भर्खरै :

नगरपालिकाबाटै सुत्केरीको भत्ता झ्वाम

बाजुरा, १२ भदौ । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८ लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ  ।
आर्थिक वर्र्ष २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरूपयोग गरेको तथ्य सार्वजनिक भएको हो । दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने रु तीन हजार र नियमति चारपटक गर्भ जाँचवापतको रु. २०० का दरले ८०० गरी ३ हजार ८०० सहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो ।
गत चैत १ गते सुत्केरी गराए पनि आफूले उक्त भत्ता नपाएको पाण्डुसैनकी बिउरा रावलले बताउनुभयो । उक्त नगरपालिकामा मात्रै १८८ महिलाले सुत्केरी गराएवापतको रकम पाएका छैनन् । तीमध्ये कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले सो भत्ता नपाएका हुन् । उक्त रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको आरोप सम्बन्धित स्वास्थ्यचौकीले नै लगाएका थिए ।
सोही नगरपालिका–८ की आरती धामीले पनि उक्त भत्ता नपाएको गुनासो गर्नुभयो । स्वास्थ्य शाखामा काम गर्नेहरूले माथिबाटै पैसा नआएको भनेकाले आफूहरूले पनि त्यही होला भन्ने सोचेर बसेको पाण्डुसैन स्वास्थ्यचौकीका इन्चार्ज नृपराज गिरीले बताउनुभयो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १५४ ले सो भत्ता लिएको देखिए पनि अन्य कुनै पनि सुत्केरीले पाएका छैनन् । स्वास्थ्य संयोजककै लापरवाहीले उक्त भत्ता नपाइएको अधिकांशको गुनासो थियो । संयोजक जसी लुहारले भने सबैलाई पुग्ने गरी रकम नआएकाले आधा पैसा नबाँडेको बताउनुभयो । कतिलाई सो भत्ता दिन बाँकी छ भन्दा उहाँले नै अपुग सङ्ख्याबारे जानकारी नभएको उल्लेख गर्नुभयो ।
संयोजक लुहारले रु. १३ लाख ५० हजार मात्र आएको बताए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझ्दा भने त्योभन्दा थप रु. १५ लाख नगरपालिकामा पठाइ सकिएको जनाइएको थियो । मन्त्रालयका योजना शाखा प्रमुख सूर्य खड्काले भने पहिलोपटक रु. १३ लाख ५० हजार, दोस्रोपटक रु. ८ लाख ९० हजार र तेस्रोपटक जेठ १७ गते रु. ८ लाख ९० हजार गरी कूल रु. २८ लाख ५० हजार उक्त नगरपालिकामा मात्र पठाइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *