भर्खरै :

आशाकाजी बासुकलाका व्यङ्ग्य गीत सङ्कलन सार्वजनिक

काठमाडौँ, ७ भदौ । देश र जनताको सेवा गर्ने नेता–कार्यकर्तालाई जनताले सम्झिरहन्छन्, सम्झिरहने छन् ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आशाकाजी बासुकला स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित ‘आशाकाजी बासुकला र अन्य स्रष्टाहरूका गाइँचा गीतसङ्ग्रह विमोचन ज्याझ्व’ कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
‘गाइँचा म्ये मुना’ (व्यङ्ग्य गीत सङ्ग्रह) विमोचन गर्दै अध्यक्ष रोहितले विगतमा अश्लील गीत र अभिनय गरेर मनोरञ्जन गर्ने गाईजात्रालाई देश–विदेशमा भइरहेको अत्याचार, दमन, शोषणको विरोधमा व्यङ्ग्य गरेर जनतालाई सचेत गरिएको स्मरण गराउनुभयो ।
जनताको दुःख–पीडा जनताले बुझ्ने शैलीमा जनताबीच गीतमार्फत पु¥याइने गाइँचा म्ये ले जनताको सेवा गरेको उल्लेख गर्दै उहाँले योगदानको कदरस्वरूप किताब प्रकाशन स्मरणीय काम हो भन्नुभयो ।
देश र जनताप्रति समर्पित नेता तथा कार्यकर्ताहरूले जेलभित्र पनि देश र जनताको पक्षमा सङ्घर्ष गरेको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “इमानदार नेता तथा कार्यकर्ताहरू विरोधीको अगाडि झुक्दैनन्, पद र पैसाको लोभमा फस्दैनन्, दलगत र व्यक्तिगत स्वार्थको लागि काम गर्दैनन् र सिद्धान्त र विचार छोडेर आत्मसमर्पण गर्दैनन् ।”
देश र जनताको पक्षमा अझै सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुर काण्डका बेला प्रहरी प्रशासनले लगेका पुस्तकहरू अहिलेसम्म फिर्ता नदिएर गैरजिम्मेवारीपूर्ण कार्य गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो जीवनकालमा भएको या असल कामलाई कृति प्रकाशन गरेर जीवनको स्मरण गर्नु सही कदम भएको चर्चा गर्दै साहित्यले जनताको सेवा गर्नुपर्छ भन्नुभयो ।
गीतले त्यसबेलाको राजनीतिक, सामाजिक, सांस्कृतिक परिस्थितिको उजागर गर्ने उल्लेख गर्दै उहाँले साहित्य समाजको ऐना हो भन्नुभयो ।
“जीवनमा अनेक कठिनाइ आए पनि कहिल्यै विचलित नहुने आशाकाजी बासुकला गाइने गीतका अगुवा हुन् ।” प्रमुख प्रजापतिले भन्नुभयो ।
जनताको सम्पत्तिमा कुनै व्यक्ति या समूहले आँखा गाडे या फाइदा लिने कामविरूद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले क्यान्सर अस्पतालका ‘भ्रष्ट’ पदाधिकारीहरूको छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ भन्नुभयो ।
त्रिविको नेपालभाषा केन्द्रीय विभागका अध्यक्ष ओमकारेश्वर श्रेष्ठले भक्तपुरको साहित्य र संस्कृति नेवार जातिको इतिहासमा महत्वपूर्ण रहेको उल्लेख गर्दै जनपक्षीय साहित्यको कदर गर्नुपर्छ भन्नुभयो ।
“जनताको मन–मनको पीडा र व्यथाबोधका गीतहरू जनताको हृदयमा सधँै गुञ्जिरहने छ ।” उहाँले भन्नुभयो ।
जनकवि एवम् नेपालभाषा तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले गाइँचा म्ये (गाइने गीत) को अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउँदै वाक् स्वतन्त्रता नभएको बेला सरकारको कमी–कमजोरी औँल्याएर आलोचना या घोचपेच गर्ने एउटा माध्यम ‘गाइँचा म्ये’ हो भन्नुभयो ।
अन्य प्रतिभाशाली व्यक्तिहरूको पनि स्मरण गर्नुपर्ने उल्लेख गर्दै उहाँले आशाकाजी दाइ ‘गाइँचा म्ये’ का सम्राट नै हुन् भन्नुभयो ।
आशाकाजी बासुकला स्मृति प्रतिष्ठानका अध्यक्ष राजकिरण बासुकलाको सभापतित्वमा भएको सो पुस्तक विमोचन कार्यक्रममा संस्थापक अध्यक्ष ज्योतिकिरण बासुकला, पुस्तक प्रकाशन समितिका कुमारभक्त रञ्जितकार र रोजाकिरण बासुकलाले पनि कृतिको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *