्यममा समाचार प्रकाशित भएको र जनस्तरबाट समेत आवाज उठिरहेको अवस्थामा एक महिनाभित्र सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा लेखा परीक्षक कृष्णगोविन्द लाखाजू र अधिवक्ता अनिता जधारी रहने गरी बैठकले एक छानबिन समिति गठन गर्ने निर्णय ग¥यो ।
बैठकले भक्तपुर क्यान्सर अस्पतालको सरसफाइ कार्यका लागि यसअघि भरोसा सर्भिस प्रा.लि. महाराजगञ्ज, काठमाडौँसँग ठेक्का सम्झौता गरी सफाइ कर्मचारीहरूमार्पmत कार्य भइरहेकोमा अस्पताल प्रशासनबाट प्रतिकर्मचारी मासिक पारिश्रमिक प्रदान गरेअनुसार कम्पनीबाट कर्मचारीहरूले नपाएको र श्रम शोषण भएको गुनासो आएको हुँदा आइतबारदेखि भरोसा सर्भिस प्रा.लि.सँग अस्पतालले गरेको सम्झौता भङ्ग गर्ने निर्णय ग¥यो । साथै उक्त कम्पनीमार्फत यस अस्पतालको नियमित सरसफाइमा इमानदारीपूर्वक कार्य गरिरहेका सुपरभाइजर १ जना र सफाइ कर्मचारीहरू ३७ जना कर्मचारीहरूलाई अस्पतालको सुरु तहको कर्मचारीको रूपमा नियुक्ति गर्ने र उनीहरूलाई अस्पतालको नियमानुसार मासिक तलब र सुविधा प्रदान गर्ने निर्णय गरियो ।
बैठकले अस्पतालमा कार्यरत कर्मचारीहरूको अन्तिम पदोन्नति भएको मितिदेखि मिति २०७५ चैत मसान्तसम्म ५ वर्ष स्थायी नोकरी अवधि पुगेका कर्मचारीहरू तथा मौजुदा कर्मचारी प्रशासन नियमावलीअनुसार तह वृद्धि गर्ने, २ वर्ष कार्यकाल पूरा गर्नुभएका चिकित्सिक (रजिष्ट्रारभन्दा माथि) २ जना र ५ वर्ष कार्यकाल पूरा गर्नुभएका ९ जना कर्मचारीहरूलाई नियमावलीअनुसार स्थायी नियुक्ति गर्ने निर्णय ग¥यो ।
अस्पतालमा कार्यरत कर्मचारीहरूले २०७५ चैत मसान्त अघिसम्म पाउँदै आएको घर बिदा, पर्व बिदा, बिरामी बिदालगायतका सुविधा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि आजैका मितिदेखि लागू हुनेगरी यथावत कायम गर्ने निर्णय बैठकबाट भयो ।
नगर प्रमुख प्रजापतिलाई भक्तपुर क्यान्सर अस्पतालमा स्वागत
भक्तपुर, १ भदौ । भक्तपुर क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा स्वागत गर्दै बधाई दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालद्वारा आयोजित उक्त कार्यक्रममा सङ्घीय सांसद एवम् अस्पताल व्यवस्थापन समितिका सल्लाहकार प्रेम सुवालले गरिब नेपाली जनताले सस्तो र गुणस्तरीय उपचार पाऊन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आवश्यक जग्गा प्रदान गरी आर्थिक सहयोग प्रदान गर्दै आएको बताउँदै अस्पतालमा भइरहेको अनियमितता रोक्न नयाँ व्यवस्थापन समिति गठन भएको र नवगठित व्यवस्थापन समितिले कर्मचारीको वृत्ति विकासका साथै बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न अग्रसर रहने बताउनुभयो ।
अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारको विषयमा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग पटक–पटक स्पष्टीकरण माग गरेको उल्लेख गर्दै उहाँले आजको मितिसम्म कोही पनि उपस्थित नभएको आपत्तिजनक भएको बताउनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले नयाँ व्यवस्थापन समितिले आर्थिक अनुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले बिरामीको सेवा र अस्पतालको हितमा काम गर्नेहरूलाई व्यवस्थापन समितिले उत्साहित गर्ने काम गर्ने र भागबन्डा, पक्षपात र आर्थिक अनियमिततालाई बन्द गरिने जानकारी गराउनुभयो ।
आर्थिक अनियमितताका आरोप लागेकाहरूकै हातमा अस्पताल छोड्नुको अर्थ अस्पताललाई थप बर्बादीमा पु¥याउनु हुने बताउँदै सार्वजनिक सम्पत्ति हिनामिना गर्ने जोकोही कानुनी दायरामा आउनुपर्ने र नगरपालिकाले जनस्तरबाट र कानुनी हिसाबबाटै आर्थिक अनियमितता गर्नेहरूलाई जनताबीच ल्याउने प्रस्ट पार्नुभयो । उहाँले क्यान्सर अस्पताल जनताकै सम्पत्ति भएको औँल्याउँदै कुनै व्यक्ति विशेषको कमाइ खाने भाँडो बनाउन नदिने बताउनुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई रोक्न र संस्थालाई बचाउन नगरपालिकाको कदम स्वागतयोग्य भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले अस्पतालको ल्याब तथा फार्मेसीमा भइरहेको भ्रष्टाचारबारे बोल्दै व्यवस्थापन समितिका व्यक्तिहरूले कर्मचारीहरूलाई धम्क्याउने कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले पनि बोल्नुभएको थियो ।
यसैबीच भक्तपुरका पीडित जनताले भक्तपुर क्यान्सर अस्पतालको पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरूले अस्पतालमा अधिकार दुरुपयोग गरी अनियमितता र भ्रष्टाचार गरेको विरुद्ध प्राप्त प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण छानबिन आयोगमा आइतबार उजुरी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *