जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
महिलाले सम्झे भक्तपुर काण्ड
भक्तपुर, ७ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. ७ को आयोजनामा २०४५ मा राज्यस्तरद्वारा रचिएको भक्तपुर काण्डको भत्र्सना गर्दै समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय विषयमा विचार गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रोजगारीको नाउँमा युवा पुस्तालाई विदेशमा पठाएर सरकारले दलाली गरिरहेको बताउनुभयो । जम्मु–काश्मीर स्वायत्त राज्य भएकोले भारत सरकारले त्यहाँ गरेको हस्तक्षेपको नेपाल सरकारले विरोध गर्नुपर्नेमा सरकारले आजसम्म केही नबोलेकोले यो सरकार भारतको दलाल पुष्टि भएको बताउनुभयो ।
मोदी सरकारले जातीय सफाया गर्ने लक्ष्यसहित जम्मु–काश्मीरमा हस्तक्षेप गरेको बताउँदै उहाँले नेपालमा पनि ओली सरकारले खोना र बोङामा फास्टट्रायकको नाउँमा ऐतिहासिक सम्पदा मास्ने र जातीय सफाया गर्ने दुष्प्रयास गरिरहेकोमा सचेत हुनुपर्ने औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी भएकोले अन्तर्राष्ट्रिय थिचोमिचोको विरोध गरेको बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालमा पूर्वपदाधिकारीहरूले गरेको भ्रष्टाचारले सेवाग्राहीहरू मर्कामा परेको बताउँदै उहाँले स्थानीयहरूले अस्पतालको भ्रष्टाचार रोकी नगरपालिकाकै व्यवस्थापनमा सञ्चालन गर्न निवेदन दिएकोले नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले खोकना र बोङामा ल्याइएको फास्टट्रायकले त्यहाँका स्थानीय बासिन्दाहरूको सांस्कृतिक र सामाजिक उठिबास हुने भएकोले नेमकिपाले त्यसको विरोध गरेको बताउनुभयो ।
नेमकिपाका कार्यकर्ता लक्ष्मीभक्त कवांले २०४५ को काण्डमा आफ्नो जेल जीवन र यातनाबारे संस्मरण सुनाउनुभयो ।
२०४५ मा जाली मुद्दा लगाएर २१ महिना जेलमा पर्नुभएका आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसीले भक्तपुर काण्डमा महिलाहरूले गरेको साहसिक सङ्घर्षको कारण जनताको जीत भएको बताउनुभयो ।
नेक्रामसङ्घ – ७ का कार्यवाहक अध्यक्ष रञ्जना त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा ७ का अध्यक्ष बलराम गोसाई, इन्द्रमाया लागेलगायतले बोल्नुभएको थियो ।
इतिहासको अभिलेखीकरण गर्न आवश्यक
काभ्रे, ७ भदौ । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड भदौ ९ को स्मरणमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष एवम् प्रदेश नं.३ का सांसद सुरेन्द्रराज गोसाईले ०४५ मा पञ्चायतविरूद्धको सङ्घर्षको अभिलेखीकरण गर्न सके नयाँ पिँढीको निम्ति उपयोगी हुने विचार राख्नुभयो । जम्मु – काश्मीरमा अहिले जसरी त्यहाँका नागरिकहरूलाई भारतले दबाइराखेको छ ठीक त्यसैगरी भक्तपुर काण्डको सन्दर्भमा सिङ्गो नेमकिपालाई सखाप पार्ने असफल प्रयास भएको बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले भदौको भक्तपुर काण्डको क्रममा निरङ्कुश पञ्चायती प्रशासनले काभ्रे जिल्लालगायत अन्य जिल्लामा पनि खानतलासी र पक्राउ गरेको स्मरण गर्नुभयो ।
उहाँले प्रशासनको नजरबाट बचेर हिँड्नु परेको र कति साथीहरू महिनौँ जिल्ला बाहिर कष्ट सहेर बस्नुपरेको सम्झना सुनाउनुभयो ।
नेमकिपाका नारायणबहादुर दुवालले नेमकिपा व्यक्तिहत्याको विरोधी भएको बताउनुभयो ।
नेमकिपा काभ्रेका सदस्य पूर्णसिं वाइबाले प्रतिक्रियावादीहरूले नेमकिपाविरूद्ध अनेक जालझेल रचेका अनेक घटनाहरू सुनाउँदै निरन्तरको सङ्घर्षले कार्यकर्ताहरू खारिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रेका अध्यक्ष सूर्य वाइबाको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा रविन तामाङ, सुस्मिता न्यौपाने, आकाश मानन्धर, रोशनी शाही ठकुरीलगायतले बोल्नुभएको थियो ।
कीर्तिपुरमा भक्तपुर काण्डबारे प्रशिक्षण
भक्तपुर, ७ भदौ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुरकोे आयोजनामा कर्तिपुरमा भक्तपुर काण्ड (भदौ ९) को भत्र्सनास्वरुप शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले भक्तपुर काण्ड
(कालो दिन) राज्यको असफल षड्यन्त्र भएको उल्लेख गर्दै नेमकिपालाई समूल नष्ट गर्न खोज्ने पञ्चायती व्यवस्था आफै सधैको लागि अन्त्य भएको बताउनुभयो ।
केन्द्रीय सदस्य कवांले भन्नुभयो, “ षड्यन्त्र अहिले पनि फरक ढङ्गले आउन सक्ने हुँदा सचेत भई अगाडि बढ्नुपर्छ । भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गर्न नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएको हो ।”
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले भक्तपुर काण्डमा कीर्तिपुरको पाँगामा पनि पक्राउ गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरू नारायण महर्जन, राजवीर डंगोल, कीर्तिपुर नगर समितिका हरिकुमार महर्जन, बुद्धिमान महर्जनलगायतले भक्तपुर काण्डको विरोधमा बोल्नुभएको थियो ।
मध्यपुरमा युवा भेला
भक्तपुर, ७ भदौ । पञ्चायती राज्यस्तरबाट नेमकिपाविरुद्ध रचिएको षड्यन्त्रमूलक ‘भक्तपुर काण्ड’ (भदौ ९) को विरोध एवम् भत्र्सना तथा जम्मु–काश्मीरको वर्तमान स्थितिबारे नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिले शनिबार प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेपाल मजदुर किसान पार्टीविरुद्ध प्रतिक्रियावादीहरूले अहिले पनि विभिन्न ढङ्गले षड्यन्त्र गर्दै आएको चर्चा गर्दै कार्यकर्ताहरू सचेत हुनुपर्ने औँल्याउनुभयो ।
उहाँले भक्तपुर क्यान्सर अस्पतालका पूर्वव्यवस्थापकहरूले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेबाट आजित भएर स्थानीय जनता र अस्पताल प्रशासनले भक्तपुर नगरपालिकालाई व्यवस्थापनको लागि लिखित आग्रह गरेको कारण नपाले अस्पतालको बेथितिलाई नियन्त्रण गर्न व्यवस्थापनको जिम्मेवारी लिएको बताउनुभयो । यहीं विषयलाई लिएर प्रतिनिधिसभामा नेकपा र नेपाली काङ्ग्रेसका केही सांसदहरूले संसद्मा झूटा कुरा गरेर गलत सन्देश दिन खोज्नु अशोभनीय रहेको र नेपाली काङ्ग्रेस भक्तपुरका सभापतिले गुण्डागर्दी शैलीमा नेपाल मजदुर किसान पार्टीका नेताहरूमाथि अपशब्द प्रयोग गर्नु मूर्खतापूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँले क्यान्सर अस्पतालमा भएको नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नमात्रै भक्तपुर नपाले सहयोग गरेको र हाल भक्तपुर क्यान्सर अस्पतालमा बिरामीले पहिलेभन्दा राम्रोसँग सेवा पाइरहेको चर्चा गर्दै पूर्वव्यवस्थापक र भ्रष्टाचारीलाई संरक्षण गर्न नेपाली काङ्ग्रेस र नेकपाका सांसदहरू लागिरहेको बताउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष सूर्यराम श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवाद, अवसरवाद र आत्मसमर्पणवादविरुद्ध नेपाल मजदुर किसान पार्टीले सुरुदेखि नै सङ्घर्ष गर्दै आएको चर्चा गर्दै बहुदलको पक्षमा पार्टीले आवाज उठाएको कारण तत्कालीन राज्यस्तरबाट षड्यन्त्र रचिएको बताउँदै कार्यकर्ताहरू सचेत हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले भाजपाको सरकारले फासीवादी नीति अपनाएर काश्मीरमाथि हस्तक्षेप गर्नु गलत रहेको चर्चा गर्दै नेपाल सरकारले त्यसबारे मौन बस्नु भारतीय विस्तारवादको सेवा गर्नुजस्तै रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र थाश्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजु कैती, रत्नहरि प्रजापति र प्रेमकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
चितवनमा कालो दिवस
चितवन । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति चितवनको आयोजनामा भक्तपुर काण्ड (भदौ ९) को स्मरणमा विरोध एवम् भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले भक्तपुर काण्ड घटनाले नेमकिपालाई थप सक्रिय बनाएको बताउनुभयो । नेमकिपालाई समूल नष्ट गर्न खोज्दा निरङ्कुश पञ्चायत शासन व्यवस्था नै समाप्त हुन पुगेको उहाँले प्रस्ट पार्नुभयो । इतिहासबाट पाठ सिकेर पार्टीको लक्ष्यप्रति स्पष्ट भई कार्यकर्ता अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले नेमकिपाले भक्तपुरमा गरेका जनहितका कार्यहरू देख्न नसकी पञ्चायत सरकारले भक्तपुर काण्डको षड्यन्त्र रचेको हो भन्नुभयो ।
नेक्रामजदुर सङ्घका ज्ञानेन्द्र चेपाङले पुँजीवादी शासकहरूले यस्ता षड्यन्त्र रच्नसक्ने हुँदा कार्यकर्ता सजग र सचेत हुनुपर्दछ भन्नुभयो ।
कार्यक्रममा विद्यार्थी अर्जुन चेपाङ, कृष्ण तामाङलगायतले बोल्नुभएको थियो ।
Leave a Reply